आज धान्यपूर्णिमा, नेवार समुदायले योमरी पुह्नी मनाउँदै, किराँत समुदायले पनि आजै भूमिलाई सम्झँदै उधाैली पर्व मनाउँदै
एन सञ्चार, पौष ४, काठमाण्डाै – मंसिर शीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ ।
मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।
आज काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाण्डौको चम्पादेवीलगायत ठाउँ मेला लाग्ने गर्दछ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्ही पनि भनिन्छ ।
नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् ।
नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने चलन छ । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल राखेर डल्लो बनाइन्छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रुपमा उपहार पठाउने चलन पनि रहेको छ।
किराँत समुदायले पनि आजै उधौली पर्व मनाउँदै
यसैगरी किराँत समुदायले पनि आजै उधौली पर्व मनाउँदै छन् ।
यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमिस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।
प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवानका रुपमा मान्ने किराँत समुदायले खेतीपातीमा केही गल्ती भएको भए सन्तान सम्झेर माफी गरिदिनुस् भनी प्रार्थना गर्ने परम्परा छ ।
किराँत समुदायका राई, लिम्बु, सुनुवार र याक्खाले यो पर्व मनाउँछन् । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गइ उभौली पर्व मनाएको किराँत समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ । पूजापछि साकेला नाचिन्छ ।
नाचमा प्रकृतिमा भएका पशुपक्षी मानव समुदायलाई आवश्यक पर्छ भन्ने सन्देश दिइन्छ । यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि हार्दिक शुभकामना दिनु भएको छ ।
उहाँले उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरणको संरक्षण अपरिहार्य रहेको बताउनु भएको छ ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना दिँदै किराँत समुदायको पर्व उधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भइ आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । सरकाले उघाैली पर्व, याेमरी पुन्हीकाे अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाण्डाै उपत्यकामा भने सार्वजनिक बिदा दिएकाे छ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश