राजु श्रेष्ठ, कावासोती, बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड बन्द भएको छ ।
नवलपरासी पूर्व नवलपुरको अरुणखोला दुम्किबास खण्डमा रहेका तीन वटा डाइभर्सन बाढीले बगाएको हो ।

अहिले यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निमित्त सूचना अधिकारी जयराम वन्तले बताउनुभयो । नारायणगढ बुटवल सडक विस्तारका क्रममा पुल निर्माण स्थलमा बनाइएका डाइभर्सन बाढीले बगाएको हो । पानी निरन्तर परेकाले तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन कठिन रहेको वन्तले बताउनुभयो ।
त्यस्तै, लगातारको झरीले आधा दर्जन बढी ठाउँमा पहिरो जाँदा कास्कीको पोखरा देखि मादी गाउँपालिकाको सिक्लेस जाने बाटो एक हप्तादेखि बन्द भएको छ ।

पहिरोकै कारण मादी गाउँपालिका १, खिलाङको जनसेवा टोल उच्च जोखिममा छ । मादी–१, खिलाङको माथिबाट पहिरो जान सुरु गरिसकेकाले गाउँ नै जोखिममा रहेको र त्यसमा पनि जनसेवा टोल बढी जोखिममा रहेको मादी–१ क वडाध्यक्ष देवीजंग गुरुङले बताए ।
पहिरोकै कारण मादी गाउँपालिका–६ मा एक हप्तादेखि नै बिजुली बत्ती बल्न सकेको छैन । विद्युत आपूर्ति बन्द हुँदा गाउँ नै सञ्चार सम्पर्कविहीन बन्ने अवस्थामा पुगेको छ । सुरक्षित ठाउँमा सारिएका परिवारलाई खाना, बस्नको लागि गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट व्यवस्थापन गरिने बताईएको छ ।
उता, निरन्तरको वर्षासँगै आएको बाढीले हुलाकी मार्गको रंगेली–विराटनगर सडकखण्डमा कल्भट बगाएको छ । मोरङको रङ्गेली नगरपालिका–२ मङ्गलबारे खण्डको कल्भर्ट बगाएको हो ।

मंगलबार साँझ ७ बजेतिर नहरमा आएको बाढीले कल्भर्ट बगाएको प्रहरीले बताएको छ । सिँचाइका लागि बौनी खोलाबाट ल्याइएको नहरमा आएको बाढीले कल्भर्ट बगाउँदा अवरुद्ध यातायात खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।
मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले देशका अधिकांश स्थानमा भारी वर्षा भैरहेको छ । शुक्रबारदेखि अहिलेको अवस्थामा तुलनात्मक रुपमा केही सुधार देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद वरुण पौडेलका अनुसार मंगलबार रातिदेखि नै गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका केही जिल्लामा अति भारी वर्षा मापन भएको छ ।
आज र भोलि देशका धेरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पौडेलको भनाई छ । शुक्रबारदेखि भने मौसम तुलनात्मक रुपमा केही सुधार हुने उनले बताए ।
यसैविच
पर्वतमा पहिरो पीडितको पक्षमा आवाज उठाउने युवा अभियान्ता किसान चापागाईंलाई धम्कीः
पर्वत, असार २०७९ (June 2022) — हालैको भीषण वर्षापछि आएको पहिरोले पर्वत जिल्लाको विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएपछि राहत र पुनर्निर्माणका लागि आवाज उठाउने युवा अभियान्ता किसान चापागाईं धम्की र दबाबको सामना गर्न बाध्य भएका छन्।
स्थानीय बासिन्दाहरूको सहयोगमा चापागाईंले सरकारको लापरवाही र राहत वितरणमा भएको अन्यायविरुद्ध सार्वजनिक रूपमा आवाज उठाएका थिए। उनले सामाजिक सञ्जाल र स्थानीय भेलामार्फत जनप्रतिनिधि र प्रशासनलाई राहत तथा पुनर्निर्माणमा पारदर्शिता अपनाउन आग्रह गरेका थिए।
तर, उनले गरेको आलोचना केही स्थानीय नेताहरू र तिनका कार्यकर्ताहरूलाई मन परेन। सत्तारूढ दलसँग नजिक रहेका राजनीतिक समूहका व्यक्तिहरूले उनलाई ज्यान मार्ने धम्की दिएका छन्। धम्कीहरू स्पष्ट र लक्षित थिए, जसमा उनको नाम र गतिविधि दुवै उल्लेख गरिएको थियो।
चापागाईंले धम्कीपछि पर्वत जिल्ला प्रहरीमा उजुरी गर्न जाँदा पनि निराशा हात परेको बताएका छन्। प्रहरी अधिकारीहरू नै राजनीतिक दबाबमा परेका देखिए।
“म उजुरी दर्ता गर्न गएँ, तर प्रहरीहरूले उल्टै मलाई दोष दिए,” उनले भने। “उनीहरूले भने—‘तिमीले नेताहरूको विरोध गरेर आफैं समस्या ल्यायौ।’ एक जनाले त सिधै चेतावनी दिए—‘यदि बाँच्न चाहन्छौ भने यहाँबाट टाढा जाऊ।’”
उनका अनुसार, केही प्रहरीहरूले सहयोगको आश्वासन दिए पनि सर्त राखे — “यदि केही रकम मिलाउन सक्ने हो भने।”
“प्रहरी र राजनीतिक कार्यकर्ता मिलेर डर देखाउँदै पैसा मागे। यसले स्पष्ट गर्यो कि प्रहरी पनि निष्पक्ष छैन,” चापागाईंले भने।
स्थानीय नागरिकहरूले भने चापागाईंको साहसिक कदमको प्रशंसा गर्दै राज्य संयन्त्रले नागरिकको आवाज दमन गर्न खोजेको आरोप लगाएका छन्।
“उनी त राहतका लागि बोलिरहेका थिए, तर उल्टै राज्यले धम्की दिन्थ्यो भने न्याय कसरी खोज्ने?” एक स्थानीय युवाले भने।
यो घटनाले फेरि एकपटक राजनीतिक प्रभावमा परेको प्रहरी प्रशासन र स्वतन्त्र आवाजमाथिको खतरा उजागर गरेको छ।

