दीपेन्द्र रेग्मी, पुष ४, कावासोती ।
नवलपरासि(वर्दघाट सुस्ता पूर्व) जिल्लाको समथर भुभाग, खेत–खलियान र सानो बस्तीको बीचमा बसेको एउटा सामान्य थारु परिवारमा रातन्त्रात्मक शासन रहेको समयमा ओम महतोको जन्म भयो ।
घरको आर्थिक अवस्था बलियो थिएन, तर बाबुआमाको मनमा एउटा अटुट विश्वास थियो—छोरा पढ्नुपर्छ, पढेर केही बन्नुपर्छ ।
गाउँमै उच्च शिक्षाका लागि राम्रो स्कुल थिएन । प्राथमिक तह त जसोतसो गाउँमै पढे, तर त्यसपछि हरेक वर्ष चुनौती थपिँदै गयो । किताबभन्दा बढी उनी अभावसँग लड्दै हुर्किए । बिहान खेतको काम, दिउँसो पढाइ, बेलुका घरधन्दा—यही चक्रमा उनको बाल्यकाल बित्यो ।
गाउँमा पढाइको सीमितता देखेर आफन्तहरूले शहर जान सुझाए । आमाबाबुका आँखा रसाए, तर भविष्यका लागि कठोर निर्णय गर्नैपर्ने थियो । शहरका आफन्तको साथ र सहयोगमा ओम महतोले उच्च शिक्षा लिन थाले । शहरको जीवन सजिलो थिएन । गाउँको सरलता, खुला आकाश र आफ्नापन छोडेर भिडभाड, खर्चिलो जीवन र प्रतिस्पर्धाको बीचमा आफूलाई टिकाइराख्नु सजिलो थिएन । तर उनीसँग एउटै बलियो हतियार थियो—अठोट ।
उनीभित्र अन्याय देख्दा बोल्नुपर्ने, कमजोरका पक्षमा उभिनुपर्ने भावना सानैदेखि थियो । यही भावनाले उनलाई कानुनतर्फ डो¥यायो । “म वकिल बन्छु,” भन्ने सपना देखेर उनले कानुन पढ्न थाले । पढाइसँगै आर्थिक बोझ पनि बढ्दै गयो । कहिले ट्युसन, कहिले सानो काम, कहिले आफन्तको सहयोग—जसरी पनि पढाइलाई निरन्तरता दिए । वर्षौँको मिहिनेतपछि उनी अभिवक्ता बने । त्यो दिन परिवारका लागि गर्वको क्षण थियो ।
तर समय बित्दै जाँदा ओम महतोको मनमा असन्तोष पलाउन थाल्यो । उनले समाजकालागि केहि फरक गर्न चाहिरेका थिए तर के गर्दा ठ्याक्कै समाजसँग जोडिन्छु भन्ने अन्यौलता पनि थियो ।
पेशागत रूपमा उनी अघि बढ्न सक्थे । अभिवक्ताबाट अधिवक्ता हुँदै राम्रो कमाईको श्रोत पनि बनाउन सक्थे । पैसा कमाउने बाटा धेरै थिए । तर उनको मन त्यहाँ अडिन सकेन । अदालतको बहस, फाइलको चाङ र शुल्कको हिसाबकिताबबीच उनलाई एउटा प्रश्नले घच्घच्याइरह्यो—“के म यही गर्न जन्मिएको हुँ ?”
