२४ जेठ, मुगु। हिमपहिरोमा बेपत्ता भएका तीन जना यार्सा संकलक ३२ दिनपछि मृतावस्थामा भेटिएका छन्।
मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका-२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेश बस्नेतले जानकारी दिए।
बेपत्तामा भएका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय र पातारासी गाउँपालिकाको समन्वयमा कर्णाली प्रदेश सरकारले हेलिकप्टरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले दुई हप्तासम्म खोजी गर्दा शव फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।
शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुबाट चिकित्सकको टोली शव राखिएको स्थानमा पुगेर परीक्षण गरेपछि मृतकका आफन्तलाई शव बुझाइ दाहसंस्कार गरिएको डीएसपी बस्नेतले बताए।

