कात्तिक २५, कावासोती । चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत भएको छ । सडक विभाग अन्तर्गतको पुल महाशाखाले ‘केबल–स्टेड’ डिजाइनमा निर्माण हुने उक्त पुलको डिजाइनलाई स्वीकृति दिएको छ । २०० वर्षसम्म टिक्ने र ठुलो बाढी तथा पानीजहाज सञ्चालनलाई समेत ध्यानमा राखेर डिजाइन गरिएको यो पुलको निर्माण मंसिरदेखि सुरु हुनेछ ।
महाशाखाका इन्जिनियर अमितकुमार बर्माका अनुसार असोज अन्त्यतिर पुलको डिजाइन स्वीकृत भएको थियो । डिजाइन स्वीकृत भएसँगै निर्माण कार्य अघि बढाउने तयारी भइरहेको छ ।
२०८० जेठ १९ गते तुँदी कन्स्ट्रक्सन प्रालिसँग १ अर्ब ६८ करोड ७६ लाख २३ हजार ३५४ रुपैयाँ (मूल्य अभिवृद्धि करसहित) मा पुल निर्माणका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार पहिलो वर्ष डिजाइन गर्ने र बाँकी तीन वर्षमा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तर डिजाइनमै करिब दुई साढे दुई वर्ष लागेको छ । हाल डिजाइन स्वीकृत भइसकेको र मंसिरदेखि निर्माण प्रक्रिया सुरु हुने भएको छ । हाल नारायणी नदीमा २०३७ सालमा बनेको पुल जीर्ण अवस्थामा छ ।
इन्जिनियर बर्माका अनुसार नयाँ पुल ४२० मिटर लामो हुनेछ । यसमा चारवटा पिलर रहनेछन्, जसमध्ये दुई छेउका पिलरहरू १००–१०० मिटरको दूरीमा र बीचको स्पान २२० मिटरको हुनेछ । यो पुललाई हाल दुई लेनमा र भविष्यमा तीन लेनमा निर्माण गर्ने गरी ध्यानमा राखेर डिजाइन गरिएको छ । साथै एक लेन फुटपाथ रहनेछ ।
यस्तै भविष्यमा तलबाट पानीजहाज चलाउनुपर्ने भयो भने त्यो पनि सम्भव हुने गरी यो पुलको डिजाइन गरिएको बर्माको भनाइ छ ।