
१. न्यायपालिकालाई निकास दिन सबै गम्भिर हुनुपर्छः सभामुख सापकोटा
मंसिर ६।।
सभामुख अग्निप्रसाद सापकोटाले न्यायपालिकामा देखिएको समस्याको सहज र स्वभाविक निकास निकाल्न सम्बद्ध सबै पक्ष गम्भिर हुनुपर्ने बताएका छन् ।
सोमबार नेपाल बार एशोसिएसनको ध्यानाकर्षणपत्र बुझ्दै सभामुख सापकोटाले न्यायपालिका भित्र देखिएका समस्याको सहज र स्वभाविक निकास निकाल्नका लागि सम्बद्ध पक्ष गम्भिर हुनुपर्ने बताएका हुन् । उनले आफ्नो तर्फबाट निष्पक्ष, स्वतन्त्र र तटस्थ भूमिका निर्वाह गर्ने भन्दै उनले न्यायपालिकाको समस्या समाधान छिटोभन्दा छिटो निकाल्नुपर्नेमा जोड दिए ।
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमनको निम्ति गरिरहेको आन्दोलन बारे जानकारी गराउँदै सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बारले सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रधानन्यायाधीशको बर्हिगमन र न्यापालिकाको सुधारको निम्ति दृढतापूर्वक उभिन राजनीतिक दललगायत सरोकारवाला सबैलाई आव्हान गर्दै आएको छ ।
२. एमाले महाधिवेशन: मञ्च अत्याधुनिक प्रविधियुक्त, आकाशमा दुई वटा ड्रोन
नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको लागि उद्घाटन र बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणलाई तीव्र पारिएको छ । उद्घाटन स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान भइरहेको छ भने महाधिवेशन स्थल ड्रोनले निगरानी हुनेछ ।
मञ्च नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै निर्माण भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताए । प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले पाँच लाख नागरिकले सजिलै हेर्न मिल्ने गरी मञ्च निर्माण भइरहेको जानकारी दिए । उनका अनुसार एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र अवलोकन गर्न नसक्ने भएकाले विभिन्न स्थानबाट लाइभ प्रशारण गरिनेछ । उद्घाटन सत्र लाइभ गर्न भिडियो क्यामेराका साथै कम्तिमा दुई वटा ड्रोन क्यामेरा प्रयोग गरिने श्रेष्ठले बताए ।
३. निर्वाचन आयोगले मंसिर १७ देखि मतदाता नामावली संकलनसम्बन्धी विशेष अभियान सञ्चालन गर्दै
निर्वाचन आयोगले यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलनसम्बन्धी विशेष अभियान सञ्चालन गर्ने जनाएको छ । ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली संकलन कार्यलाई निरन्तरता दिँदै मंसिर १७ गतेदेखि ती कार्यालय रहेका स्थानीय तह बाहेकका ६३७ वटा स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली संकलन हुने आयोगले जनाएको छ ।
आयोगका अनुसार मतदाता नामावली संकलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुने र तराई, भित्री मधेस तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ ।
मतदाता नामावली संकलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुने भएकोले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिने पनि आयोगले जनाएको छ । नामावली संकलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन हुने पनि आयोगले प्रस्ट पारेको छ ।
