काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस आफूहरुको बुई चढेर यो अवस्थामा आएको टिप्पणी गरेका छन् ।
बुटवलमा शनिबार विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले आफुहरुकै कारण कांग्रेस सत्तामा पुगेको बताए।
‘कसैले कांग्रेसको बुई चढ्यो भन्छन्, कसैले कांग्रेसलाई बुई चढाउनुभयो पनि भन्छन् । कसको बुईमा को चढ्यो भन्ने कुरा सबैको आ–आफ्नो नजरिया हो।’ नेपालले भने, हामी हातेमालो गर्दै अघि बढेका छौं, सत्य चाहिँ के हो भने जो माथिल्लो पदमा पुगेको छ, जसले बढी फाइदा लिएको छ, उसले अरुको बुई चढेको अर्थ लाग्नेछ । हाम्रै जिउ बलियै रहेछ । मान्छेहरु हाम्रो बुई चढेर अगाडि बढ्न पुगेका छन्। कहिले हामी पनि अरुको बुईमा चढेकै हो। बुईको ब्याख्या गर्दा जो माथि पुग्छ । उसले अरुको बुई चढेको हो।’
उनले आफूले गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) लाई प्रधानमन्त्री बनाएको र गिरिजाबाबुले पनि पछि आफूलाई प्रधानमन्त्री बनाएको स्मरण गरे। अहिले आफूहरुले पहल नगरेको भए कांग्रेस सरकारमा पुग्न नसक्ने उनको तर्क छ।
‘यदि हामीले पहल नगरेको भए नेपाली कांग्रेसले सरकार बनाउन सक्ने थिएन, यो कुरा कांग्रेसले ध्यानमा राखोस् । उनले भने, ‘बरु हामीलाई धन्यवाद दिएर कमसेकम एउटा प्रस्ताव सबैले एकमतले पारित पनि गरोस्, सानो चित्त त्यागोस्।’
स्थानीय चुनावका क्रममा केही ठाउँमा धोका भएपनि जिल्ला समन्वय समितिको चुनावमा भएका सहमति पालना भएको भन्दै उनले गठबन्धन दललाई धन्यवाद पनि दिए।
‘हामी राम्रो गर्दा धन्यवाद दिन पनि कञ्जुस्याई गर्दैनौं, गलत गर्दा आलोचन गर्न पछि पर्दैनौँ। नेपालले थपे, ‘कसैका सामू शीर निहुराउनुपर्ने अवस्था छैन ।’
‘एमालेसँग एकताको ढोका खुलेकै छैन’
अध्यक्ष नेपालले एमालेसँग एकता वा गठबन्धनको ढोका नै नखुलेको टिप्पणी गरे।
एमालेसँग एकता वा गठबन्धनको च्याप्टर क्लोज भएको हो? भनेर पत्रकारले सोधेको प्रश्नमा नेपालले उल्टै प्रतिप्रश्न गरे, ‘एमालेसँग एकता वा गठबन्धनका लागि कहिले ढोका खुलेको थियो र बन्द हुनु? बरु हामीले गरेको विद्रोहको औचित्य पुष्टि भएको छ। हामीले उठाएका विषयवस्तुमा पनि कुनै परिवर्तन आएको छैन।’
उनले बाम एकताका लागि भने प्रयास गरिएको बताए।
वामदेव गौतमले तत्कालीन नेकपालाई ब्यूँताउन सकिन्छ कि भन्ने प्रयास गर्नुभएको छ, त्यसो भयो भने राम्रै हुन्छ भनेर हामी लागेका हौं’, उनले भने, ‘तर हामी दक्षिणपन्थी भासमा भास्सिन पनि चाहँदैनौँ, उग्रवामपन्थी लफ्फाजीमा पनि अल्मलिँदैनौं।
वामपन्थी मिल्दैमा कांग्रेस आत्तिनुपर्ने स्थिति नरहेको उनको तर्क थियो।

