माघ २०, कावासोती ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सर्ने सम्भावना नरहेको बताउनुभएको छ । सरकारको पूरा ध्यान फागुन २१ गते निर्वाचन सम्पन्न गर्नेतर्फ रहेको र सोही अनुसार तयारी भइरहेकोले निर्वाचन सर्छ कि भनेर शंका नगर्न उहाँले आग्रह गर्नुभयो । राष्ट्रिय सेवा दल (एनसिसी) सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा सहभागी हुन मङ्गलवार नवलपुरको हात्तीखोर आउनुभएकी प्रधानमन्त्री कार्कीले पत्रकारसँगको कुराकानीमा अत्यधिक चिसोका कारण हिमाली जिल्लाहरूमा फागुन २१ मै निर्वाचन हुन नसक्ने अवस्था आएमा दोस्रो चरणमा पनि गर्न सकिने तर अन्य ठाउँमा निर्धारित मितिमै निर्वाचन हुने बताउनुभएको हो । हिमाली जिल्लामा यातायातको पहुँच भएका स्थानमा मतदातालाई सवारी साधनमार्फत ओसारेर भए पनि निर्वाचन गर्ने तयारी भैरहेको भन्दै कार्कीले अहिले विशेष अवस्थामा निर्वाचन हुन लागेकोले निर्वाचनमा करिब ३० देखि ३२ अर्ब रुपियाँ खर्च हुने जानकारी दिनुभयो ।
मङ्गलवार आयोजित समारोहमा ५३० जना विद्यार्थी दीक्षित भएका छन् । यो वर्ष देशभरका २५७ विद्यालयका सात हजार ७१० जनाले तालिम प्राप्त गरेको र हालसम्म करिब ९० हजार युवा दीक्षित भइसकेको कार्यक्रममा जानकारी दिइएको थियो । प्रधानमन्त्री कार्कीले दीक्षित क्याडेटलाई सम्बोधन गर्दै तालिममा सिकेको अनुशासन, नेतृत्वकला र राष्ट्रप्रेमलाई केवल भावनामा मात्र सीमित नराखी व्यवहारमा उतार्न आग्रह गर्दै विद्यार्थीको असल आचरण र व्यवहारले उन्नत समाज र समृद्ध राष्ट्र निर्माणको आधार तय गर्ने बताउनुभएको छ ।