विप्लव, वैद्य लगायतका ६ पार्टीले घेरे एमसीसीको नेपालस्थित कार्यालय, मतदान गरेर फर्केका देउवा फेरि किन छिरे मतदान स्थल?, लिङ्देनलाई चारबुँदे पत्र पठाउँदै कमल थापाले भने : निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन

१.मतदान गरेर फर्केका देउवा फेरि किन छिरे मतदान स्थल ?
२७ मंसिर, काठमाडौं ।।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान क्षेत्रको अवलोकन गरेका छन्।

सभापतिका उम्मेदवारसमेत रहेका उनी आफूले मतदान गरेको केही समयपछि फेरि मतदानस्थलमा प्रवेश गरेर अवलोकन गरेका हुन् ।

अवलोकनपछि उनी केहीबेर मतदानस्थल अगाडि बसेर आराम पनि गरेका थिए ।

कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ ।

१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ ।

देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् ।

२. ए डिभिजन लिग पहिलो पटक मोफसलमा, मनाङको तीन खेल पोखरामा तय

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक सहिद स्मारक ए डिभिजन लिगका खेल मोफसलमा लैजाँदै नवौँ चरणसम्मको तालिका सार्वजनिक गरेको छ।

सोमबार एन्फाले पोखरामा मनाङ मर्स्याङ्दी क्लबको तीन खेल तय गर्दै नवौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो।

जारी लिगको चौथो चरण सोमबारबाट सकिँदैछ। एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार मनाङले पाँचौँ चरणमा नेपाल पुलिससँग ३ पुसमा पोखरा रंगशालामा खेल्नेछ।

यस्तै मनाङले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) सँग ११ पुषमा खेल्नेछ। मनाङले पोखरामा अन्तिम खेल च्यासल युथविरुद्ध २४ पुषमा खेल्नेछ।

लिगको सातौं चरणसम्म शीर्षस्थानमा रहने टोलीले एएफसी कप खेल्नेछ। जारी लिगमा १० अंक जोड्दै मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ।

३. कांग्रेस महाधिवेशन : साँझ ६ बजेसम्म २ हजार ८ सय ९ मत खस्यो

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि आज सोमवार भइरहेको मतदानमा दुई हजार आठ सय नौ मत खसेको छ । आज दिउँसो १२ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म दुई हजार आठ सय नौ मत खसेको हो ।

महाधिवेशनमा एक सय ३२ पदका लागि चार सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक ठाउँ र भृकुटीमण्डपमा दुई ठाउँमा व्यवस्था गरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अहिले राष्ट्रिय सभा गृहमा ९ सय र भृकुटीमण्डपका दुई ठाउँ (प्रदर्शनी हल र प्राङ्गण) मा नौ सय ५४ र नौ सय ५५ गरी एक हजार नौ सय नौ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई ठाउँमा दुई हजार एक सय र एक हजार तीन सय तथा राष्ट्रिय सभा गृहमा एक हजार तीन सय मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।

कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसाल्नुभएको थियो । एक जना प्रतिनिधिलाई मतदान गर्न झन्डै आधा घण्टा समय लाग्ने जनाइएको छ ।

कांग्रेस विधानअनुसार एक सय ६७ सदस्यीय कार्यसमितिमध्ये एक सय ३४ पदमा चुनाव हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या चार हजार सात सय ४३ रहेको छ ।

४. २४ घण्टामा ३ सय ४१ जनामा कोरोना पुष्टि, कति छ खोपको मौज्दात ?

पछिल्लो २४ घण्टामा तीन सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार दुई सय ३६ जनाको नमुना परीक्षण गर्दा तीन सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख २४ हजार पाँच सय ३५ जनामा र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार आठ सय १० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसहित कोरोनाबाट निको हुनेको सङ्ख्या आठ लाख सात हजार एक सय ५४ पुगेको छ ।

यही अवधिमा तीन जना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ५७ पुगेको छ ।

अहिले नेपालमा पाँच हजार आठ सय २४ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कति छ खोपको मौज्दात ?

