बोमलाल गिरी : नवलपुर, असोज ११ गते । नवलपुरका सम्पूर्ण जनप्रतिनिधिले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा व्यक्तिका नीजि घर तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्नेलाई कारवाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले शनिवार प्रजिअ भविश्वर पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै तत्काल दोषीलाई पक्राउ गरी कारवाही नगरे सम्पूर्ण जनप्रतिनिधिले प्रहरी प्रशासनलाई असहयोग गर्ने चेतावनी पनि दिएका छन् ।
गण्डकी प्रदेशका मन्त्री, पूर्व मुख्यमन्त्री, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, विभिन्न पालिका प्रमुखहरु, उपप्रमुखहरु र वडाध्यक्षसहित जिल्ला प्रशास कार्यालय पुगेर उनीहरुले जेनजी आन्दोलनका नाममा आतंककारी हमला गरी व्यक्तिका नीजि सम्पत्ति, पार्टी कार्यालयहरु र सरकारी सम्पत्ति तोठफोड गरी तहसनगस गरेको भन्दै त्यसको छानविन गरेर दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति एवं गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसीले आन्दोलनका क्रममा प्रहरी प्रशासन नागरिकको जिउधनको सुरक्षा गर्न छोडेर भागेको आरोप लगाए । ‘‘झण्डै दुई हप्ता बित्न लाग्दा पनि जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने र तोडफोडमा संलग्नलाई कानुनी कठघरामा ल्याउनु पर्ने जुन दायित्व प्रहरी प्रशासनको हो, त्यो पटक्कै भएन,’’ जिसीले भने, ‘‘यस्तो अवस्थामा हामी चुप लागेर बस्न सक्दैनौं ।’’
नेकपा एमालेका जिल्ला अध्यक्ष जीवन श्रेष्ठले नेपाली कांग्रेस र एमालेका नेता र जनप्रतिनिधिहरुको घर र पार्टी कार्यालयमा छानीछानी आतंककारी हमला हुँदा पनि प्रहरी प्रशासन मौन बसेको आरोप लगाउँदै घटनाको छानविन गर्न माग गरे । उनले दोषीलाई कारवाहीको प्रकृयामा नलैजाने हो भने दशैपछि दबाबमूलक कार्यक्रम गर्ने र प्रहरी प्रशासनलाई असहयोग गर्ने चेतावनी पनि दिए ।

