काठमाडौं : तपाईं २० देखि ३५ वर्षको स्वस्थ हुनुहुन्छ ? कुनै पनि सरुवा रोग लागेको छैन । त्यसो भए पुरुषले शुक्रकीट र महिलाले अण्डा दान गर्न सक्नु हुनेछ । विवाहितको हकमा दम्पतीकै लिखित मन्जुरी चाहिने छ । तर, कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी वा दबाबमा पारेर भने दान गराउन पाइने छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रकीट वा अण्डा दान गर्ने दाता (डोनर) का लागि मापदण्ड बनाएको छ । जसमा भनिएको छ, ‘दाताको उमेर २० देखि ३५ वर्षको बीचमा हुनुपर्ने, कुनै पनि सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्ने र विवाहितको हकमा दम्पती दुवैको लिखित मञ्जुरी हुनुपर्ने छ ।’
 
किशोरीबाट अवैध रूपमा डिम्ब (अण्डा दान) लिएका घटनाहरू सार्वजनिक भए पछि सरकारले नयाँ मापदण्ड बनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःसन्तान उपचार (आईभीएफ) सेवालाई व्यवस्थित बनाउन र नियमन गर्न निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२ स्वीकृत गरेको छ । 
 
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्ड स्वीकृत गरेका हुन् । मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले सम्बन्धित क्षेत्रका सरोकारवाला विज्ञहरूसँगको छलफलपछि यो मापदण्ड तयार पारिएको हो । मापदण्डको कार्यान्वयन भएमा ‘निःसन्तान उपचार (आईभीएफ)’ सेवा र यसका लागि आवश्यक प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिएको शुक्रकीट तथा अण्डा दान (डोनर) प्रक्रिया थप व्यवस्थित हुने विश्वास गरिएको छ । 
 
शुक्रकीट वा अण्डा दान गर्ने दाताका लागि स्पष्ट मापदण्ड तोकिएको छ । दातालाई कुनै पनि सरुवा रोग नभएको स्वास्थ्य परीक्षणबाट प्रमाणित हुनुपर्ने र विवाहितको हकमा दम्पतीको लिखित मञ्जुरी जस्ता विषयलाई अनिवार्य गरिएको छ । एक व्यक्तिले दान गर्न पाउने पटकको संख्या सीमित गरिएको छ र दाताको पहिचान पूर्ण रूपमा गोप्य राख्नुपर्नेछ । साथै, कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी वा दबाबमा राखी दान गराउन पूर्ण रूपमा निषेध गरिएको छ । 

स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माका अनुसार, मापदण्डबमोजिम सेवा प्रदायकलाई पूर्णजिम्मेवार बनाइने छ र तोकिएको मापदण्ड पालना नगर्ने जोसुकैलाई कडा कानुनी दायरामा ल्याइने छ । शर्माले भने, ‘यस मापदण्डले निःसन्तान उपचार सेवालाई थप सुरक्षित, पारदर्शी र अन्तर्राष्ट्रियस्तरको बनाउन लागि एक कोसेढुंगाका रूपमा काम गर्ने छ ।’ 

के छ वीर्य दान (सिमेन डोनेसन) को मापदण्ड ? 
एक दाता (डोनर)ले कम्तीमा १५ दिनको फरकमा १० पटकभन्‍दा बढी डोनेसन दिन नमिल्‍ने मापदण्ड बनाइएको छ । यसको सुनिश्चितताका लागि विभिन्न सेवा प्रदायक संस्थाहरूबीच दोहोरो नपर्ने गरी समन्वय गर्ने प्रणाली निर्माण गर्नुपर्ने सुझाइएको छ । डोनरको परिचय प्रापकलाई खुलाउन मिल्ने छैन । डोनरको शारीरिक परीक्षण तथा आवश्यक जाँचहरू प्रयोगशालाबाट परीक्षण गरी कुनै सरुवा रोग नभएको हुनुपर्ने ।

नागरिकता नम्बर तथा जारी जिल्ला सम्बन्धित संस्थामा अनिवार्य रेकर्ड राख्नुपर्ने छ । त्यस्तै बिरामीको आईडी अस्पतालमा रेकर्ड गरी परिचय नखुल्ने गरी कोड नम्बरमार्फत रेकर्ड राख्नुपर्ने छ । 

