दीपेन्द्र रेग्मी, पुष ४, कावासोती ।
नेपालको राजनीतिक इतिहासमा एउटा तिखो खड्गझैं उभिएको जेन्जि आन्दोलनले भ्रष्टाचारको कालो बादललाई छिन्ने प्रयास गरेको थियो, तर त्यही आन्दोलनको आडमा भएका तोडफोड, आगजनी र लुटपाटका घटनाले देशलाई अझ गहिरो घाउ दिएको छ ।
भदौ २३ र २४ गते (सेप्टेम्बर ८–९, २०२५) मा देशव्यापी रूपमा फैलिएको यो युवा विद्रोहमा शान्तिपूर्ण प्रदर्शनको नाममा केही अराजक तत्वहरूले सरकारी कार्यालय, प्रहरी चौकी, निजी सम्पत्ति र सवारीसाधनमा आगो सल्काएर लुटपाट मच्चाए ।
भदौ २४ मा भएको उच्छृङ्खल गतिविधिमा संलग्न आरोपमा देशभरबाट अहिलेसम्म अर्थात मंसिर २६ गते सम्म जम्मा ८७२ जना पक्राउ परेको गृहमन्त्रालयको तथ्याङ्क छ । पक्राउ परेकाहरू विरुद्ध ३९५ थान मुद्दा दर्ता भएको छ । तर गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयहरूमा थुनामा रहेकाहरूलाई ‘हाजिर जमानी’मा रिहा गर्न सर्कुलर गरेको हो । गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार आरोपीहरूलाई छाड्न ‘गोप्य सर्कुलर’ जारी गरिएको छ ।
मङ्सिर २४ मा जेनजी अगुवा र सरकारको बिचमा १० बुँदै सम्झौता भएको थियो । सम्झौताको २ नम्बर बुँदामा आन्दोलनमा सहभागी भएकै कारण अनुसन्धान र अभियोजन गरिएका व्यक्तिबारे उजुरी लिएर उच्च स्तरीय जाँचबुझ आयोगले स्क्रिनिङ गर्ने उल्लेख गरिएको थियो ।
स्क्रिनिङ गर्दा कुनै व्यक्ति ज्यान मार्ने कसुर वा संगठित आपराधिक गिरोहमा संलग्न नदेखिएमा जाँचबुझ आयोगको प्रतिवेदनबमोजिम हुने गरी तत्काल थुनामुक्त गर्न र निजविरुद्ध दायर भएका मुद्दा फिर्ता लिन नेपाल सरकारलाई सिफारिस गर्ने सम्झौतामा उल्लेख छ । जसका कारण पछिल्लो समय सो सर्कुलर जारि भएको हो यद्यपि नवलपुर प्रहरीले भने गृहबाट मौखिक वा लिखित त्यस्तो कुनै पनि सर्कुलर जारि नभएको बताएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांकअनुसार, यस्ता विध्वंसकारी गतिविधिमा संलग्न अहिले सम्म ११ जनालाई पक्राउ गरिएको छ, जसमध्ये हुप्सेकोटको प्रहरी चौकिमा तोडफोड र आगजनि गर्नेहरु ७ जना सबै धरौटि रकम बुझाएर रिहा भएका छन् भने गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेको घर तोडफोड, आगजनि र लुटपाटमा संलग्न ६ जना विरुद्ध जिल्ला अदालत नवलपुरमा मुद्धा दायर भएको छ । जिल्लामा अन्य धेरै व्यक्तिहरुको खोजि जारिरहेको प्रहरीले बताएको छ ।
तर प्रश्न उठ्छ – यी पक्राउहरूले आन्दोलनको मूल मर्मलाई न्याय दिन्छ कि भ्रष्ट सत्ताको बदला लिन्छ ? जेन्जि आन्दोलन पश्चात्, समग्र जिल्लाको परिस्थिति नियाल्दा, केहि सरकारी कार्यालय र व्यक्तिका भवन जल्नु बाहेक अर्को उपलब्धि नदेखिएको विष्लेशकहरुले बताएका छन् ।