मंसिर १४, काठमाडौं ।। म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बेनीदेखि बेगको सिमतर्फ जाँदै गरेको ग१ज ७२५१ नंको जिप औँलामा दुर्घटना भएको हो। 

प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुढबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा छन्। उनीहरु सवै बेगका बासिन्दा हुन्। गौमाया रघुगङ्गा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन्। पुन र शर्माको घटनास्थलमा तथा चालक थापा र विकको उपचारका लागि बेनी ल्याउँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ। जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो।  

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

बागलुङ

कालीगण्डकी करिडोर बागलुङ–कुश्मीसेरा खण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक बालक घाइते भएका छन्।

बागलुङ  नगरपालिका–१४ नारायणस्थानको कैयाबाट सरंगीको लागि छुटेको ध१च ३६० नम्बरको ट्याक्टर करिडोरको बलेवा कुश्मीसेरा खण्डको ठेउघरको भीरबाट खस्दा दुई युवाको मृत्यु भएको हो। मृतकको पहिचान खुल्न सकेको छैन।

दुर्घटनामा जैमिनी नगरपालिका–१ भण्डारा बस्ने शिव केसीको छोरा १२ वर्षीय सुदिप केसी घाइते भएका छन्। केसीलाई उपचारको लागि पर्वत अस्पताल कुश्मा लगिएको स्थानीय भरत शर्मा पौडेलले जानकारी दिए। ट्याक्टरमा चालकसहित चार जना सवारी थिए। चालक बागलुङ नगरपालिका-१३ पाउजा बस्ने अन्दाजी २५ वर्षीय विष्णु क्षेत्री फरार रहेको प्रहरीले जनाएको छ।  

शव भीरको अफ्ठ्यारो ठाउँमा अड्किएको हुँदा निकाल्न र पहिचान गर्न कठिन भएको छ। इलाका प्रहरी कार्यालय बलेवाको टोलीले शव निकाल्न नसकेपछि जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल लागेको छ।