४. कम्युनिस्टभित्र ‘भिलेन’ देखापरेपछि दुःख पाइयो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट पार्टीभित्र ‘भिलेन’ देखा परेकाले दुःख पाइएको बताएका छन् । सोमबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीभित्र भिलेनका रुपमा एमाले अध्यक्ष केपी ओली देखा परेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कम्युनिस्टहरु एक भएपछि धेरै ठुलो स्थिरता, समृद्धि होला र सुकुम्वासी समस्या पनि समाधान गर्न सकिएला भन्ने सपना देखेर पार्टी एकता गरेपनि त्यो हुन नपाएको बताए ।
‘सपना त धेरै ठुलो देखेको हो, तर कम्युनिस्टभित्र एउटा भिलेन देखापरेपछि दुःख पाइयो’, प्रचण्डको भनाइ छ । प्रचण्डले अहिले नयाँ भूमि आयोग बनेको भन्दै भूमि व्यवस्था मन्त्रालय आफ्नै पार्टीको जिम्मेवारीमा परेकाले भूमि सम्बन्धी समस्या समाधान गर्न सम्बन्धित मन्त्रीलाई निर्देशन दिएको बताए ।
एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि पोखरेल
पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० आवश्यक संशोधनपछि मात्र पास गर्ने बताएका छन् । उनले एमसीसी संशोधन गरेरमात्र पारित गर्ने आफ्नो पार्टीको नीति रहेको पनि प्रस्ट पारे ।
सिरहाको गोलबजार नगरपालिका–१२, बेतौनामा आयोजित पार्टीको वडा अधिवेशन उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले केपी शर्मा ओलीलाई निरन्तर पाँच वर्ष सत्तामा रहन दिएको अवस्थामा निरंकुशता लाद्ने निश्चित रहेको पनि उजागर गरे । सत्तामा रहँदा ओलीले गरेका व्यवहारले नै यसको पुष्टि भएको उनको भनाइ थियो ।
‘मुलुकलाई पछाडि फर्काउने र निरंकुशतातर्फ धकेल्ने कदमको सुरुवात प्रतिनिधिसभा विगटन गरेर नै भएको थियो,’ उनले भने, ‘तर हामी त्यसलाई रोक्न सफल भयौं ।’
५. मच्छिन्द्रले एनआरटीलाई हरायो
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबले न्यु रोड टीम (एनआरटी) लाई हराएको छ ।
दशरथ रङ्गशालामा आज सोमवार भएको दोस्रो खेलमा मच्छिन्द्रले एनआरटीलाई दुई–एक गोलले हरायो । मच्छिन्द्रको जितमा सुनिल बलले दुई गोल गरे । एनआरटीका लागि एरिक विष्टले गोल फर्काए पनि जितका लागि पर्याप्त भएन ।
यो जितसँगै मच्छिन्द्रले तीन अङ्क जोडेको छ । मच्छिन्द्रले दोस्रो चरणमा आर्मीसँग खेल्ने छ भने एनआरटीले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ ।
६. बाघको छालासहित दाङबाट दुई जना पक्राउ
दाङमा प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका ६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका ५ रानिजरुवाका ३१ वर्षीय महेन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
पश्चिमबाट पूर्व जाँदै गरेको रा ३ प २६६ नम्बरको मोटरसाइकल जाँच गर्दा झोलाभित्र लुकाएको अवस्थामा बाघको छाला फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
उनीहरूको साथबाट आठ फिट दुई इन्च लम्बाइ र एक फिट आठ इन्च चौडाइ भएको बाघको छाला एक थान, सिल्भर रङको रेड्मी नोट, सादा मोबाइल एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो ।
७. वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै
