+
+
-- Sponsored Ad --

आफू कमजोर देखिएपछि गच्छदारले रोके सुनसरी तीनको मनोनयन दर्ता

297 पटक हेरिएको
Clock २०७८ मंसिर ७, मंगलवार ०७:२८
-- Sponsored --

७ मंसिर, सुनसरी ।। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सहमति गराउने भन्दै सुनसरी क्षेत्र नम्बर तीनको  मनोनयन दर्ता नै रोकिदिएका छन्। जिल्लाका अन्य क्षेत्रमा मनोनयन सहज रूपमा भए पनि पार्टीका जिम्मेवार व्यक्तिबाटै सहमति गराउने बहानामा मनोनयन दर्ता कार्यक्रम नै रोकिएको हो। 

पार्टी उपसभापति गच्छदारले दबाब दिएपछि निर्वाचन कार्य तालीका समेत प्रभावित भएको छ। निर्वाचन समितिले जिल्लाभर एकै समय सोमबार बिहान १० बजे मनोनयन दर्ता गर्न भनेको थियो। सोही अनुसार समयमै पुगेका नेता कार्यकर्ताहरू मनोनयनै नगरी फर्किएका छन्। 

सकेसम्म सहमति गर्ने चुनाव नगर्ने रटान लगाउँदै आएका गच्छदारले चुनाव गर्ने समय नै तलमाथि गरिदिएपछि कार्यकर्तासमेत निराश भएका छन्। मंगलबार बिहान १० बजे मनोनयन दर्ता गराउने भन्दै निर्वाचन समितिले सूचना टाँसेर निर्वाचन कार्यतालिका सारेको थियो।

सुनसरीमा चार नम्बर क्षेत्र बाहेक अन्य तीन क्षेत्रमा संस्थापन इतर बलियो देखिँदै आएको छ। गच्छदार आफ्नो क्षेत्रमा आफूलाई प्रभावशाली भन्न रुचाउँछन्। सोही अनुसार चुनाव भए आफ्नो पक्षले हार्ने डरले पनि सहमति खोजिरहेको एक नेताले बताए। 

गच्छदारले सुनसरी तीनको प्रदेश निर्वाचन क्षेत्रमा सहमति गराएका थिए। सभापतिमा इतर समूहका नेतालाई समर्थन गरे पनि महाधिवेशन प्रतिनिधिमा आफ्नो पक्षमा बहुमत पुर्‍याउने उनको योजना छ। 

सहमति गर्ने भन्दै उनले आफू पक्षका नेता तथा कार्यकर्तालाई घरमै बोलाएर छलफल गरिरहेका छन्। उनले फोरम लोकतान्त्रिक फोरम पक्षबाट क्षेत्रीय प्रतिनिधि बनाउने योजनासमेत गरेका छन्। 

संस्थापन पक्ष इतरका मेहेदी हुसेनले क्षेत्रीय सभापतिको उमेद्वारी दिने तयारी गरिरहेका छन्। आफ्नो पक्षमा सहमति भए मान्य हुने तर पार्टीप्रति बफादार नरहेको व्यक्तिलाई सहमतिको नाममा जिम्मेवार दिए आफूलाई मान्य नहुने हुसेनको भनाइ छ। आम कार्यकर्ताको जनभावना बुझेर मात्रै सहमति गर्न पनि उनले आग्रह गरेका छन्। 

यता निर्वाचन समितिका अधिकृत वेद नारायण यादवले ३ नम्बर क्षेत्रका नेता तथा जिल्ला निर्वाचन कार्यालयको निर्णयबाट एक दिनका लागि चुनावको तालिका हेरफेर गरिएको जानकारी दिए। उनले भने, ‘मैले माथि सम्पर्क गरें। पार्टीको आन्तरिक चुनाव हो सार्नलाई कुनै समस्या नहुने भएकाले सल्लाह अनुसार नै सारेको हो।’

मंगलबार नेताहरूले सहमतिको पत्र बोकेर आउने बताएपछि एक दिनको समय दिएको उनको भनाइ छ। यदि मंगलबार कुनै निकास ननिस्किए बुधबार चुनाव हुनेसमेत निर्वाचन समिति अधिकृत यादवले बताए।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win