२० फागुन, काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।
सरकारले पनि विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति सहमति जनाएको भट्टराईले जानकारी दिए ।
सहमतिअनुसार बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्ध हटाएको छ भने गृह मन्त्रालयले हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।
हत्या हिंसामा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।
प्रधानमन्त्री र विप्लवले एउटै मञ्चमा
तीनबुँदे सहमतिलाई भोलि २१ गते दिउँसो २ बजे विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा सार्वजनिक गरिने छ ।
राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्ने छन् ।
वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।