प्रिय धन , हुप्सेकोट । पूर्वी नवलपरासीको हुप्सेकोट ३ गिरुवारीमा रहेको सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयका पूर्व शिक्षकहरुले विद्यालयले शिक्षकको योगदान भुलेको गुनासो गरेका छन् ।
स्वर्ण महोत्सवको दोस्रो दिन पूर्व शिक्षक तथा पूर्व विद्यार्थी मिलन कार्यक्रममा सहभागी भएका शिक्षकहरुले सो गुनासो गरेका हुन् । स्थापनाको केहि समय पश्चात नै सरस्वती प्राथमिक विद्यालय हुँदाको समयमा प्रधानाध्यापक रहनु भएका पूर्व प्रधानाध्यापक दुर्गा बहादुर रानाभाटले शिक्षकले गरेको योगदानलाई विद्यालयले लत्याएको गुनासो गर्नुभएको हो । “कार्यक्रम गर्दै गर्दा सामान्य त्रुटि हुनु अलग पक्ष हो तर उपस्थित भएका शिक्षकलाई समेत वेवास्ता गर्नुले हामी अपमानित भएको महसुस गरेका छौँ ।” रानाभाटले भन्नु भयो । उहाँले सम्मान लिन चाहनेले सम्मान दिन पनि जान्नु पर्ने भन्दै विद्यालय परिवारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै विद्यालयका पूर्व शिक्षक हरि प्रसाद कोइरालाले पूर्व शिक्षक सम्मान कार्यक्रम भन्दै विद्यालयले जथाभावी नाम उच्चारण गरेको गुनासो गर्नुभयो । कुन समय कसको कति योगदान थियो भन्ने कुराको विद्यालयले मूल्यांकन गर्न नसकेको भन्दै मंचबाट नै उठेपछि केहि समय कार्यक्रम बिथोलिन पुगेको थियो । विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर आइतबार पूर्व शिक्षक र पूर्व विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम राखेको थियो । कार्यक्रममा पूर्व प्रधानाध्यापक , पूर्व शिक्षक, पूर्व विद्यार्थी लगायतकाको उपस्थिति रहेको थियो ।
यस्तै स्वर्ण महोत्सवको अवसर पारेर आईतबार नै रक्तदान कार्यक्रम पनि राखेको थियो। रक्तदान २२ जनाले रक्तदान गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर गोदारले जानकारी दिनुभयो ।यस्तै आइतबार नै जिल्ला स्तरीय माध्यमिक तहका विद्यार्थीहरुबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । “कृत्रिम बौद्धिकता एआईको प्रयोग र यसको चुनौती” विषयक वक्तृत्वकला प्रतियोगितामा मध्यविन्दु बहुमुखी क्याम्पसका छात्रा शीतल पौडेल प्रथम , गैंडाकोट नमूना माविका छात्र ईमेन्सराज सुवेदी द्वितीय , नेपाल नमूना माविका सुदिप पोखरेल तृतीय र जनता मावि बेलुवाका छात्रा यमुना अर्याल सान्त्वना भएका छन् ।
स्वर्ण महोत्सवको दोस्रो दिन विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अमर गोदारको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । मंसिर २९ गतेदेखि चलेको स्वर्ण महोत्सव पुस ३ गतेसम्म चल्नेछ ।