माघ २८, कावासोती ।
सवारी दुर्घटना न्यूनिकरणका लागि प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा विविध कार्यक्रमहरु सहित दुर्घटना न्युनिकरण अभियान सञ्चालन गरिरहेका छन् । पूर्व पश्चिम राजमार्ग फराकिलो र सहज बन्दै जाँदा सवारी दुर्घटनामा पनि वृद्धि भएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले दुर्घटना न्युनिकरण अभियान अन्तर्गत आफ्नो सक्रियता बढाएका हुन् । अभियान अन्तर्गत “ट्राफिक नियम जानौँ पनि, मानौँ पनि” भन्ने नाराका साथ मंगलबार पूर्व पश्चिम राजमार्ग सडक खण्डमा संचालन हुने विभिन्न सवारी साधनहरुमा चालक प्रतिबद्धता स्टिकर टास तथा पर्चा पम्लेट वितरण कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको प्रमुख आतिथ्यता, नवलपुरको देवचुली नगरपालीका वडा नम्बर १६ स्थित रजहर चोकमा जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले संयुक्त रुपमा कार्यक्रम गरेको हो ।
त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्का, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देल, नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज सापकोटा, अनुसन्धान प्रमुख अभिनय कुमार सिंह, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कुशल कुमार बर्तौला, विभिन्न यातायात व्यवसायीका प्रतिनिधीहरु पैदल यात्री, स्थानिय व्यक्तिहरु तथा समाज सेवी, विभिन्न सवारीका चालक सह–चालकहरु तथा सडक प्रयोगकर्ताहरुको समेत आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्र.जि.अ.पाण्डेले सवारी दुर्घटना न्यूनिकरणकालागि प्रहरी वा ट्राफिक प्रहरीको सक्रियताले मात्रै नपुग्ने भन्दै सडक प्रयोग कर्ता नै विषेश सजग भएर ट्राफिक नियमको पालना गरि यात्रा गर्नुपर्ने बताउनुभयो ।
उहाँले सवारी चालकले ट्राफिक नियमलाई सहि ढंगले पालना गर्दै आफ्नो र यात्रुहरुको सुरक्षाको जिम्मेवारीलाई आत्मसाथ गर्न सके मात्रै पनि धेरै दुर्घटना हुनबाट जोगाउन सकिने बताउँदै विभिन्न सवारीमा टाँसिएको स्टिकरमा उल्लेखित कुराहरुलाई मनन गर्न आग्रह गर्नुभयो । पछिल्लो समय आर्थिक वर्ष २०८१,८२ को माघ महिना सम्म जिल्लाको विभिन्न स्थानमा गरि झण्डै सय सवारि दुर्घटनाका घटनाहरु भएको साथै ति दुर्घटनामा परि दुई दर्जन बढिको ज्यान गैसकेको र सयौँको संख्यामा घाईते समेत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरिक्षक कुशल कुमार बर्तौलाले जानकारी दिनुभयो । उपस्थित सबै अतिथिहरुले आफ्नो सवारी साधन र सडकमा गुड्ने गाडिहरुमा समेत स्टिकर टाँस्दै त्यसमा लेखिएका कुराको पालना गरिदिन आग्रह गर्नुभएको थियो ।