१९ असोज, काठमाडौं । युरोपियन देश रोमानियासँग नेपालले श्रम सम्झौता गरेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र रोमानियाका श्रम मन्त्री सिमोना बुकुरा अप्रेस्कु बीच आज शुक्रबार द्विपक्षीय श्रम समझदारीमत्रमा हस्ताक्षर भएको हो ।
नेपाल र रोमानिया बीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम सम्झौता भएको मन्त्रालयले जनाएको छ ।
नेपालको तर्फबाट प्रतिनिधिमण्डलमा सहभागी मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको सहभागिता थियो ।
उलेख्य संख्यामा नेपाली कामदार माग रहेको र पारदर्शी रुपमा कामदारको छनौट तथा छोटो अवधिमा कामदार ल्याने प्रकृयामा समन्वय र सहकार्य गर्ने रोमानियाका प्रतिनिधिले बताएका थिए ।
दोहोरो करार, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सीप जस्ता विषयहरुमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न सहमति भएको छ ।
रोमानियामा कार्यरत रहेका कुनै पनि आप्रवासी कामदारहरुले रोमानियाका नागरिक सरह सामाजिक सुरक्षाको उपभोग गर्न पाउने व्यवस्था रहेको जानकारी रोमानियाले गराएको छ ।
दुबै पक्षको श्रमसँग सम्बन्धित निकायबीच समन्वय र सहकार्य गरी द्विपक्षीय श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्ने भन्दै समझदारी पक्षमा हस्ताक्षर भएको छ । पछिल्लो समय नेपाली युवाहरुको श्रम गन्तव्यको रुपमा रोमानियामा आकर्षण हुँदै आएको छ ।