गाउँ सम्झँदा उनलाई एउटै कुरा बढी याद आउँथ्यो—स्वास्थ्यको अभाव । सामान्य ज्वरो, झाडापखाला, चोटपटक हुँदा पनि गाउँलेहरू घण्टौँ टाढा जान बाध्य हुन्थे । धेरैले समयमै उपचार नपाएर ज्यान गुमाएका थिए । ती अनुहारहरू, ती पीडाहरू उनको मनमा गढेर बसेका थिए । उनले महसुस गरे—कानुनले न्याय दिलाउँछ, तर स्वास्थ्यले जीवन बचाउँछ । समाजसँग प्रत्यक्ष जोडिएर आफ्नै मानिसलाई सेवा दिनु छ भने स्वास्थ्य क्षेत्र नै सही बाटो हो ।
यही सोचले उनले ठूलो निर्णय गरे । वकिल पेशा छोडेर स्वास्थ्य क्षेत्रमा लाग्ने । तर सपना देख्नु सजिलो थियो, पूरा गर्नु कठिन । एमबिबिएस पढ्ने चाहना थियो, तर परिवारको आर्थिक अवस्थाले त्यो सम्भव देखिएन । लाखौँ खर्च लाग्ने अध्ययन उनीहरूको हैसियतभन्दा बाहिर थियो । धेरैले भने, “यत्रो पढाइ गरेर वकिल बनेको मान्छे, फेरि किन?” कसैले हाँसे, कसैले निराशा बढाए तर ओम महतो डगमगाएनन् ।
परिस्थितिलाई स्वीकार गर्दै उनले व्यावहारिक बाटो रोजे । सामान्य सिएमएको अध्ययन गरे । पढाइ सानो होला, तर उद्देश्य ठूलो थियो । उनले आफूलाई सम्झाए—डिग्रीभन्दा ठूलो कुरा सेवा हो । सिएमए अध्ययन सकिँदा उनी अझै सिक्न चाहन्थे । एमबिबिएस उत्तीर्ण डाक्टरहरूसँग सम्पर्क बढाए, उनीहरूबाट व्यवहारिक ज्ञान, अनुभव र मार्गदर्शन लिन थाले । सिक्ने भोकले उनलाई दिनरात अघि बढायो ।
अन्ततः उनले आफ्नै गाउँ नजिकैको डण्डा बजारमा सानो स्वास्थ्य क्लिनिक खोल्ने निर्णय गरे । त्यो दिन क्लिनिकको साइनबोर्ड टाँग्दा उनको मन काँपिरहेको थियो—डर, आशा र जिम्मेवारी सबै मिसिएको । सुरुका दिन सजिला थिएनन् । औषधि सीमित, उपकरण सामान्य, बिरामीको विश्वास जित्न समय लाग्यो । तर उनी हरेक बिरामीलाई आफ्नै परिवारको सदस्यझैँ व्यवहार गर्थे । पैसा नभएकालाई उनले कहिल्यै फर्काएनन् । “पहिला उपचार, पछि जे हुन्छ हेरौँला,” भन्ने उनको वाक्य गाउँभर फैलियो ।
समयसँगै क्लिनिक केवल उपचार गर्ने ठाउँ रहेन, भरोसाको केन्द्र बन्यो । रातको दुई बजे सुत्केरी व्यथा, साँझपख दुर्घटनामा परेका, ज्वरोले थला परेका बालबालिका—सबैका लागि ओम महतो पहिलो सम्झना बन्न थाले । उनले आवश्यक परे डाक्टर बोलाए, रिफर गरे, आफैँ सँगसँगै उभिए । उनका लागि बिरामीको आँसु पुछ्नु नै सबैभन्दा ठूलो पारिश्रमिक थियो ।
आजसम्म उनले हजारौँलाई स्वस्थ भएर बाँच्न मद्दत गरेका छन्। धेरै आमाहरूले भन्छन्, “हाम्रो बच्चा आज बाँच्नुमा उहाँकै हात छ ।” वृद्धहरूले आशीर्वाद दिन्छन्, युवाहरू प्रेरणा मान्छन् । उनी अझै आफूलाई ठूलो मान्दैनन्। भन्छन्, “म डाक्टर हैन, म सेवा गर्ने मान्छे हुँ ।”
ओम महतोको कथा केवल पेशा परिवर्तनको कथा होइन, यो उद्देश्यको कथा हो । पैसा, प्रतिष्ठा र सुविधाभन्दा माथि उठेर समाजको पीडालाई आफ्नो पीडा बनाउने एउटा साधारण मानिसको असाधारण यात्रा हो । नवलपुरको एउटा सामान्य थारु परिवारबाट निस्किएको महतोको कथा आज धेरै युवाका लागि प्रश्न पनि हो र उत्तर पनि—“तिमी केका लागि बाँचिरहेका छौ ?”