१. केपी ओली र एमाले मधेशका खलनायक हुन् : प्रचण्ड

महोत्तरी, १ मंसिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशको खलनायक एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । बिहीबार महोत्तरीको रामगोपालपुरमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले मधेशका मुद्दाहरुमा केपी ओलीले नै कुठाराघात गरेको आरोप लगाए ।

आफू प्रधानमन्त्री हुँदा मधेशका मुद्दालाई केन्द्रीत गर्दै दुईपटक संसदमा संविधान संशोधन गर्न प्रस्ताव लैजाँदा केपी ओलीले नै रोकेको उनले दाबी गरे ।

जनयुद्धदेखि जनआन्दोलनमासमेत माओवादी केन्द्रले मधेशका मुद्दालाई मुख्य प्राथमिकतामा राखेको बताउदै उनले भने, `माओवादी मधेशको साथी नभएको र माओवादीले मधेसी जनतालाई कुठाराघात गरेको भनेर बदनाम गर्न अर्बौ खर्चेर मधेशमा परिचालन गरेको थियो ।´

माओवादी मधेसी जन्ताको सच्चा साथी भएको प्रमाणित गर्न आफू सिरहाबाट चुनाव लडेको तर त्यसबाटमात्र आफूले भ्रम चिर्न नसकेको उनको भनाइ छ । पछिल्लो समय मधेसी जनताले माओवादीलाई बुझ्दै गएको हुनाले आगामी चुनावमा माओवादी केन्द्र प्रदेशकै पहिलो पाटी बन्ने अध्यक्ष दाहालले दाबी गरे ।

मधेशको चुरे दोहनलाई प्रोत्साहित गर्न चुरे दोहनको नीतिसमेत एमालेले नै ल्याएको उल्लेख गर्दै उनले केपी ओली नै मधेशको भिलेन भएको तर्क गरे । 

प्रदेश-२ का कुना काप्चामा गएर मधेसीहरुको भावना नजिकबाट बुझेको बताउँदै अध्यक्ष प्रचण्डले भने, `मधेशको पहिचान, मुद्दा  र समस्याहरुलाई माओवादीलेमात्र सम्बोधन गर्न सक्छ ।´

रामगोपालपुरमा झण्डै ८ हजार संख्यामा उपस्थित सर्वसाधारणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सिँचाइ, यातायात, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई समाधान गर्नेतर्फ पनि प्रतिबद्धता जनाए ।

रामगोपालपुरबाट भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागि लालपूर्जा वितरण गर्ने कार्यको शुभारम्भ भएको बताउँदै आगामी दिनमा अन्य ठाउँमा पनि भूमि सम्बन्धी समस्यालाई समाधान गर्ने उनको आश्वासन थियो । 

महोत्तरीको रामगोपालपुरमा आजै  सात वटा आधारभूत स्वास्थ्य चौकी र एउटा कोभिड अस्पतालकोसमेत प्रचण्डले शिलान्यास गरेका थिए ।

२. एमालेसँग एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न ओलीको चेतावनी

एमाले अध्यक्ष केपी ओलीले आफ्नाे पार्टीसँग एक्लै निर्वाचन लड्ने दुस्साहस नगर्न चेतावनी दिएका छन् । बुधबार नेपालगञ्जमा एमाले बाँकेले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो चेतावनी दिएका हुन् ।

उनले नेपाली कांग्रेसलाई प्रचण्डपथमा लागेको आरोप लगाउँदै भने, ‘कांग्रेस प्रधानमन्त्रीका लागि चार-चारवटा वैशाखी टेकेर सत्तामा अडेको छ । फेरि यदाकदा सुनिन्छ यो गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ । राख्नुहोस् गठबन्धन कायम तपाईहरूसँग एमालेसँग एक्लै लड्ने दम छैन ।’

