बोमलाल गिरी । नवलपुर, भदौ ६ गते । नवलपुरको कावासोतीमा एक सय ८६ विघा क्षेत्रफलमा नमुना सदरमुकाम निर्माणको काम धमाधम चलिरहेको छ । यहाँ २ पटक गरी लागेको ठेक्कबाट ९ वटा कार्यालय भवन तथा सभाहल, गेट, पर्खाल, केरुङ्गे खोलामा तटबन्धन र सडक कालोपत्रे लगायतका काम भइरहेका छन् ।

दुईवटा निर्माण कम्पनीले काम थालेको हालको आयोजनाको लागत ५ अर्ब २१ करोड रहेको सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ । नमुना सदरमुकामको डिपिआर बमोजिम सबै काम सक्न कुल १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रुैपयाँ लाग्ने अनुमान गरिएको छ ।

 

संघीय सरकार अन्तरगतको जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला समन्वय समिति, सशस्त्र प्रहरी, कोष तथा लेखा नियन्त्रण कार्यालय, सभा हल र ४ वटा एकिकृत भवनको काम अघि बढिरहेको छ । तर यि भवनहरुको नक्सा भने अझै पास भएको छैन । यहाँ बन्ने संरचनाहरुको नक्सा तयार पार्ने, ठेक्का लगाउन सबै काम सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले गर्दै आएको छ ।

कुनै पनि संरचना निर्माण गर्दा स्थानीय तहमा नक्सा पास गर्नु प्रावधान रहेपनि त्यसो नगरेको पाइएको हो । कावासोती नगरपालिकाका ईन्जिनियर पवन रुपाखेतीका अनुसार नमुना सदरमुकाम भित्र निर्माण गरिरहेको कुनै पनि भवन तथा संरचनाको नक्सा पास गरिएको छैन ।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपडबहादुर थापाले पनि सदरमुकाम भित्र निर्माण भएका भवन तथा संरचनाहरुको नक्सा पास नगरेको स्वीकार गरेका छन् । उनले भवनहरु निर्माण हुँदै जाँदा नक्सा पासको प्रक्रिया पनि अघि बढाउने बताए ।

सदरमुकामको पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । यो परियोजना ०८४ कार्तिक २८ भित्र सम्पन्न गर्नु पर्ने छ । कावासोती नगरपालिका ३ मा रहेको स्थानीय ज्योतिकुञ्ज सामुदायिक वनको १ सय ८६ बिघा जमीन मन्त्रिपरिषदको निर्णयबाट नेपाल सरकारको नाममा लालपुर्जा प्राप्त भएको थियो ।

हाल आयोजना स्थलमा चौधरी कन्स्ट्रक्सन प्रा.लि. रौतहट र समानन्तर बुद्ध हिमाली जे.भि. पुरानो वानेश्वर काठमाडौंले निर्माण गरिरहेका हुन् । प्रोजेक्ट इन्जिनियर दिपेन्द्र केसीका अनुसार दैनिक दुई सय ५० कामदारले आवासीय रुपमै काम गरिरहेका छन् ।

चौधरी कन्स्ट्रक्सन प्रालिले जिल्ला प्रशासन कार्यालय रहने भवन सहित २ वटा एकीकृत भवन बनाईरहेको छ । दुईवटा एकीकृत भवनमा चारवटा कार्यालय रहने छन् । जसका लागि ३४ करोडमा ठेक्का दिइएको हो । पहिलो चरणको निर्माणको काम साढे २ वर्ष भित्र सक्ने गरी सम्झौता भएको हो ।

२०८४ कार्तिकसम्म सक्ने गरि ७ किलोमिटर बाटो कालो पत्रे, नाला, फुटपाथ, कम्पाउण्ड वाल र केरुङ्गे खोलामा ढेड किलो मिटर ग्याबियन भर्ने काम पनि एकसाथ अघि बढाइने भएको छ ।

यो कामका लागि र समानन्तर बुद्ध हिमाली जे.भि. पुरानो वानेश्वर काठमाडौंसँग २०८२ साल बैशाख २९ गते सम्झौता भएको थियो । यसका लागि २०८४ साल कात्तिक २८ गते भित्र काम सम्पन्न गर्ने गरी ४ अर्ब ९२ करोडमा सम्झौता भएको सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका इन्जिनियर कुन्दन तिवारीले जानकारी दिए ।

