दीपेन्द्र रेग्मी, पुष १६, कावासोती ।
आगामी २१ फागुनमा हुने निर्वाचनमा ६४ वटा दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगका अनुसार ५४ दलले आ–आफ्नो निर्वाचन चिह्नमा र १० दलले चारवटा एकल निर्वाचन चिह्नमा निर्वाचनमा भाग लिने भएका छन् । समग्रमा ६४ दलले ५८ वटा निर्वाचन चिह्नमा समानुपातिकतर्फ प्रतिस्पर्धा गर्ने भएका हुन् । नेपालको संविधानअनुसार पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिकतर्फ ११० जना निर्वाचन हुने व्यवस्था छ । आयोगले निर्वाचनको तयारी स्वरुप सात वटै प्रदेशमा निर्वाचन अधिकृत तोकिसकेको छ भने निर्वाचन कार्यालय पनि खोलिसकेको छ । ०७९ को निर्वाचनलाई आधार बनाएर समानुपातिकतर्फको मतपत्र बन्ने आयोगले जनाएको छ । जसअनुसार एमाले पहिलो, कांग्रेस दोस्रो, नेपाल कम्युनिस्ट पार्टी तेस्रो र रास्वपाको चुनाव चिह्न चौथो नम्बरमा रहनेछन् ।
यसैविच,

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नवलपुरबाट १ जना पर्दा चितवनबाट भने कोही पनि परेनन् । यसअघि चितवनबाट समानुपातिक तर्फबाट मात्रै चितवन कांग्रेसका दुई जना प्रतिनिधिसभामा सांसद थिए । प्रतिनिधिसभाको २०७४ र २०७९ को दुवै निर्वाचनमा चितवनमा प्रत्यक्षतर्फ कांग्रेसले जित्न सकेको थिएन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनका मात्रै २२ जनालाई समानुपातिक सुचिमा समावेश गर्दा कांग्रेसको सूचीमा भने चितवन शून्य देखिएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताउनुभयो ।
कांग्रेसले नवलपुरबाट १ जना मात्र सितादेवी देवकोटालाई समानुपातिक उम्मेद्वारको बन्द सुचिमा समावेश गरेको हो । त्यस्तै पश्चिम नवलपरासिबाट सुनिता कुमारी सुवेदि श्रेष्ठ र सरिता घिमिरे गरि दुईजनाको नाम समानुपातिक सुचिमा परेका छन् ।
यता नेकपा एमालेले समानुपातिक उम्मेद्वार सिफारिस गर्दै नवलपुर जिल्लाबाट ४० जनाको नाम सिफारिस गरेको भएपनि केन्द्रिय कमिटिले निर्वाचन आयोगमा दर्ता गराएको उम्मेद्वारहरुको नाम सार्वजनिक नगरेकोले जिल्लाबाट कोको परे वा परेनन् ? भन्ने मै अन्यौलता रहेको एमाले नवलपुरले बताएको छ । आज विहान संक्षिप्त कुराकानि गर्दै एमाले नवलपुरका जिल्ला सचिव भिम कंडेललेः समानुपातिक उम्मेद्वारका आंकाक्षिहरु नवलपुर जिल्लाबाट ४० जनाको नाम पठाईएको भएपनि केन्द्रको सुचि सार्वजनिक नहुँदा अन्यौलता सिर्जना भएको रेडियो कावासोतीलाई बताउनुभएको हो । उहाले निर्वाचन आयोगमा बुझाएको नाम सच्याउने समयाअवधि अझै पनि रहेकोले दर्ता भैसकेको नामावलिहरु पनि सच्चिएपछि मात्रै सार्वजनिक गर्ने योजना रहेको हुनसक्ने बताउनुभयो ।

यता, रास्वपाले गण्डकी प्रदेशका ११ जिल्लाबाट १० जनाको नाम समानुपातिक उम्मेद्वारको सूचिमा समेट्दा नवलपुरबाट भने कसैको नाम परेन । रास्वपाका गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठीका अनुसार मुस्ताङका जिल्ला सभापति सुरेश गुरुङ, स्याङ्जाका भूमिबहादुर गुरुङ, तनहुँका मनकाजी श्रेष्ठ, डा रुपक विक घिमिरे र किशोर गन्धर्व, गोरखाकी एलिजा गुरुङ, कास्कीकी विष्णुकुमारी गुरुङ र समिउन मुस्लिम, म्याग्दीका दिपककुमार बोगटी, बाग्लुङका कलाकार प्रकाश सपुतलाई समानुपातिक उम्मेदवारको सूचीमा समेटेको छ । गण्डकी प्रदेशमा रास्वपाको बलियो संगठन भएको मानिने नवलपुरबाट भने विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत उम्मेद्वारी दिएपनि केन्द्रबाट अनुमोदित समानुपातिक सूचीमा कोही पनि नअटाएका हुन् ।
