नेकपा एमाले बेरोजगारले तास फिट्ने र बाँड्नेहरूको पार्टी होइन: नयाँ नक्सामा समेटिएको जमिन फिर्ता भएपछि मात्रै आत्मसम्मान मिल्छ : अध्यक्ष ओली

१. दुईवटा कामका लागि केपी ओलीलाई सम्झन्छु, कमल थापा
मंसिर १०, चितवन ।।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका छन् ।

शुक्रवार नेकपा एमालेको १० महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका हुन् । उनले मधेसमा देखिएको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु नै ओली नेतृत्वको सरकारको अविस्मरणीय काम भएको बताएका छन् ।
अध्यक्ष थापाले ओली नेतृत्वको सरकारले लिम्पियाधुरालाई समेत समेटेर चुच्चे नक्सा बनाइ त्यसलाई संविधानमा समेट्दै नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुण लगाएको पनि बताए । पार्टी भित्रको आन्तरिक कलह र विवादका कारणले जनतालाई दिएको आश्वासनअनुसार काम गर्न नसकेका कारण उनले केपी ओली नेतृत्वको पछिल्लो सरकारबाट आफू त्यति सन्तुष्ट नभएको बताए ।

२. एमाले महाधिवेशनमा प्रविधिको उच्च प्रयोग: मत माग्ने नौलो तरिका

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारहरूले मत माग्न प्रविधिको उच्चतम प्रयोग गरेका छन्।

देशभरबाट आएका महाधिवेशन प्रतिनिधिलाई उम्मेदवारी घोषणा गरिसकेका र दाबेदार रहेका सम्भावित उम्मेदवारहरूले मिसकल एलर्ट, ओबीडी र बल्क एसएमएसको उच्च प्रयोग गरेका हुन्।

एमाले महाधिवेशनमा ओबीडी नौलो प्रयोग हो । आउट बन्ड डायलिङ भनिने ओबीडी प्रविधिमा मोबाइलमै उम्मेदवारको अडियो सुन्न सकिन्छ। भर्चुअल माध्यमबाट तयार गरिएको आफ्नो अडियो सन्देश सम्बन्धित प्रतिनिधिको मोबाइलमा अटो डायल गरी सुनिने व्यवस्थासहित सफ्टवेयर निर्माण भएर ओबीडी प्रयोगमा आएको हो।

एमाले महाधिवेशनमा सबैभन्दा पहिला लेखा आयोग सदस्य पदका उम्मेदवार कम्युटर इन्जिनियर सञ्जीव रोकाहाले यसको प्रयोग गरेका थिए। उनले एक घन्टी सर्भिसेस प्रालिबाट यो सेवा प्रयोग गरेका हुन् । एक घन्टी सर्भिसेसका प्राविधिक प्रदीप खड्काले योगेश भट्टराई, खगराज अधिकारीलगायत थुप्रै नेताले यो सेवा लिइसकेको जानकारी दिए ।

३. एमाले महाधिवेशनमा माओवादी नेताको शुभकामना : कम्युनिष्ट एकता अनिवार्य

नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले कम्युनिष्ट एकता अनिवार्य आवश्यकता भएको बताएका छन् ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै पोखरेलले राष्ट्रिय स्वाधिनता र विकासमा मतभेद हुन नहुने बताए । ‘कम्युनिष्ट आन्दोलन अगाडि बढाउन कम्युनिष्ट एकता र ध्रुवीकरण अनिवार्य छ,’ उनले भनेका छन्, ‘आवश्यकताले हामीलाई त्यो ठाउँमा अवश्य पुर्याउने छ । विचार र कार्यदिशाको एकता त्यसको आधार हो ।’

यद्यपि हामी माउखाने माकुरा बनेर प्राणबिहीन मार्क्सवादको मलामी बन्न नचाहेको उनले बताएका छन् ।

४. एमाले महाधिवेशनमा प्रधानमन्त्रीको सम्बोधन : संवाद र सहकार्यमा जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने बताएका छन् ।

शुक्रबार नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्ने पनि बताएका छन् ।

‘देश र जनतासँग जोडिएका मूल मुद्दामा दलहरुबीच संवाद सहकार्य आवश्यक छ’ उनले भने, ‘हामीबीच रहेका नीतिगत विमतिलाई संविधानले निर्धारण गरेको विधिमार्फत टुंगो लगाउने र त्यसलाई सबैले स्वीकार गर्नुपर्दछ ।’

