१० वैशाख, दमौली । तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन जारी छ । गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो ।
यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्ले लगायत उम्मेदवार छन् ।
अन्य उम्मेदवारहरुमा राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार लगायत छन् ।
मतदान सकिएपछि राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर मतपेटिका सदरमुकाम दमौली ल्याइनेछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक आयोजना गरेर मतगणनाबारे निर्णय लिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ३५० मतदाता छन् ।
उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर पृथ्वी राजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ ।