देशकै नमुना मानिएको सदरमुकाम स्थलमा संघीय सरकारका २२ र प्रदेश अन्तरगतका ११ कार्यालय रहने छन् । त्यस अतिरिक्त कावासोती नगरपालिकाको भवन, २५ हजार दर्शक अट्ने फुटबल रंगशाला र १५ हजार दर्शक क्षमताको क्रिकेट मैदान पनि यहि बन्ने निधो भएको छ ।

२०७२ सालमा नेपालको गणतान्त्रिक संविधान जारी हुँदा ७५ जिल्लाबाट मुलुक ७७ जिल्लामा परिणत भएको थियो । रूकुम र नवलपरासी टुक्रिएर पूर्वी रुकुम र नवलपुर दुई जिल्ला थपिएका थिए । कान्छो जिल्ला नवलपुरका सरकारी कार्यालयहरूले आफ्नै भवन नहुँदा भाडाका घरबाट सेवा प्रदान गर्दै आइरहेका छन् । नमुना सदरमुकाम निमार्णका लागि सरकारले पहिलो चरणमा ८० करोड र दोस्रो चरणमा ४ अर्ब बजेट सुनिश्चित गरिसकेको छ ।

अन्य भवनका पनि छैन नस्सा पास:
कावासोतीका अन्य केही सरकारी कार्यालय, जनप्रतिनिधिले निर्माण गरेको संरचना र केही धनाढ्य व्यापारीहरुले निर्माण गरेका भवनहरुको पनि नक्सा पास नगरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय नजिकै बन्दै गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले आफ्नो छोराको नाममा सञ्चालनमा ल्याएको सुनचाँदी पसलको भवन पनि नक्सा पास नभएको नगरपालिकाले जनाएको छ ।

कावासोती नगरपालिकाका इन्जिनियर पवन रुपाखेतीका अनुसार सेन्ट्रल कलेजले कावासोतीमा निर्माण गरेको भवन ४ तालको मात्र नक्सा पास भएको छ तर उक्त भवन ७ तलाको निर्माण गरिएको छ । त्यसैगरी कावासोती गुम्बा चोकमा केदार बास्तोलाले बनाएको घरको ४ तलाको मात्र नक्सा पाए भए पनि त्यो भन्दा अग्लो संरचना निर्माण गरिएको छ ।

त्यसैगरी रामचन्द्र भण्डारीको भण्डारी हार्डवयर रहेको भवन र मध्यविन्दु कलेज जाने बाटो अगाडि विन्दु केसीले निर्माण गरेको ७ तले भवन पनि नक्सा पास विनै बनाइएको नगरपालिकाले जनाएको छ ।

सदरमुकाम जाने गेट राख्न माग:
कावासोतीमा निर्माणधिन नमुना सदरमुकाम निर्माणको क्रममा पुरानो कावासोतीदेखि हसौरा जाने बाटोबाट नमुना सदरमुकाम जोड्ने गेट राख्नस्थानीयले माग गरेका छन् । उनीहरुले कावासोतीका नगर प्रमुख विष्णुप्रसाद भुसाललाई ज्ञापन पत्र बुझाउँदै पुरानो कावासोतीबाट हसौरामा जाने बाटो मासेको भन्दै उक्त बाटो कायम गर्न पनि माग गरेका छन् । मााग पुरा नभए आन्दोलन गर्ने उनीहरको चेतावनी छ ।

हसौरा, जुकेपानी, छिपपिछे हुप्सेकोट, धौवादी, झ्यालबास लगायतका बासिन्दा यही बाटो प्रयोग गरेर कावासोती झर्ने गर्थे । बाटो मासिएपछि आवतजावतमा समस्या भएको कावासोतीका पूर्व जनप्रतिनिधि टेक बहादुर श्रेष्ठले बताए ।

ज्ञापन पत्र बुझ्दै कावासोती नगरप्रमुख भुसालले पुरानो र चलनचल्तीको बाटो मास्ने काम गलत भएको भन्दै यस विषयमा आफूले सम्बन्धित वैठकमा आवाज उठाउने र गेट राख्नका लागि पनि पहल गर्ने प्रतिवद्धता जनाए ।