पछिल्लो समय वाणिज्य बैंकहरूको निक्षेपमा कमी आउने क्रम जारी छ ।
नेपाल बैंकर्स संघका अनुसार १ महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप ४३ अर्ब रुपैयाँले घटेको छ ।
गत असोजमा कूल ४२ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूमा मंसिरको पहिलो हप्तासम्म ४२ खर्ब २६ अर्ब रुपैयाँ कायम भएको छ ।
वाणिज्य बैंकको कर्जा भने ४३ अर्बले बढेको छ । गत असोज मसान्तसम्मको कूल ३९ खर्ब ९८ रुपैयाँ कर्जा लगानी गरेका वाणिज्य बैंकहरूको मंसिर पहिलो हप्तासम्म कूल ४० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।
८. कोरोना अपडेट स् थपिए ३८५ संक्रमित, चार जनाको मृत्यु
पछिल्लो २४ घन्टामा ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९७ नमूना परीक्षणमध्ये ३६७ पीसीआर र १८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ५०० पुगेको छ ।
मन्त्रालयका अनुसार थप २५८ जना संक्रमणमुक्त भएका छन् ।
९. एमाले महाधिवेशन सर्वसम्मत बन्न ओलीसमक्ष तीन चुनौती
नेकपा एमालेको १० मंसिरबाट सुरू हुने महाधिवेशनको तयारी र प्रचार जुन रफ्तारमा अघि बढेको छ, नेतृत्वमा दाबी गर्ने नेताहरू भने अहिलेसम्म ‘पर्ख र हेर’ मै देखिन्छन् ।
अध्यक्ष केपी ओलीको वरिपरि घुमेको पार्टी र महाधिवेशन रौनकलाई चुनौती दिँदै उपाध्यक्ष भीम रावलले अध्यक्षको दाबी गरेपछि भने नेताहरूबीच उम्मेदवारीको तयारी सुरू भएको छ ।
भावी नेतृत्वका रूपमा सर्वसम्मत देखिएका ओलीसमक्ष महाधिवेशनको मुखमा तीनवटा चुनौती देखिएका छन् । पार्टी फुटको चोट नसेलाउँदै सुरू हुन लागेको नेतृत्व छान्ने महाधिवेशनमा पदाधिकारी संख्याको तुलनामा आकांक्षी बढी देखिएका छन् ।
तर, ओलीको वरिपरि घुमेको एमाले राजनीतिक चक्रका कारण रावलबाहेक अरू नेताले सार्वजनिक रूपमा मुख खोलेका छैनन् । १०औँ महाधिवेशनको सम्मुखमा आइपुग्दा आफ्नो नेतृत्वमा सर्वसम्मत पदाधिकारी चयन गर्न यतिबेला ओलीका लागि तीन मुख्य चुनौती देखिएका छन् ।
१० बुँदेबाट आएकाको व्यवस्थापन
अध्यक्षमा सर्वसम्मतको अभ्यास भइरहेका बेला उपाध्यक्ष भीम रावलले उम्मेदवारीको घोषणा गरेपछि ओलीलाई रावलसँगै पार्टी विभाजनका बेला एमालेतिरै लागेका १० जना स्थायी कमिटी सदस्यलाई मिलाउने मुख्य चुनौती थपिएको छ ।
रावलले उम्मेदवारी घोषणा गर्दै आफ्नो राजनीतिक निर्णय भएको बताउँदै प्रक्रियाको विषय महाधिवेशन हलमा टुंगिने बताएका छन् । उनको उम्मेदवारी घोषणाको तर्क र निकटका नेताका अनुसार रावल अध्यक्षमा दाबी गरेर वरिष्ठ उपाध्यक्षको पद सुरक्षित गर्न चाहन्छन् । तर, ओलीले रुचाएका महासचिव ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्षमा बलियो दाबेदारी छ ।
रावलसँगै ओलीलाई घनश्याम भुसाल युवराज ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका १० बुँदे सहमतिबाट एमालेमा फर्किएका नेताको व्यवस्थापन गर्ने चुनौती छ ।
रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गरे घनश्याम भुसालले महासचिवमा उम्मेदवारी दिने निकटस्थ नेताहरूसँग बताएका छन् । हालका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई पनि सके पदोन्नति नत्र वर्तमान पदमै सहमति जुटाउने चुनौती पनि ओलीसँग छ ।