नेपालमा कोरोनाविरुद्धको खोपको एक करोड मात्रा भन्दा धेरै मौज्दात रहेको छ । अहिलेसम्म नेपालमा तीन करोड १४ लाख १९ हजार तीन सय ३० मात्रा खोप प्राप्त भएकोमा दुई करोड सात लाख ५९ हजार ५४ मात्रा खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा एक करोड ६ लाख ६० हजार मात्रा भन्दा धेरै खोप मौज्दात रहेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ८७ हजार ६ सय ६४ जनाले खोप लगाएका छन् । योसहित नेपालमा ९३ लाख दुई हजार १९ जनाले पूर्ण मात्रा र एक करोड १४ लाख ५७ हजार ३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइरहेकाले आफ्नो नजिकको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरेको छ । यस्तै सरकारले आउँदो पुस ४ देखि १२ वर्षमाथिका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिँदैछ ।

५. ओमिक्रोन सङ्क्रमण बढेपछि बेलायतमा स्वास्थ्य सङ्कटकाल घोषणा

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमण बढेपछि बेलायतले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन सङ्कटकाल घोषणा गर्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । टेलिभिजनमार्फत सम्बोधन गर्दै जोनसनले ओमिक्रोनको सम्भावित लहरबाट बच्न सबैले सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री जोनसनले सम्भावित खतरा रोक्न १८ वर्षमाथिका सबै नागरिकलाई खोपको ुबुस्टरु डोज लगाइने पनि बताउनुभयो । बेलायतले यही हप्तादेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउन सुरु गर्ने बताउनुभयो ।

कोरोनाविरुद्धको खोपको बुस्टर डोजले कोरोना भाइरस नियन्त्रणमा ७५ प्रतिशतसम्म काम गर्ने वैज्ञानिकहरूले बताएका छन् । बेलायतमा केही हप्तादेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ सङ्क्रमित थपिइरहेका छन् । सङ्क्रमण देखिएकामध्ये दैनिक पाँच सयको हाराहारीमा ओमिक्रोन पुष्टि हुने गरेको छ ।

६. लिङ्देनलाई चारबुँदे पत्र पठाउँदै कमल थापाले भने : निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन

राप्रपा नेता कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई चारबुँदे पत्र पठाउँदै मतदानमा निर्मल निवासको हस्तक्षेपको छानबिनको माग गरेका छन् ।

पत्रमा उनले भनेका छन्– यहाँ प्रश्न हार वा जीतको होइन । मेरो यो अभिव्यक्तिलाई चुनावमा हारपछिको आक्रोशको रुपमा नबुझिदिनुहुन विनम्र आग्रह गर्दछु । मैले जितेको भए पनि निर्मल निवासको यो हस्तक्षेप कदापि स्वीकार्य वा उपयुक्त ठहरिने थिएन । एउटा खेलाडी भएको नाताले हार वा जीतले मलाई केही फरक पार्दैन । हारलाई पनि सहर्ष स्वीकार गरेर फेरि अर्को प्रतिष्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा छ । राप्रपाको आन्तरिक मामिलामा निर्मल निवासको हस्तक्षेपको यो पहिलो घटना पनि होइन । २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्र हत्या गर्ने र राप्रपाका बारेमा भ्रम सिर्जना गर्नै गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदितै छ । सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेन्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्छ भने निर्मल निवासको अगाडि कोही सुरक्षित छैन ।”

७. अभिनेत्री करिना र अमृतालाई कोरोना संक्रमण

बलिउड अभिनेत्री करिना कपुर खान र अमृता अरोडा कोरोना संक्रमित भएका छन् । केही दिनदेखि बलिउडका कयौ पार्टीमा सहभागी दुवै अभिनेत्रीले अहिले आफुलाई आइसोलेट गरेका छन् । करिनाले आफ्नो गल्र्स ग्याङ्का साथ ७ डिसेम्बरमा पार्टी गरेकी थिइन् ।

पार्टीमा उनकी दिदी करिश्मा कपुर, मलाइका अरोडा समेत सहभागी थिए । अनिल कपुरको घरमा पनि प्रि क्रिसमस पार्टी भएको थियो । जसमा करिश्मा कुसर, मलाईका अरोडा, अर्जुन कपुर, मसाबा गुप्ता सामेल थिए ।
बिएमसीले करिना र अमृताको सम्पर्कमा आउने सबैलाई आरटिपिसिआर टेस्ट गर्न समेत अपिल गरेको छ । करिना र अमृता करण जौहरको पार्टीमा पनि सहभागी थिए । बिएमसीले उक्त पार्टीमा रहेको सबैमा कन्ट्याक ट्रेसिङ सुरु गरेको छ ।

८. ओलीले एकलौटी कार्यविभाजन गरेपछि एमालेमा व्यापक असन्तुष्टि

नेकपा एमालेभित्र कार्यविभाजनलाई लिएर असन्तुष्टि देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीले कसैसँग सरसल्लाह नगरी एकतर्फी रूपमा केन्द्रीय सदस्यको कार्यविभाजन गरेपछि नेताहरू असन्तुष्ट भएका हुन्।