प्रधानमन्त्री देउवाले मुलुकमा देखिएका सबै समस्याको संवाद, छलफल र संविधानमार्फत समाधान निकाल्ने आफ्नो चाहना भएको पनि बताए ।

सबै दल मिलेर नयाँ संविधान ल्याएको भन्दै प्रधानमन्त्री देउवाले यसलाई बलियो बनाउने जिम्मेवारी पनि सबै राजनीतिक दलको भएको बताएका छन् । संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न एमालेले जिम्मेदार भएर भूमिका खेल्नुपर्ने पनि उनले बताए ।

प्रधानमन्त्री देउवाले कानुनी शासन र व्यक्तिगत स्वतन्त्रता सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउने नै सबै दलको लक्ष्य भएको पनि बताए ।

५. नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडका बीचमा रहने प्रक्षेपण

सन्तान उत्पादन दर घट्दो क्रममा रहेका कारण जनसंख्या वृद्धिदर अपेक्षित नहुने देखिएको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार बिहीवार सप्पन्न जनगणना अनुसार नेपाली महिलाले औसतमा दुई सन्तान जन्माउने गरेको पाइएको छ ।

२५ कात्तिक देखि ९ मङ्सिरसम्म भएको जनगणनाअनुसार यस्तो प्रारिम्भक विश्लेषण गरिएको हो ।
२०६८ सालको प्रक्षेपण अनुसार २०७८ सालसम्म एक महिलाबाट औसतमा २।१ जना सन्तान जन्मनुपर्ने थियो । तर, जनगणनाबाट औसत २ जना मात्र सन्तान जन्मने गरेको देखिएको बिभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सन्तान उत्पादन दर प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिममा औसतभन्दा धेरै र बागमतीमा औसत भन्दा कम भएको पाइएको छ । बागमतीमा औसत एक महिलाबाट १।४ जना सन्तान जन्मिएका छन् ।

यस आधारमा नेपालको जनसंख्या २ करोड ८० लाख देखि ३ करोडको बीचमा मात्र रहने अनुमान गरिएको श्रेष्ठले बताए । उनका अनुसार जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनामा प्राप्त हुने छ ।

पुरै नतिजा आउन भने दुई वर्ष लाग्ने भएको छ ।

६. रुसको कोइलाखानीमा आगो लाग्दा ५२ जनाको मृत्यु

साइबेरियाको एउटा कोइलाखानीमा आगो लाग्दा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । आगो लागेपछि खानीभित्रै केही हराइरहेका छन् । कोइलाको धुलोमा आगो लागेपछि खानीभित्र धुँवाको मुस्लोले ढाकेको थियो । धुँवाका कारण धेरै जना निसास्एिका थिए ।

खानीभित्र फँसेका सबै जनाको मृत्यु भएको हुन सक्ने रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । घाइते ४९ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । खानीभित्र ठूलो परिमाणमा मिथेन भएकोले जुनसुकै बेला बिस्फोट हुन सक्ने भन्दै उद्दार कार्य स्थगित गरिएको थियो । खानीबाट अझै पनि धुँवाको मुस्लो आइरहेको जनाइएको छ ।

७. देश विकासका बाँकी काम आगामी निर्वाचनपछि हामी नै पूरा गर्छौं: ओली

नारायणी किनारमा ओली : प्रचण्ड–माधवमाथि निसाना, सौराहाबाट एकताबद्ध नेतृत्व चुन्ने वाचा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि देशमा नेकपा एमालेको सरकार बन्ने दाबी गरेका छन्।

आफ्नो पार्टी सरकारमा पुगेपछि देश विकासका बाँकी काम पनि पूरा गर्ने बताएका हुन्।

१०औँ महाधिवेशनको उद्घाटन गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनबाटै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने पनि बताए ।

यो क्रम निरन्तर प्रतिनिधि सभा सदस्य चयनसम्म जारी रहने बताए।

नेकपा एमाले बेरोजगारले तास फिट्ने र बाँड्नेहरूको पार्टी होइन: ओली

अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले बेरोजगारहरूले तास फिट्ने र बाँड्ने पार्टी नभएको बताएका छन् । उनले यो पार्टी सृजनशील व्यक्तिहरूको पार्टी भएका बताएका छन् । आफ्नो सृजनशीलताले देश विकास र सम्पन्न बनाउन उनले आग्रह गरेका छन् ।