उनले नेपाली कांग्रेसका प्रधानमन्त्री प्रचण्डको कारिन्दा भएको आरोप लगाउँदै पुरानो कांग्रेसलाई एक्लै चुनाव लड्ने र आफ्नो साख जोगाउने हिम्मत नभएको दाबी गरे । उनले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको दाबी गर्दै आफ्नै पालामा नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेले गरेको विकासको जस अहिलेको सत्ता गठबन्धनले लिन खोजेको बताए । उनले आफू प्रधानमन्त्री हुँदा चलाएको विकासको अभियानको जस वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले लिने प्रयास गरिरहेको आरोप लगाउँदै भने, ‘नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युतको खपत बढाउन आग्रह गर्न थालेको छ ।’ उनले आफूले सुरु गरेको विद्युत उत्पादनबाट प्रधानमन्त्री देउवाले बिजुली खपत बढाउन आह्वान गर्दे हिँडेको बताए ।

‘२० वर्ष लोडसेडिङ अन्त्य हुँदैन भन्नेहरूलाई आफैले भारतबाट बिजुली किनेर भए पनि लोडसेडिङको अन्त्य गर्दै अहिले आफ्नै उत्पादन खपत गरौ भन्नेसम्म पुर्‍याइयो’, उनले भने, ‘फेरि अहिले बिजुलीबाट चल्ने बसको कुरा पनि मैले नै सुरु गरेको सुरु गरेको हो र २० वर्षमा गर्न नसक्ने विकास हामीले गरेर देखाइदिएका छौ ।’ एमालेले गरेको विकास देखेर आफ्नो राजनीतिको व्यापार चल्न नसक्ने भएपछि विपक्षीहरूले पद बाँडेर सरकार ढालेको आरोप लगाउँदै उनले भने, ‘काँग्रेसले एकमना सरकार बनाएकै हो, तर उसले सकेन, एमालेले सक्यो ।’ ओलीले अब बाँके जिल्ला एमालेको लालकिल्ला भएको बताए ।

कार्यक्रममा नेपालगञ्जका व्यवसायी तथा बाँकेका पूर्वजिविस सभापति पशुपतिदयाल मिश्र, अब्दुल करिम खानलगायत एमाले प्रवेश गरेका थिए । ‘बाँके जिल्ला अब एमालेको लालकिल्ला भइसक्यो । अहिलेसम्म कस्ले चुनाव जित्छ भन्ने कुरो चुनाव पछि मात्र टुंगो लाग्थ्यो भने बाँकेमा भने पहिले नै टुंगो लागिसक्यो’, उनले भने, ‘चुनाव अगाडि नै एमालेले बाँके जितिसक्यो ।’

एमाले कुनै जात विशेष, धर्म बिशेष, भुगोल बिशेषको मात्र प्रादेशिक पार्टी नभएको भन्दै उनले मेचीदेखि महाकालीसम्म, तराईदेखि हिमालसम्मका सम्पूर्ण जातजाति, धर्मावलम्बी मान्ने जनताको साझा राष्ट्रिय पार्टी भएको उनले बताए । 

३. केपी ओलीलाई शम्भु थापाको चुनौती : चार न्यायाधीशले घुस खाएको प्रमाण ल्याउनुस्

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले परमादेश दिने चार न्यायाधीशको राजीनामा माग्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।  

प्रतिपक्षी दलका नेता ओलीले राजीनामा दिनुपर्ने भए प्रधानन्यायाधीशमात्र होइन परमादेश दिने पाँचै न्यायाधीशले दिनुपर्ने धारणा राख्दै आएका छन् ।

तर न्यायालय शुद्धीकरणका लागि बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागेर आन्दोलनमा छ । बुधबार बार प्रांगणमा वरिष्ठ अधिवक्ता थापाले अहिलेको आन्दोलन न्यायालयमा गन्हाउने अवस्थामा पुगेको भ्रष्टाचार, विकृति, विसंगति, नातागोता र बिचौलियाविरुद्ध भएको बताउँदै त्यसको नाइके प्रधानन्यायाधीश राणा भएको बताए ।

उनले राणासँगै प्रतिनिधिसभा विघटन मुद्दामा परमादेश दिने न्यायाधीशले पनि राजीनामा दिनुपर्ने ओलीको तर्कमा जवाफ दिँदै संवैधानिक इजलासका बाँकी चार न्यायाधीशले घुस खाएको प्रमाण देखाउन चुनौती दिए ।