चितवन महाधिवेशनपछि दोस्रो पटक बसेको एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनयन, स्थायी समिति गठन, पोलिटब्युरो तथा प्रदेश इन्चार्ज तोक्ने लगायतको काम गरेको थियो। भक्तपुरमा बसेको बैठकमा अध्यक्ष ओलीले सिधै नामहरू प्रस्ताव गरेका थिए।

लगत्तै सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, पृथ्वीसुब्बा गुरूङ, योगेश भट्टराई, झपट रावल, निरज आचार्य लगायतले विरोध जनाएका थिए।

‘के आधारमा मान्छेलाई स्थायी समिति, पोलिटब्युरोमा ल्याउने भन्ने मापदण्ड बनाउनुपर्थ्यो’ , एमाले स्थायी समिति सदस्य योगेश भट्टराईले भने, ‘एकदमै पुरानो साथीहरू पोलिटब्युरो र स्थायी समितिमा छैनन्। अध्यक्षले मन पराउने र मन नपराउनेको आधारमा जानुहुन्न। मापदण्ड बनाउँदा जिम्मेवारी पाउनेले पनि यो मापदण्डका कारण पाएँ भन्ने हुन्छ नपाउनेले पनि यो मापदण्डको कारण पाइनँ भन्ने वातावरण बनाउनुपर्थ्यो।’

एमाले केन्द्रीय सदस्य झपट रावलले कार्यविभाजनमा आफूले लिखित रूपमा असन्तुष्टि व्यक्त गरेको कुरा बताए।
‘म कैलाली इन्चार्ज थिएँ। म केन्द्रीय कमिटी सदस्य भएको ४ वर्षपछि मनोनित भएका साथीलाई पोलिटब्युरो बनाएर उसको मातहतमा मलाई राखिएको छु’, रावलले भने, ‘मैले मलाई कैलालीको सहइन्चार्जबाट हटाइयोस् भनेर लिखित रूपमा दिएको छु। त्यसरी राख्नु भनेको मेरो अपमान हो। बरू मलाई जिम्मेवारी केही पनि चाहिँदैन भनेको छु।’

रावलले अध्यक्ष ओलीले विगतमा पार्टीमा असन्तुष्ट पक्षलाई दश बुँदे सहमतिमार्फत् समेट्ने क्रममा कसैलाई पक्षपात गर्दिनँ भने पनि त्यस्तो हुन नसकेको बताए।

‘पक्षपात गर्दिनँ भन्नुभयो तर निष्पक्षता र न्याय देखिएन’, रावलले भने, ‘ती सबै भन्ने कुरा रहेछन्।’

रावलल जस्तै केन्द्रीय सदस्य निरज आचार्यले पनि जाजरकोट जिल्लाको सहइन्चार्जको जिम्मेवारीमा नबस्ने भन्दै लिखित सूचना दिएका छन्।

जाजरकोटको संयोजकमा भैरवसुन्दर श्रेष्ठ छन्। श्रेष्ठलाई जिल्ला इन्चार्ज प्रदेशमा सहइन्चार्ज र केन्द्रमा पनि पोलिटब्युरोसम्मको भूमिका दिए पनि आचार्यले आफूलाई अपमानजक ढंगले सहइन्चार्ज बनाइएको बताए।

‘म महाधिवेशनसम्म पनि आशावादी थिएँ। किनभने पार्टी बनाउनुपर्नेछ। नेतृत्वले हिजोको अन्तरविरोधको आधारमा भेदभाव गर्दैन भन्ने मेरो बुझाइ थियो। ढुक्क थिएँ’ आचार्यले भने, ‘योग्यता, क्षमता र खेल्न सक्ने भूमिकाका आधारमा जिम्मेवारी दिइन्छ भन्ने लागेको थियो। नेतृत्वसँगको कुराकानीमा भेदभाव नहुने भन्नुहुन्थ्यो। तर कार्यविभाजन देखेपछि अलिक नसोचेको जस्तो भयो। कुरा अर्कै रहेछ भन्ने लाग्यो।’

बैठकमा उपाध्यक्ष सुवास नेम्वाङ र युवराज ज्ञवालीले पनि पदाधिकारीबीच छलफल गरेर कार्यविजभान गर्नु उचित हुने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए। उपमहासचिव समेत रहेका पृथ्वीसुब्बा गुरूङले एक पक्षीय ढंगले निर्णय लिनु उचित नभएको टिप्पणी बैठकमा गरेका थिए।