प्रमुख राजनीतिक दलहरूले तयार गरेको समानुपातिक उम्मेदवारको बन्दसूची हेर्दा स्थापित र पहुँचवाला व्यक्तिकै वर्चस्व दोहोरिएको राजनितिक विष्लेसकहरुले बताएका छन् । यसपालि नयाँलाई अवसर दिने भनेर सबैजसो दलका प्रमुख नेताहरुले भाषणवाजि गरेको भएपनि पनि पटक–पटक मन्त्री, सांसद भइसकेका नेता तथा तिनका आफन्तलाई दलहरूले समानुपातिकतर्फ उम्मेदवार बनाएका छन् । यस मामलामा आँफुलाई लोकतन्त्रको प्रमुख पहरेदार दावि गर्ने नेपाली कांग्रेस अझ अग्र भागमा देखिएको छ । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा पञ्चायतकालदेखि बारम्बार मन्त्री र सांसद भइसकेका अर्जुननरसिंह केसीदेखि राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलसम्मको नाम समेटिएको छ । कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पूर्वमन्त्री रोमी गौचन थकाली, भीष्म आङदम्बे र भीमसेनदास प्रधानलगायतका नाम पनि अटाएका छन्। यस्तै, पूर्वमन्त्री बलबहादुर केसीकी श्रीमती रीना उप्रेतीदेखि उनकी बहिनी गोमा केसीसम्मको नाम पनि सूचीमा समावेश गरिएको छ । समानुपातिक सुची तयार पार्ने क्रममा विवाद भएपछि कांग्रेसले संस्थापन पक्ष र इतरपक्षबीच ६०/४० कोभागबण्डा लगाएर १ सय १० जनाको नाम निर्वाचन आयोगमा बुझाएको थियो ।
त्यस्तै, नेकपा एमालेको सूचीमा ०६४ मा रक्षामन्त्री र ०७४ मा गृहमन्त्री भएका एमाले उपाध्यक्ष रामबहादुर थापा आदिवासी/जनजाति ‘क्लस्टर’ बाट पहिलो नम्बरमा समानुपातिक उम्मेदवार रहनुभएको छ  । एमालेका पूर्वउपाध्यक्ष गुरु बराललाई खसआर्य ‘क्लस्टर’ को एक नम्बरमा उम्मेदवार बनाइएको छ  । उहाँ एमालेको हालै सम्पन्न ११ औं महाधिवेशनमा उपाध्यक्षमा पराजित हुनुभएको थियो थियो  । महिला ‘क्लस्टर’ बाट एक नम्बरमा पूर्वमन्त्री समेत रहनुभएकी पद्मा अर्यालको नाम छ  । एमालेले जेन–जी युवा नीता घतानीलाई पनि समानुपातिकको उम्मेदवार बनाएको बताएको छ । एमाले निर्वाचन विभाग प्रमुख नीरज आचार्यले अनुभव एवं योगदानलाई हेरेर र युवा समेटेर समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको दाबि गर्नुभएको छ । तर संस्थापन पक्षले ‘मनोमानी’ रूपमा बन्दसूची तयार गरेको भन्दै उपाध्यक्ष गोकर्ण बिष्ट र उपमहासचिव योगेश भट्टराईको समूहले असन्तुष्टि जनाएको छ । विगतमा पटक–पटक अवसर पाएका नेताहरूलाई समानुपातिक सूचीमा राखिएकामा उनीहरूले असन्तुष्टि जनाएका हुन् ।
उपेक्षित, उत्पीडित वर्ग, समुदाय तथा सीमान्तकृत समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने समानुपातिक निर्वाचन प्रणालीको मर्मविपरीत दलहरूले पहुँचवालालाई उम्मेदवार बनाएका छन् । यद्यपि दलहरूले समानुपातिकमा केही नयाँ अनुहारलाई पनि अघि सारेका छन्  । तर अग्रपंक्तिमा प्रायः पहुँचवालालाई राखेको भन्दै चारैतर्फ आलोचना सुरु भएको छ ।