‘चार जना पनि घुसमा लिप्त छन् भन्नू न त, प्रमाण ल्याउनुस् न त । तर परमादेश दिएकाले राजीनामा दिनुपर्छ भन्नुभएन । हामी त भ्रष्टाचारविरुद्ध, नातागोताविरूद्व आन्दोलनमा हो । यो तथ्यलाई बुझ्नुपर्छ,’ उनले भने ।

वरिष्ठ अधिवक्ता थापाले संसद चाहिँदैन भनेकाले ओली प्रधानमन्त्रीबाट हट्नुपरेको भन्दै त्यसमा आफूहरुको सरोकार नभएको बताए ।

उनले पाँच दलीय गठबन्धन र विपक्षी दलका नेतालाई भ्रष्ट प्रधानन्यायाधीशमाथि महाभियोग लगाउन ध्यानाकर्षण पनि गाए । थापाले दलहरू अदालतमा भ्रष्टाचारको पक्षमा हो कि समाजिकीरण पक्षमा, समग्र समस्या समाधानको पक्षमा हो भनी प्रश्नसमेत गरे ।

थापाको न्यायाधीशलाई पनि चेतावनी

वरिष्ठ अधिवक्ता थापाले इजलासमा फर्केका न्यायाधीशलाई पनि चेतावनी दिए । पूर्वन्यायाधीशहरुको वक्तव्य र न्यायाधीशहरुको इजलास बहिष्कारपछि बार आन्दोलनमा होमिएको भन्दै उनले अहिले सेवाग्राहीलाई देखाएर भ्रष्ट प्रधानन्यायाधीशले तोकेका इजलास नहेर्न चेतावनी दिए । ‘पहिला इजलास बन्द किन गरेको ? बार त ४ दिनपछि आएको हो नि,’ उनले सोधे ।  

इजलासमा फर्केका कुमार रेग्मी र मनोज शर्माको नाम नै लिँदै थापाले भने, ‘उहाँहरुको विद्वतामाथि प्रश्न छैन । उहाँमाथि प्रश्न उठ्यो, हामीले संसद विघटन मुद्दामा उहाँहरूलाई इजलासबाट हटायौं ।  तर तपाईहरू यो बारबाट अदालतमा गएको होइन ? कानुन व्यवसायीको अनुपस्थितमा कसरी इजलास हेर्ने, हाम्रो उपस्थिति रहँदैन । कि कुमार श्रीमानले प्रधानन्यायाधीशले घुस खाएको छैन भन्नुपर्‍यो ।’

थापाले अहिले प्रधानन्यायाधीशको सिट खाली भएको तर्क गरे । यसमा नयाँ चयन गर्न उनले दलहरुको ध्यानाकर्षण गराए । 

थापाले सेवावाग्राहीलाई पनि अनुरोध गरे, ‘तपाईंको फैसलामा घुस खान्छन् । त्यो घुसविरूद्व हाम्रो आन्दोलन हो ।’  

उनले सेतोपट्टी बाध्दै हिँडेका असन्तुष्ट वकिललाई के के माग हो आउनुस् भनेर आह्वान गरे । ‘तपाईंका समस्या के हुन् आउनुस्,’ उनले भने ।

अवैध गर्भबाट जन्मिएकाले हामीलाई सल्लाह दिने?

थापाले संवैधानिक आयोगका पदाधिकारीले निकालेको विज्ञप्तिमा समेत कटाक्ष गरे । ‘संवैधानिक नभनौं । संविधान रून्छ । नियुक्ति खाएकाहरूले विज्ञप्ति निकालेछन् । अवैध गर्वबाट जन्मिएका सन्तानले हामीजस्तो वैधलाई सल्लाह दिने ? तपाईं अवैधहरूले । जसको अवैधता अदालतमा रोकिएको छ । चोलेन्द्रले सुनुवाइ रोक्छन् । अवैधको फैसला हुन त बाँकी छ । संसद छलेर नियुक्त भएकाहरुले हामीलाई सिकाउने?’ उनले प्रश्न गरे ।  