एमाले केन्द्रीय कमिटी बैठकमा आफैंले कार्यविभाजनका लागि नामहरू प्रस्ताव गरे पनि ओलीले नेताहरूको विरोधपछि सबैलाई न्याय नभएको महसुस आफूलाई पनि भएको बताएका थिए।

‘सबैलाई न्याय भएको छैन भन्ने मैले ठानेको छु। सन्तुलित पनि भएन होला। योग्य साथीहरू पनि कतिपय छुट्नुभएको छ भनेर अध्यक्षले बैठकमा भन्नुभयो’, एक केन्द्रीय सदस्यले भने, ‘अहिलेको परिस्थिति यस्तै छ मानिदिनुस् भनेर प्रस्ताव राखेपछि, मान्नै पर्‍यो।’

ती केन्द्रीय सदस्यका अनुसार बैठकमा योगेश भट्टराईले भीम रावललाई केन्द्रीय समिति र स्थायी समितिम ल्याउन सुझाएका थिए।

‘एकतर्फी निर्णय गरेर भए पनि भीम रावललाई केन्द्रीय समिति र स्थायी समितिमा ल्याउनुपर्छ भन्ने योगेशजीको धारणा थियो’, ती सदस्यले भने, ‘उहाँले स्थायी समितिमा ल्याउने निर्णय मान्नुभएन भने भीम रावलको कमजोरी हुन्छ। तर निर्णय गर्नुभएन भने केपी ओलीको कमजोरी हुन्छ भन्नुभयो।’

पूर्वराज्यमन्त्री भगवती चौधरीले आफू पोलिटब्यूरोमा समेत नपर्दा अन्याय भएको बताएकी छन्।

‘जनताले जिताए पनि पार्टीले समर्थन नगर्दा दुई/दुई पटक संसदीय निर्वाचनमा सुनसरीमा हारको सामना गर्नुपर्‍यो। सुनसरी जिल्लामा पार्टीको अन्तरसंघर्षलाई मिलाउनका लागि मैले खेलेको भूमिका पनि पार्टीले बिर्सियोजस्तो लाग्यो,’ उनले भनिन्, ‘पार्टीमा अन्तरसंघर्ष चुलिएको बेला केपी ओलीको पक्षमा सधैँ खम्बा बनेकी मलाई आज उनै ओलीले धोका दिए, बेवास्ता गरे।’

आफूभन्दा जुनियरलाई माथिल्लो तहमा पुर्‍याए पनि पार्टीलाई योगदान दिएका आफूजस्ता नेता कार्यकर्तालाई सधैँ अन्याय भएको चौधरीले बताइन्।

एमाले अध्यक्ष ओलीले पूर्वमाओवादीबाट एमालेमा भित्रिएका धेरैलाई जिम्मेवारी दिएको तर एमालेमै रहेका र विगतमा माधवकुमार नेपालसँग निकट भएकाहरूलाई भूमिका नदिएको केन्द्रीय सदस्यहरूको धारणा छ।

कतिपय नेताहरू वरीयता क्रमलाई लिएर असन्तुष्ट रहेका छन्।

एमालेको भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी समिति र ९९ सय सदस्यीय पोलिटब्युरो गठन गरेको छ। त्यस्तै केन्द्रीय समितिमा १० प्रतिशत सदस्य मनोनित समेत गरेको छ। जसमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसमेत परेका छन्। कतिपय एमालेका पदाधिकारी भने आफूहरूले सिफारिस गरेका व्यक्ति केन्द्रीय सदस्य नबनेकोमा असन्तुष्ट रहेका छन्।

ओलीले बैठकमा ९ सय मान्छेको सिफारिस आफूलाई आएको र सबैलाई समावेश गर्न सम्भव नभएको जवाफ दिएका थिए।

९. विप्लव, वैद्य लगायतका ६ पार्टीले घेरे एमसीसीको नेपालस्थित कार्यालय

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी सहित ६ राजनीतिक दलले एमसीसीको विरोधमा एमसीए नेपालको कार्यालय घेराउ गरेका छन् ।
६ राजनीतिक दल र २ मोर्चाका तर्फबाट एमसीए नेपालको कार्यालय रहेको याक एन्ड यति होटल घेराउ गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)ले जनाएका छन् ।

एमसीसी सम्झौताको खारेजीका निम्ति ६ राजनीतिक पार्टी र २ मोर्चाहरूद्वारा काठमाडौंमा एमसीए कार्यालय रहेको होटल याक एण्ड यती घेराउ भन्दै प्रकाण्डले केही तस्वीरसहित फेसबूकमा स्टाटस लेखेका छन् ।