काठमाडौं । यस वर्ष अर्थात बिसं २०८० को बडा दसैं आजबाट सुरु भएको छ ।
नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी आज घटस्थापना गरिँदै छ ।पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत आज आइतबार बिहान ११ बजेर २९ मिनेटमा रहेको छ । काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखिँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यो दिन घर घरमा जमरा राखिन्छ र कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ ।
यसैगरी माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ छर्ने गरिन्छ । त्यसपछि अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ । यसै दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरमा पहिलो दिनजस्तै भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।
आज राखिएको जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ । उपत्यका लगायत देशैभरका देवी मन्दिरह लगायत शक्ति पीठहरुमा विहानैदेखि दर्शन गर्न जानेको घुईंचो लागेको छ । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते मंगलबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ ।
यस वर्ष कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा र टीका जमरा ग्रहण गर्ने उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको समितिले जनाएको छ ।