थापाले यो आन्दोलन नभएको तर्क गरे । ‘यो आन्दोलन होइन, न्यायको शुद्विकरणको अभियान हो । आन्दोलन गर्न १०/२० ट्रक त के काठमाडौंमा सारा जनता ल्याउँछौं । यदि सडक बाहिर जाने अवस्था आयो भने,’ उनले भने ।

उनले रञ्जन कोइराला प्रकरणमा प्रधानन्यायाधीश जबराको फैसलाको पनि आलोचना गरे । ‘जन्मकैदको फैसला साढे ८ वर्ष हुन्छ भन्ने कस्तो प्रधानन्यायाधीश ? एउटा न्यायाधीशले भन्दियोस् हामी उहाँलाई आजिवन प्रधानन्यायाधीश मान्न तयार छौं,’ थापाले भने ।

उनले घुस नदिएपछि विशेष अदालतका न्यायाधीशहरू काजमा सरूवा गरिएको आरोप लगाए । बारलाई नसोधी एउटा पनि नियुक्त नगर्न उनले न्याय परिषद्लाई खबरदारी गरे ।

४. प्रधानन्यायाधीश हटाउन अदालत होइन दलको कार्यालयमा प्रदर्शन गर्न कमल थापाको सुझाव

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हटाउन आन्दोलनरत कानुन व्यवसायीलाई वैधानिक बाटो अपनाउन सुझाव दिएका छन् ।

थापाले वैधानिक बाटो महाभियोग भएको र त्यसबाट हटाउन दलहरु कहाँ जान सुझाव दिएका हुन् । उनले अदालतमा होइन पार्टी कार्यालयमा प्रदर्शन गरेर दबाब बढाउन आग्रह गरेका छन् ।

‘प्रधानन्यायधीश विरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुलाई थाहा छ प्रन्या हटाउने एकमात्र वैधानिक बाटो महाभियोग हो । महाभियोग लगाउने दलले हो,’ उनले भनेका छन्, ‘अधिकांश वकिलहरु दलसँग आबद्ध छन् । बारको चुनाव दलगत आधारमा हुन्छ । त्यसैले प्रन्या हटाउने होभने अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्न सक्नुपर्छ,’ उनले भनेका छन् ।

५. महिला क्रिकेटलाई ऐतिहासिक शृंखला

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीन टी–ट्वान्टी खेलको शृंखला जितेको छ । 

बुधबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई ६१ रनले पराजित गर्दै एक खेल अगावै शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो । 

योसँगै नेपालले पहिलो पटक खेलेको अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हात पारेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई एक सय १९ रनले पराजित गरेको थियो ।

टस जितेर ब्याटिङ गरेको नेपालले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको कतार १९.३ ओभरमा ६८ रनमा सीमित भएको थियो ।
कतारका लागि कप्तान आयसाले सर्वाधिक २४ रन जोडिन् ।

नेपालकी सरस्वती कुमारीले ४, रुबिना क्षेत्रीले २ तथा संगीता राई, सबनम राई र कविता जोशीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले कप्तान रुबिना क्षेत्रीले अर्धसतकमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रनको योगफल खडा गरेको थियो ।

नेपालका लागि रुबिनाले ४८ बलमा चार चौका र एक छक्का मद्दतमा ५० रन जोडिन् । त्यस्तै ओपनर कविता कुँवरले ३१ रन र अप्सरी बेगमले अविजित २३ रन बनाइन्  । 

कतारकी एन्जेली मरेले दुई विकेट लिइन भने अलिना खान र साबिजा पनायनले समान एक विकेट लिए । आइसिसी महिला टी ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीमा लागि नेपाली टोलीले कतार भ्रमणमा निस्किएको हो ।