उनले नेकपा एमाले सधैँ देशवासीप्रति चिन्तित रहने पार्टी भएको र सोहीअनुसार समृद्ध नेपाल सुखी नेपाली अभियान चलाएको दाबी गरेका छन् । उनले अब नेपाली सन्ततिले दुःख, अशान्ति, बेरोजगारी, अभाव, बिरामी, रोगी भएर बस्नु नपर्ने पनि बताएका छन् । यस्ता विषय अब सिनेमा र डकुमेन्ट्रीमा मात्रै देखिने उनको भनाइ छ ।

नयाँ नक्सामा समेटिएको जमिन फिर्ता भएपछि मात्रै आत्मसम्मान मिल्छ : अध्यक्ष ओली

अध्यक्ष केपी शर्मा ओलीले नयाँ नक्सामा समेटिएको जमिन फिर्ता भएपछि मात्रै आत्मसम्मान मिल्ने बताउनुभएको छ ।

चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्नेसमेत बताउनुभयो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नयाँ नक्सामा समेटेर त्यसलाई संविधानको अङ्ग बनाएको तर त्यो जमिन फिर्ता लिएपछि मात्रै आत्मसम्मान हुने अध्यक्ष ओलीले बताउनुभयो । जग्गा फिर्ता नलिएसम्म दबिएको र हेपिएको अनुभूति भइरहने उहाँको भनाइ छ ।

ठूला–साना, गरिब–धनी जे भए पनि सबै देशको सार्वभौमसत्ता समान रहने र समान हिसाबले व्यवहार हुनुपर्नेमा उहाँको जोड छ । एमालेले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रता चाहेको उहाँको भनाइ छ ।

साथै अध्यक्ष ओलीले दशौँ महाधिवेशनबाट एमालेलाई मात्रै नभइ देशलाई नै हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गर्नेसमेत बताउनुभएको छ ।

८. नवप्रवेशी सातदोबाटोले तीन पटकको च्याम्पियन थ्री स्टारलाई हरायो

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवप्रवेशी क्लब सातदोबाटोले थ्री स्टारलाई हराएको छ ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज शुक्रवार भएको खेलमा सातदोबाटो युथ क्लबले तीन पटकको च्याम्पियन थ्री स्टारलाई एक–शून्य गोल अन्तरले हराएको हो । सातदोबाटोको जितमा सुदीप गुरुङले खेलको २९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

यो जितसँगै सातदोबाटोले दुई खेलमा चार अङ्क जोडेको छ । सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

थ्री स्टारको यो पहिलो हार हो । थ्री स्टार तीन अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई तीन–शून्यले हराएको थियो ।

९. नक्कली बिल प्रयोग गरी २९ करोड ७७ लाख राजस्व छल्ने उज्ज्वल ट्रेड कन्सर्न विभागको कारबाहीमा

नक्कली बिल प्रयोग गरी २९ करोड ७७ लाख बढी राजस्व छल्ने उज्ज्वल ट्रेड कन्सर्न प्रा।लि राजस्व अनुसन्धान विभागको कारबाहीमा परेको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थायी ठेगाना रही हाल काठमाडौँ रहेको कम्पनीले झुट्टा तथा नक्कली मु।अ।कर बिजक मात्र जारी गरी ९ करोड १८ लाख ९९ हजार ३४९ मूल्य अभिवृद्धि कर र २० करोड ५८ लाख ७५ हजार १५० रुपैयाँ आयकर गरी कुल २९ करोड ७७ लाख ७४ हजार ४९९ रुपैयाँ राजस्व छली गरेको विभागको अनुसन्धानले देखाएको हो ।

उक्त रकम असुल गरी निज कम्पनी माथि हदैसम्मको कारबाही गर्न विभागले उच्च अदालत पाटनमा कम्पनी विरुद्ध शुक्रबार मुद्दा दायर गरेको छ । साथै, उक्त फर्महरूको गलत लेखा परीक्षण प्रतिवेदन तयार गरी सरकारलाई तिर्नु बुझाउनुपर्ने राजस्व छली गर्ने कार्यमा सहयोगी गर्ने मतियार लेखापरीक्षकलाई समेत राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ (संशोधन समेत) बमोजिम मुख्य प्रतिवादीहरूलाई हुने सजायको आधा सजाय दिन समेत विभागले माग गरेको छ ।