काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन् ।
आवेदन दिने अन्तिम दिन आइतबारसम्म ती निवेदन प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले जानकारी दिएको छ ।
आवेदन दिएसँगै अब अन्तवार्ता लगायतका प्रक्रिया अघि बढ्ने जानकारी संयोजक शर्माले अनलाइनखबरलाई बताए । उनका अनुसार नियुक्तिको प्रक्रिया पूरा हुन अझै केही साता लाग्नेछ ।
आवेदन दिएसँगै दशै जना आवेदकले राजनीतिक दौडधुपलाई तीव्र बनाएका छन् । भुवन केसीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थन रहेको बताइन्छ । अरुण प्रधानलाई आफ्नै निर्वाचन क्षेत्रका समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको समर्थन रहेको जनाइएको छ । दीपक श्रेष्ठलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समर्थन रहेको बताइन्छ भने रौनियारलाई प्रकाशमान सिंहको सहयोग रहेको छ ।
दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष बन्न आकांक्षीहरुको रस्साकस्सी तीव्र भएको हो ।