६. ए डिभिजन विशेष : पहिलो लिग स्मरणीय बनाउने दाउमा सातदोबाटो

पहिलो पटक ‘बी’ डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले ३ मंसिर (शुक्रबार) बाट सुरू हुने लिगमा नवप्रवेशी क्लबको रूपमा शीर्ष डिभिजनको लिग खेल्दै छ । सामान्यतया पहिलो पटक शीर्ष डिभिजन लिग खेल्दै गरेको कुनै पनि टोलीलाई अनुभवबिना लिग खेल्न सहज हुने छैन । 

यस्तै अवस्थामा रहेको सातदोबाटोले भने सुरुवाती लिगमै उत्कृष्ट प्रदर्शन दिने योजना बनाएको छ । उसले ‘डेब्यू’ शहीद स्मारक ‘ए’ डिभिजन लिग नै स्मरणीय बनाउने दाउ रचेको छ । जसका लागि क्लबले आफ्नो व्यवस्थापन चुस्त बनाएको छ । 

गत सिजन ललितपुरमा शीर्ष डिभिजन लिग खेल्ने पाँच टोली थिए । सातदोबाटोको बढुवासँगै अब, केन्द्रकृत लिगमा ललितपुरका छ क्लब भएका छन् । १४ क्लब रहेको ‘ए’ डिभिजन लिगमा सातदोबाटो पहिलो संस्करणमै बलियो उपस्थिति देखाउने दाउमा छ । 

२०५७ सालमा स्थापित सातदोबाटो यसैवर्ष पहिलो पटक ‘ए’ डिभिजन लिगमा बढुवा भएको हो । सातदोबाटो दुई खेल अघि नै बढुवा भएर ‘ए’ मा पुगेको थियो ।

कपिल राना मगरको अध्यक्षतामा रहेको सातदोबाटोले घरेलु फुटबलकै सफल प्रशिक्षक मेघराज केसीलाई भित्र्याएको छ । प्रशिक्षक मेघराजसँग नेपाल राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकको रूपमा काम गरेको तथा ए डिभिजन लिगमा हालको त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लबको ‘टच लाइन’ समाल्हेको अनुभव छ । यस्तै गोलरक्षक प्रशिक्षकमा उज्वल महर्जन छन् । 

टोलीले कप्तानमा हिमालयन शेर्पाबाट करिब एक दशक खेलेका मानबहादुर तामाङलाई भित्र्याएकाे छ । नेपाल यू–२३ टोलीका पूर्वखेलाडीसमेत रहेका तामाङसँग सातदोबाटोले धेरै आशा गरेको छ । यता, मानजस्तै सातदोबाटोले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेको श्यान्सु भुसाल, मोफसलको सुदूरपश्चिम–११ बाट उत्कृष्ट प्रदर्शन गर्दै आएका विक्रमसिंह ठकुरी सँगै यू-१८ टोलीबाट खेलिसकेका रन्जन पुन, आकाश बुढामगर, आदिल हमिदलगायतका खेलाडी भित्र्याएको छ । 

यस्तै सातदोबाटोले विदेशी खेलाडीमा मनाङ र मछिन्द्रलाई लिग जिताउँदा प्रभावशाली प्रदर्शन गरेका अनुभवी डिफेण्डर पिटर सेगुन, थ्री स्टार तथा संकटाबाट लिग खेलेका अट्याकर अजयी मार्टिनलाई क्लबमा भित्र्याएको छ । 

७. एमाले महाधिवेशनमा एकीकृत समाजवादीलाई नबोलाइने, पाँच करोडभन्दा बढी खर्च हुने अनुमान

 एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापनसँगै प्रचारप्रसारलाई पनि तीव्रता दिएको छ । महाधिवेशन सुरु हुन अब आठ दिन मात्रै बाँकी छ । महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनलाई विभिन्न राजनितिक दल, विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विदेशी पार्टीका नेतालगायतलाई निमन्त्रणा गरिएको छ ।

नेकपा (एकिकृत समाजवादी) लाई  ‘अवैध’ भन्दै आएको एमालेले आफ्नो महाधिवेशनको उद्घाटन सत्रमा नबोलाउने भएको छ । महाधिवेशनको तयारीबारे जानकारी गराउन बुधबार पत्रकार सम्मेलन गरेका एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनमा नेकपा (एस) बाहेक सबै दललाई निमन्त्रणा गरिएको जानकारी िदए ।

