0 प्रतिक्रिया
कांग्रेस-एमालेको बैठक बिनानिष्कर्ष टुंगियाे
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूबीच प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा भएको छलफल सकिएको छ।
एमालेका कुनै पनि नेताले बाहिरिने क्रममा प्रतिक्रिया दिएनन्। दुवै पार्टीका शीर्ष नेताहरूले पछिल्लो राजनीतिक परिस्थितिको समिक्षा पनि बिना निष्कर्ष टुंगिएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा टेबल भएको एमसिसी सम्झौता अधिकतम सहमतिमा पारित गर्न प्रस्ताव गरे पनि प्रमुख प्रतिपक्षी दलको नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका माग सम्बाेधन नभएसम्म अरु विषयमा सोच्न नसकिने जवाफ दिए।
बैठकपछि सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने,‘प्रधानमन्त्रीले एमसिसीमा अधिकतम् सहमति कायम गर्न राखेको प्रस्तावमा एमाले अध्यक्ष ओलीले पुरानै कुरा राख्नुभयो। एमालेले संसदमा राख्दै आएका माग सम्बोधन नभएसम्म नयाँ परिस्थिति नबन्ने धारणा ओलीजीले राख्नुभयो। यद्यपि छलफल निरन्तर राख्ने कुरा भएको छ।’
त्यसअघि आजै दिउँसो संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरु र एमाले अध्यक्ष ओलीसहितका नेताहरुबीच छलफल भएको थियो। दुवै पार्टीका नेताहरूले शुक्रबारको संसद बैठक अगावै निष्कर्षमा पुग्ने गरी प्रयत्न भइरहेको पनि उनले बताए।
एमसिसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू बीच एक मत हुन नसकेपछि प्रधानमन्त्री देउवाले एमालेकाे साथ खोजेका छन्।
बिहीबार दिउँसो पनि दुई दलबीच संसद् भवनमा छलफल भएको थियो। यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूले पनि एमालेका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए।
बैठकमा प्रधानमन्त्री देउवाले एमसिसीको पक्षमा उभिन एमाले अध्यक्ष ओलीसँग प्रस्ताव गरेका थिए। ओलीसँगको छलफलमा देउवाले एमसिसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार गरेको बताएका थिए।
बैठकमा नेपाली कांग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए।



