0 प्रतिक्रिया
मछिन्द्रको अपराजित लक्ष्य, दोस्रो बन्ने होडमा तीन क्लब
१४ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ को अन्तिम ३ खेल आज हुँदैछ । यस सिजनको लिग आजको खेलपछि सकिदैछ ।
च्याम्पियन बन्ने र रेलिगेसनमा पर्ने टुङ्गो भइसकेको छ । आजको खेलपछि दोस्रो र तेस्रो स्थानमा रहने टिमको पनि टुङ्गो लाग्नेछ । च्याम्पियन बाहेक यस सिजन दोस्रो र तेस्रो स्थानमा रहने टिमले पनि नगद पाउने भएकाले महत्वपूर्ण छ ।
मछिन्द्रले १२ खेलमा १० जित र २ बराबरी खेलेको छ । मछिन्द्रको ३२ अंक छ । पहिलो खेलमा एनआरटी विरुद्ध एक गोल व्यहोरेको मछिन्द्रले त्यसपछिका ११ खेलमा कुनै गोल खाएको छैन ।
मछिन्द्र र एपीएफको खेल साढे ४ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।
त्यसअघि नै आज दुई खेल हुनेछन् । जसमा त्रिभुवन आर्मी एफसी र मनाङ मर्स्याङ्दी क्लब तथा एनआरटी र नेपाल पुलिस क्लब भिड्नेछन् । दुवै खेल एकै समय अर्थात दिउँसो १ बजे सुरु हुनेछ । आर्मी र मनाङबीचको खेल दशरथ रंगशालमा तथा एनआरटी र पुलिसको खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
आर्मी, एनआरटी र मनाङ तीनवटै क्लब दोस्रो बन्ने होडमा छन् । आर्मी २२ अंकसहित दोस्रो स्थानमा छ भने एनआरटी र मनाङ समान २० अंकबाट क्रमश:चौथो र पाँचौ स्थानमा छ ।
अन्तिम खेलमा मनाङलाई पराजित गरे र बराबरी खेले आर्मी दोस्रो बन्नेछ । यदि आर्मी मनाङसँग पराजित भएमा र एनआरटीले पुलिसलाई पराजित गरेमा एनआरटी दोस्रो बन्नेछ । एनआरटी र मनाङ दुवै विजयी भएको अवस्थामा दुवैको समान २३ अंक हुनेछ । यस्तोमा हेड टु हेडमा अघि रहँदै एनआरटी अघि रहँदै दोस्रो हुनेछ ।
मनाङले दोस्रो स्थानमा लिग सकाउनका लागि भने आर्मीलाई हराउनुपर्नेछ भने एनआरटी पनि पुलिससँग पराजित हुनुपर्नेछ ।
यस सिजन लयमा नरहेको पुलिस १२ खेलबाट १२ अंकसहित ११औं स्थानमा छ । एनआरटीलाई पराजित गरेमा पुलिसले नवौं स्थानमा लिग सकाउनेछ ।
यी दुईमा आज अर्को एक क्लबको नजर पनि रहनेछ । यसै सिजनदेखि ए डिभिजन लिग खेलेको सातदोबाटो युथ क्लब २१ अंकसहित अहिले तेस्रो स्थानमा छ ।
यदि एनआरटी र मनाङ पराजित भएमा सातदोबाटोलाई त्यसको फाइदा पुग्नेछ र तेस्रो स्थानमै लिग सकाउनेछ ।
च्याम्पियन मछिन्द्रले लिग उपाधिसँगै नगद ७५ लाख पक्का गरिसकेको छ । यस सिजन दोस्रो हुनेले ५० लाख र तेस्रो हुनेले २५ लाख पाउनेछन् ।
ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब अन्तिम दुई स्थानमा रहँदै बी डिभिजनमा घटुवा भइसकेका छन् ।