‘महाधिवेशनमा बस्ने इच्छा भएको भए त उहाँ सम्मानित नेता भएर बसिहाल्नु हुन्थ्यो नि । एमाले नै छाड्नु हुन्थेन । अर्काे पार्टीको आमन्त्रित सदस्य भएर आउनुपर्ने नै थिएन’, उनले भने । महाधिवेशनमा दजनौँ विदेशी पार्टीका नेताहरू सहभागी हुने उनले बताए ।  

महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणगढस्थित नारायणी नदी किनारमा बुधबारदेखि मञ्च निर्माणको काम सुरु भएको छ । बन्द सत्रमा सहभागीहरूलाई आवास तथा खानपानको व्यवस्था गर्न सौराहामा सञ्चालित होटलका ३५ सय कोठा बुक गरेर सम्झौता पनि भइसकेको छ ।

यसअघि चार हजार कोठा बुक गर्ने भनिएकोमा सम्झौताका बेला ३५ सय वटा कोठा मात्रै बुक गरिएको हो । एमालेको महाधिवेशनको बन्द सत्र सौराहाको होटल सेभेन स्टारमा हुँदै छ । बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणको काम सुरु भइसकेको एमालेको केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।

एमालेको १०औँ महाधिवेशनबाट पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउँदै आगामी तीन तहकै चुनावमा बहुमत हासिल गर्ने संकल्प गरिने भट्टराईले बताए । ‘चितवनमा हुने महाधिवेशनबाट एमालेलाई थप एकताद्ध र सदृढ बनाएर फर्किन्छौँ । र यहाँबाट फर्किदा सामूहिक रूपमा यो संकल्प गर्छाैँ कि आउने स्थानीय चुनाव र प्रदेश र संघको चुनावमा एमालेले बहुमत हासिल गर्ने छ’, उनले भने । एमालेलाई कम्युनिष्ट क्रान्तिकारीहरूको मूल पार्टीका रूपमा स्थापित गर्ने अर्काे संकल्प लिइने उनले बताए ।

 मंसिरमा मोटरसाइकल र्‍याली

महाधिवेशनको प्रचारप्रसारका लागि ७ मंसिरसम्म जिल्लाहरुका पालिका र वडा तहमा महाधिवेशन केन्द्रित अन्तरक्रिया कार्यक्रम गर्न निर्देशन दिइएको उनले बताए । ७ मंसिरमा देशभरका पालिका र जिल्ला तहमा एकैचोटी मोटरसाइकल र्‍यालीको आयोजना गरिँदै छ । ‘जिल्ला जिल्लामा १० मंसिरमा चितवन जाऔँ भन्ने अभियान सुरु भएका छन्’, उनले भने ।

महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट एमालेका कार्यकर्ता र शुभेच्छुक गरी पाँच लाखभन्दा बढी सहभागी हुने उनले दाबी गरे । महाधिवेशन सम्पन्न गर्न पाँच करोडभन्दा बढी नै लाग्ने अनुमान गरिएको भट्टराईले बताए । त्यसका लागि पार्टी सदस्यहरूबाट प्रतिसदस्य एक सय रुपैयाँ उठाइएको छ । देशभरबाट प्राप्त पार्टी सदस्यहरूको विवरणअनुसार एमालेको सदस्य संख्या आठ लाख १० हजार पुगेको उनले बताए ।

नेतृत्व चयन सर्वसम्मतले हुने विश्वास

यसपटकको महाधिवेशनमा नेतृत्वको विषयमा अझै पनि दाबी र विरोधको माहोल बनेको छैन । एमालेबाट माधवकुमार नेपालको समूह छुट्टिएर गएपछि अध्यक्ष केपी ओली नै बलिया देखिन्छन् । नेताहरू ओलीले कसलाई के जिम्मेवारी दिन्छन् भनेर कुरेर बसेका छन् ।