ज्ञवालीलाई अनुशासन आयोगको अध्यक्ष बनाउने ओलीको तयारी छ भने महिला नेतृत्वमा प्रतिस्पर्धी कम भएका कारण शाक्यलाई उपाध्यक्षमै दोहो¥याउने रणनीतिमा ओली छन् ।
उता वर्तमान सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराईदेखि लिएर रघुजी पन्तसम्मका १० बुँदे पक्षधर नेताहरूको पदाधिकारीमा अटाउने चाहनाको व्यवस्थापन गर्न पनि ओलीलाई ‘फलामको च्युरा’ हुने देखिन्छ ।
आफ्नालाई मिलाउने
नवौँ महाधिवेशनदेखि नै ओलीको पक्षमा खुल्दै आएका विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ १०औँ महाधिवेशनमा महासचिवका बलिया दावेदारका रूपमा देखिएका छन् ।
उता ओलीलाई लामो समयदेखि नजिकबाट सहयोग गर्दै आएका सुवासचन्द्र नेम्वाङ पनि सके वरिष्ठ उपाध्यक्ष नसके उपाध्यक्ष बन्न चाहन्छन् ।
गुरुङले महासचिवमा दाबी पेस गरिसकेका छन् भने वर्तमान उपमहासचिव पौडेल कुनै हालतमा महासचिवको अडानबाट तल नझर्ने बताइरहेका छन् ।
१० बुँदेबाट आएका र विगतमा आफ्ना विस्वासपात्रसमेतको ‘लडाईं’ मा रहेको महासचिव कसलाई दिने भन्ने विषयमा निर्णय गर्न नसक्दा ओलीले निर्वाचनको सामना गर्नुपर्ने अवस्था आउने उनीनिकट नेताहरू नै बताउँछन् ।
माओवादी छाडेका नेताको व्यवस्थापन
एमालेमै रहेर लामो समय राजनीति गरेका नेताको व्यवस्थापनमा सकस परिरहेका बेला सर्वोच्च अदालतको आदेश पनि एमाले र माओवादी बेग्लाबेग्लै पार्टी भएपछि रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहलगायतका नेता एमालेमा समाहित भएका छन् ।
सांसद पद माया मारेर एमाले भएका उनीहरू १०औं महाधिवेशनबाट राजनीतिक क्षतिपूर्ति लिन चाहन्छन् । बादल सके वरिष्ठ उपाध्यक्ष नत्र उपाध्यक्ष बन्ने बटमलाइनमा छन् ।
ओली उनलाई जनजाति कोटाबाट उपाध्यक्षमा ल्याउन चाहन्छन् । तर, यसका लागि उनका अर्का विश्वास पात्र नेम्वाङको व्यवस्थापन कहाँ गर्ने भन्ने चुनौती ओलीमा छ ।
दुःखका बेला साथ दिएका माओवादी खेमाका नेताहरूमध्ये कम्तीमा तीनजनालाई पदाधिकारीमा अटाउनै पर्ने दबाबमा छन् अध्यक्ष ओली । यो दबाबका कारण बादल, रायमाझी र भट्टलाई उपाध्यक्षदेखि सचिवसम्ममा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
तर, सात जना सचिवका लागि अहिले नै १५ जना हाराहारीको दाबी छ । निर्वाचन प्रक्रियामा जाँदा १० बुँदे पक्षधर र माओवादीबाट समाहित भएका नेताहरू हार्ने पक्का भएका कारण ओली यही डर देखाएर दबाबपूर्ण व्यवस्थापनको रणनीतिमा रहेको एक नेता बताउँछन् ।
तर, दबाबबीच व्यवस्थापन गर्नैपर्ने नेताको लामो सूची बोकेर बसेका ओली आफूसहित पदाधिकारी सर्वसम्मत ल्याउन ‘कसलाई बोक्ने, कसलाई छोड्ने दुविधामा छन् ।
पदाधिकारीका आकांक्षीबीच ९ मंसिर बेलुकासम्ममा मोटामोटी सहमति गर्ने बताएका ओली महाधिवेशन लम्ब्याएर भए पनि सहमति गर्ने पक्षमा छन् ।
यसका लागि उनले बहुमत प्रतिनिधिको ‘दम्भ’लाई अस्त्रका रूपमा प्रयोग गरेर अनुकुल नेताको व्यवस्थापन गर्ने डरमा देखिन्छन् १० बुँदेबाट आएका र माओवादी खेमाबाट आएका नेताहरू । यीसँगै विगतमा ओली अर्थात संस्थापन पक्षमा रहेका नेताहरूसमेत सहमतिको नाममा पदाधिकारी गुमाउने त्रासमा छन् ।