मध्यविन्दु । दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा हुने भएको छ । चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ चरा उत्सव आयोजना गर्न लागिएको हो ।
तीन दिनसम्म कावासोती नगरपालिका–१३ मा सञ्चालन गरिने उत्सवको मुख्य उद्देश्य चराको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नु रहेको नेपाल चरा उत्सवका संयोजक मनशान्त घिमिरेले जानकारी दिए । नेपालमा सन् २०१८ मा पहिलो पटक चरा उत्सव भएको थियो । पछि सन् २०१९ मा कास्कीको पोखरामा चरा उत्सव आयोजना गरिएको थियो । उक्त उत्सवमा पाँचबुँदे घोषणापत्र जारी गरिएको थियो । कोभिड–१९ का कारण रोकिएको उत्सव पुनः आयोजना गर्न लागिएको उनले बताए ।

