१० साउन, काठमाडौं । नेपाल एथलेटिक्स संघले अहिलेसम्म एउटै राष्ट्रिय प्रतियोगिता नखेलेका खेलाडीलाई जुनियर विश्व च्याम्पियनसिपमा पठाउने भएको छ ।
प्रारम्भिक सूचीमा नाम दर्ता गरिएका जुनियर एसियन च्याम्पियनसिपका स्वर्ण विजेता अजितकुमार यादवलाई हटाएर दुवईमा बस्दै आएकी रेश्मा सुवेदीलाई साउन १६ देखि २१ सम्म कोलम्बियामा हुने एथलेटिक्स जुनियर विश्व च्याम्पियनसिपमा पठाउने निर्णय भएको हो ।
सन् २०१८ मा हङकङमा भएको जुनियर एसियन च्याम्पियनसिपमा ३ हजार मिटरतर्फ ऐतिहासिक स्वर्ण जितेका अजितले विश्व च्याम्पियनसिपमा पनि सोही स्पर्धामा तयारी गरिरहेका थिए । उनका प्रशिक्षक धनीराम चौधरीका अनुसार संघले पनि अजितलाई नै पठाउने तयारी गरेको थियो ।
‘उहाँले पछिल्लो समय अजितको प्रदर्शन खस्किँदै गएकाले विश्व च्याम्पियनसिपमा नपठाउने भन्नुभयो,’ प्रशिक्षक चौधरीले भने, ‘तर, जुनियर खेलाडीले सिनियरसँग प्रतिस्पर्धा गरेर आफ्नो व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेको छ भने प्रदर्शन खस्किएको भन्न मिल्दैन ।’
१९ वर्षीय अजितले हङकङमा ऐतिहासिक स्वर्ण जित्दा ८ मिनेट ३० सेकेण्डको टाइमिङ निकालेका थिए । त्यसयता हेपाटाइटिस ‘बी’ संक्रमण भएपछि उनले दक्षिण एसियाली खेलकुद (साग)समेत गुमाउनुपरेको थियो ।
रोगबाट माथि उठेर उनले सन् २०२१ मा केन्यामा भएको विश्व जुनियर च्याम्पियनसिपमा सहभागिता जनाए । जुनियरतर्फ आफूले खेल्न पाउने अन्तिम प्रतियोगिताका लागि उनी राष्ट्रिय कीर्तिमानको लक्ष्यसहित तयारी गरिरहेका थिए ।
जुनियर विश्व च्याम्पियनसिपको छनोट टाइमिङबाट अजितको व्यक्तिगत उत्कृष्ठ प्रदर्शन १५ सेकेण्डले मात्रै पछि छ । ३ हजार मिटरमा यसपल्ट छनोट टाइमिङ ८ मिनेट १५ सेकेण्ड निर्धारण गरिएको छ ।
यसपल्ट विश्व च्याम्पियनसिप खेल्न लागेकी रेश्माले अहिलेसम्म संघले आयोजना गरेको राष्ट्रय प्रतियोगिता खेलेकी छैनन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला एथलेटिक्स संघले २०७७ फागुन २९ गते आयोजना गरेको गोल्डेन एथलेटिक्स मिटमा प्रतिस्पर्धा गरेकी उनी जुनियरतर्फ उत्कृष्ट खेलाडी बनेकी थिइन् ।
रेश्माले कोलम्बियामा १०० मिटर स्पर्धामा सहभागिता जनाउँदैछिन् । गोल्डेन एथलेटिक्समा रेश्माले १०० मिटरतर्फ १२.३९ सेकेण्डको टाइमिङ निकालेकी थिइन् ।
‘एथलेटिक्स संघले जहिले पनि मध्यम र लामो दूरीलाई मात्र प्राथमिकता दियो भन्ने आरोप हामीले सुनेका छौं । यसपल्ट स्प्रिन्टलाई पनि अवसर दिन लागेका हौं,’ संघका अध्यक्ष शाहले भने, ‘नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको प्रदर्शन छनोट टाइमिङसँग नजिक पनि छ ।
अध्यक्ष शाहका अनुसार रेश्माले अहिले १२.१० सेकेण्डको टाइमिङमा दौडिरहेकी छन् । यो स्पर्धाको छनोट टाइमिङ ११.९० सेकेण्ड छ ।

