0 प्रतिक्रिया
समाजवादीकाे निर्वाचन परिचालन कमिटी गठन, वैशाख ८ भित्र उम्मेद्वारको टुंगो लगाइने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एस) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले अध्यक्ष नेपालको नेतृत्वमा १ हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको जानकारी दिनुभयो । त्यस्तै, महासचिव भुसालको नेतृत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरिएको छ ।
एकीकृत समाजवादीले स्थानीय निर्वाचनलाई लक्षित गरी मूल निर्वाचन परिचालन कमिटी, केन्द्रीय सचिवालय गठन गर्नुका साथै स्थानीय तहमा उम्मेदवार सिफारिसका लागि मापदण्ड पनि तय गरेको छ । एकीकृत समाजवादीले स्थानीय तहमा उम्मेदवार सिफारिस गर्दा ८ मापदण्ड तय गरेको छ ।
पार्टी केन्द्रले वडा तह हुँदै आएका सिफारिसलाई आधार मानेर वैशाख ८ गतेभित्र उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ । वडा कमिटीले चैत्र ३० गतेभित्र सिफारिस गरिसक्नुपर्ने छ । त्यस्तै, पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्ने छ ।
त्यस्तै, जिल्ला कमिटीले वैशाख ४ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्ने, प्रदेश कमिटीले आगामी वैशाख ६ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्ने छ । त्यसपछि केन्द्रीय कमिटीले आगामी वैशाख ८ गतेभित्र निर्णय गरिसक्ने समय तालिका निर्धारण गरिएको छ ।
त्यस्तै, एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने कमिटीले पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेका, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेका नेताहरूलाई सिफारिस गर्नुपर्ने मापदण्ड तय गरेको छ ।