डोनेसन गर्ने समयको पछिल्लो तीन महिनाको आधारभुत परीक्षण (सीबीसी, आरबीएस, आरएफटी, एलएफटी, ग्रुपिङ, सेरोलोजीहरूको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने छ । र, सेरोलोजी टेस्ट विगत तीन महिनाभित्र नेगेटिभ हुनुपर्ने छ । वीर्य दान गर्ने व्यक्तिलाई सम्पूर्ण कुरा बुझाई सुसूचित मन्जुरिनामा लिनुपर्ने छ । विवाहितको हकमा श्रीमान्÷ श्रीमती दुवै जनाको सुसूचित मन्‍जुरी हुनुपर्ने छ । त्यस्तै कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी डोनेसन दिन बाध्य पार्न पाइने छैन । दुरुपयोग नहुने गरी सफ्टवेयर निर्माण गरी लागू गरिने जनाइएको छ । 

कस्तो छ अण्‍डा दानको मापदण्‍ड? 
 एक दाताले ६ पटकभन्‍दा बढी डोनेसन दिन नमिल्‍ने मापदण्ड रहेको छ । डोनेसनको अवधी कम्तीमा पनि तीन महिनाको फरक हुनुपर्ने र यसको सुनिश्चितताका लागि विभिन्न सेवा प्रदायक सस्थाहरूबीच दोहोरो नपर्ने गरी समन्वय गर्ने प्रणाली निर्माण गर्नुपर्ने छ । 

डोनरको शारीरिक परीक्षण तथा आवश्यक जाँचहरू प्रयोगशालाबाट परीक्षण गरी कुनै सरुवारोग नभएको हुनुपर्ने छ । नागरिकता नम्बर तथा जारी जिल्ला सम्बन्धित संस्थामा अनिवार्य रेकर्ड राख्नुपर्ने छ । आईडी अस्पतालमा रेकर्ड गरी परिचय नखुल्ने गरी कोड नम्बरमार्फत रेकर्ड राख्नुपर्ने छ ।
डोनेसन गर्ने समयको पछिल्लो तीन महिनाको आधारभूत परीक्षण (सीबीसी, आरबीएस, आरएफटी, एलएफटी, ग्रुपिङ, सेरोलोजी) हरूको रिपोर्ट अनिवार्य पेस गर्नु पर्ने छ । र, सेरोलोजी टेस्ट विगत तीन महिना भित्र नेगेटिभ हुनुपर्ने छ । अण्‍डा दान गर्ने व्‍यक्तिलाई बुझ्ने भाषामा तत्काल वा पछि आउन सक्ने जटिलताको बारेमा जानकारी गराएको हुनुपर्ने छ ।

अन्डा दान गर्ने व्यक्तिलाई सम्पूर्ण कुरा बुझाई शुसुचित मन्जुरिनामा लिनुपर्ने छ । विबाहितको हकमा श्रीमान्÷श्रीमती दुवै जनाको सुसूचित मन्‍जुरी हुनुपर्ने छ । कुनै पनि व्यक्तिलाई प्रलोभनमा पारी डोनेसन दिन बाध्य पार्न पाइने छैन । दुरुपयोग नहुने गरी सफ्टवेयर निर्माण परी लागू गर्नुपर्ने छ । 

सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाले आईयूआई, र आईभीएफ जस्ता विशिष्ट सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । प्रत्येक अनुमति प्राप्त केन्द्रमा निःसन्तान रोग विशेषज्ञ, तालिम प्राप्त इम्ब्रायोलोजिष्ट र एनेस्थेसियोलोजिष्ट लगायतका दक्ष जनशक्ति अनिवार्य हुनुपर्ने छ । पूर्वाधारतर्फ राष्ट्रिय भवन संहिता बमोजिमको भवन, विशिष्टीकृत एन्ड्रोलोजी तथा इम्ब्रायोलोजी प्रयोगशाला, शल्यक्रिया कक्ष र आकस्मिक सघन उपचार कक्ष लगायतको व्यवस्था हुनुपर्ने मापदण्ड तोकिएको छ । 

सेवाको गुणस्तर, जनशक्ति र उपकरणको अवस्थाबारे मन्त्रालयको समितिले नियमित अनुगमन गर्ने र मापदण्ड पालना नगर्ने संस्थाको अनुमति खारेज गर्न सक्ने व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रजनन् स्वास्थ्यको क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन यस मापदण्डले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘यो मापदण्डले सेवालाई सुरक्षित र विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ ।’

अन्नपुर्ण  पाेस्टबाट……………………..