काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले हिजो बन्दुक बोकेर सुरक्षा गरेको देश आज संकटमा गएको बताएका छन ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उन्ले देश संकटमा परेको जिकीर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकहरुलाई आह्वान गरे ।

तपाईहरुले बन्दुक बोकेर सुरक्षा गरेको देश संकटमा परेकाले जोगाउनका लागि साथ चाहिएको अध्यक्ष लिङदेनको भनाई थियो । उन्ले राजसंस्था, हिन्दु राष्ट्रको पुनस्र्थापना र संघीयताको खारेज गर्न चाहने हरेक नेपालीको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी भएको दाबीसमेत गरे ।

उक्त कार्यक्रममा बोल्दै लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशका नदीनालाहरु भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन ।

उन्ले आफ्नो भ्रमणको मुखैमा आफ्नो देशको भू-भाग समेत अंकीत गरेर छिमेकीले आफ्नो नक्शामा प्रकाशित गर्दाखेरी यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरुको हातमा आज देशको नेतृत्व छ, भन्दै प्रधानमन्त्रीलाई व्यङ्ग्य समेत गरेका छन।