एमालेले ६६ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको छ । त्यसमध्ये ९५ प्रतिशत न्दा बढी जिल्लामा सर्वसम्मतले प्रतिनिधि चयन भएको प्रचार विभाग प्रमुख भट्टराईले बताए । ‘अधिकांश प्रतिनिधि सर्वसम्मत ढंगले छानिनुभएको छ । यसले के संकेत गर्छ भने एमालेको महाधिवेशन पनि सर्वसम्मतको दिशामा गयो’, उनले भने, ‘चितवनमा हुने महाधिवेशनले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्दै सम्पन्न हुने छ । हामी त्यो दिशामा जाने कोसिस गर्ने छौँ ।’

७. प्रचलनमा आयो ई-पासपोर्ट, कति तोकियो शुल्क ?

सरकारले बुधबारदेखि नेपालमा विद्युतीय राहदानी (पासपोर्ट) वितरण सुरु गरेको छ । राहदानी विभागको वेबसाइटमार्फत अनलाइन आवेदन भर्ने नागरिकले बुधबारदेखि नै ई-पासपोर्टको लागि औँठाछाप (बायोमेट्रिक) दिन जाने मिति र समय पाउन थालेका छन् । करिब ७० लाख मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरेपछि सरकारले ई-पासपोर्ट वितरण थालेको हो ।

संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले पहिलो ई-पासपोर्ट दिएको छ । मंगलबार आयोजित एक कार्यक्रममा जोशीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले ई-पासपोर्ट हस्तान्तरण गरेका छन् ।

शुल्क कति ?

विभागले अब छ प्रकारका रहादानी जारी गर्नेछ । साधारण राहदानी हलुका खैरो रङमा हुनेछ । यो राहदानी ३४ पृष्ठ र र ६६ पृष्ठ गरी दुई किसिमका हुनेछन् । धेरै विदेश गइरहनुपर्ने नागरिकले ६४ पृष्ठको राहदानी बनाउन सक्नेछ ।

३४ पृष्ठको राहदानी जिल्ला प्रशासन कार्यालय र नियोगमार्फत नियमित प्रक्रियाबाट बनाउँदा पाँच हजार रुपैयाँ दस्तुर लाग्नेछ । तर, ६६ पृष्ठको बनाउन चाहे १० हजार रुपैयाँ दस्तुर तोकिएको छ ।

८. नक्कली धितोमा १९ करोड ऋण दिँदा सीईओकै संलग्नता रहेको राष्ट्र बैंकको निष्कर्ष

नक्कली धनीपुर्जा धितो राखेर कुमारी बैंकले १९ करोड रुपैयाँ लगानी गरेको प्रकरणमा प्रारम्भिक अनुसन्धानले कार्यबाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमल्सिनाको संलग्नता देखिएको छ ।

प्रारम्भिक अनुसन्धानले कार्यबाहक सीईओका रूपमा रहेका तिमल्सिनाको संलग्नता देखिएको नेपाल राष्ट्र बैंकको उच्च स्रोतले बताएको छ । बैंकहरूमा सानो परिमाणको ऋण बैंकको शाखा कार्यालयले नै स्वीकृत गर्ने र ठूलो परिमाणको ऋण बैंकको प्रधान कार्यालयबाट मात्र स्वीकृत हुने गरेको छ ।

९. सुमार ‘आशावादी भएर’ फर्केको दुई महिनापछि आउँदै दुई उच्च अमेरिकी अधिकारी

नेपालमा एमसीसी गिजोलिएका बेला दुई जना उच्च अमेरिकी अधिकारी काठमाडौं आउँदै छन् । दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बुधबार साँझ काठमाडौं आइपुग्दै छन् ।

उनी माल्दिभ्सको राजधानी माले भ्रमण सकेर काठमाडौं आउन लागेका हुन् । लुको औपचारिक भेटघाट बिहीबार मात्र सुरु हुनेछ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले दिएको जानकारीअनुसार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक विदेशमन्त्री केल्ली किडरलिङ पनि बिहीबार नै काठमाडौं आइपुग्दै छन् ।