एन सञ्चार, १७ पुषः
१. सभापति देउवाले गरे १० नेतालाई केन्द्रीय सदस्य मनोनित
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेका छन्।
सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्।
कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा ९१०० बमोजिम उक्त मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
२.सहकारीमा थुप्रिएको अर्बौं रुपैयाँलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सहकारीमा थुप्रिएको अर्बौं रुपैयाँलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।
शनिवार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटमा भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको नवनिर्मित भवनको उद््घाटन गर्दै मुख्यमन्त्री पोखरेलले देशका सहकारीले ऋण लगाएर ब्याज मात्रै खाने परिपार्टीको अन्त्य गर्नुपर्ने बताए ।
‘हाम्रो देशका विभिन्न सहकारीहरूले अर्बौं रुपैयाँ पैसा थुपारेका छन्,’ मुख्यमन्त्री पोखरेलले भने, ‘तर हामीले विदेशीसँग सहयोगको याचना गर्नुपर्ने अवस्था आएको छ, अब सहकारी संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने समय भएको छ ।’
उनले युद्धको प्रत्येक मोर्चामा आफ्नो बहादुरी प्रदर्शन गरेर विश्वमा नै नेपाललाई चिनाउने काम गरेकाप्रति सर्हाना गर्दै मुख्यमन्त्री पोखरेलले भूपू सैनिकलाई धन्यवाद व्यक्त गरे । सैनिकको ज्ञान, सीप र उनीहरूको अनुभवलाई प्रयोग गरेर सरकारले नयाँ नेपाल निर्माणमा जुट्ने मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।
देशका हरेक आन्दोलन तथा परिवर्तनमा भूतपूर्व सैनिकको महत्त्वपूर्ण भूमिका रहेको मुख्यमन्त्री पोखरेलले बताए । देशमा सूचना र प्रविधि तथा आधुनिकीकरण भित्र्याउन भूतपूर्व सैनिकको ठूलो देन रहेको पोखरेलको भनाइ छ ।
कार्यक्रममा भूपू सैनिक संस्थाको भवन निर्माण गर्न चन्दा प्रदान गर्ने ३३९ जना चन्दादातालाई मुख्यमन्त्री पोखरेल सहितका व्यक्तिहरूले सम्मान गरेका थिए ।
३. ए डिभिजन लिगमा आज तीन खेल
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार तीन खेल हुँदैछ । सातौँ चरणअन्तर्गत दोस्रो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ भने पोखरा रंगशालामा एक खेल हुनेछ ।
दिउँसो १ बजे दशरथ रंगशालामा हुने ललितपुर डर्बीमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् ।
थ्री स्टार क्लब लगातारको जितविहिन यात्रामा पूर्णविराम लगाउ चाहन्छ । थ्री स्टार ६ खेलमा सात अंकसहित आठौं स्थानमा छ । थ्री स्टार जावलाखेलविरुद्ध तीन अंक जोड्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ ।
थ्री स्टार पछिल्लो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
लिगमा लगातार चार खेल गुमाए पनि चौथो खेलबाट अंक खाता खोलेको जावलाखेल आफनो उत्कृष्ट लय कायम राख्न चाहन्छ ।
पाँचौ चरणमा च्यासल युथ क्लबलाई हराएको जावलाखेलले छैटौं चरणमा सातदोबाटो युथ क्लबलाई हराएको थियो ।
दिउसो २ बजे मनाङ मर्स्याङदी क्लबले घरेलु मैदानको रुपमा रहेको पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्दैछ ।
६ खेलमा १३ अंकसहित दोस्रो स्थानमा बसेको मनाङ शीर्ष स्थानमा बस्दै लिग च्याम्पियनको हैसियतमा एएफसी कप छनोट खेल्ने सम्भावना जीवित राख्न चाहन्छ ।
छैटौ चरणमा मच्छिन्द्र फुटबल क्लबलाई नतिजा सुम्पिएपछि दोस्रो स्थानमा झरेको मनाङलाई ब्रिगेडमाथि सहज जित मात्र पनि एएफसी कप छनोट खेल्नका लागि पर्याप्त हुँदैन । १४ अंकका साथ शीर्ष स्थानमा बसेको मच्छिन्द्रले आइतबार नेपाल पुलिस क्लबविरुद्ध अंक बाँडेको अथवा हारेको कामना गर्नुपर्नेछ ।
अपरान्ह पौने ५ बजे दशरथ रंगशालामा हुने दिनको अन्तिम खेलमा संकटा क्लब च्यासलको सामना गर्दा अपराजित यात्रा निरन्तरता दिने लक्ष्यमा हुनेछ ।
संकटा ६ खेलमा १२ अंकसहित तेस्रो स्थानमा छ । च्यासलमाथिको जितले संकटा दोस्रो स्थानमा उक्लिनेछ ।
१३औं स्थानको च्यासल भने संकटाविरुद्ध तीन अंक जोड्दै रेलिगेशन क्षेत्रबाट माथि उठ्ने लक्ष्यमा हुनेछ ।
४. थप ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा तीन सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २० हजार नौ सय ५९ जनाको नमूना परीक्षण गर्दा एक दशमलव ८२ प्रतिशत अर्थात तीन सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज पुष्टि भएको संख्या दैनिक विवरण अनुसार गएको कात्तिक २६ गतेपछिको सबैभन्दा धेरै हो । यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५२ जना निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ लाख १२ हजार दुई सय १० जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएन ।
अहिले नेपालमा चार हजार नौ सय ६९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ५९ हजार एक सय १२ जनाले कोरोना विरुद्धको खोप लगाएको छन् । यो सहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड तीन लाख ८४ हजार आठ सय ५१ जना पुगेको छ । एक करोड ४० लाख ३६ हजार ६ सय ६१ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।
५. दक्षिण कोरियामा बिरालोका कारण १०० बढी घरमा आगलागी
दक्षिण कोरियामा देशभर भएका १०० बढी आगलागीका घटना बिरालोका कारण सुरु भएको पत्ता लागेपछि घरपालुवा जीव राख्नेहरूलाई सजग रहन चेतावनी दिइएको छ ।
सोउल मेट्रोपोलिटनको आगजनी तथा प्रकोप विभागका अनुसार बिरालोकै कारण यस वर्ष १०७ घरमा आगलागी सुरु भएको हो । बिरालोले विद्युतीय स्टोभहरू स्वीच अन गरेर आगलागी सुरु गर्ने गरेको विभागको भनाइ छ ।
बिरालोहरूले संवेदनशील टच बटनमाथि उफ्रिएर स्वीच अन गर्दिन सक्छन् । त्यसो गर्दा उपकरण ‘ओभरहिट’ भई आगो लाग्न सुरु हुन्छ ।
ती सबै आगजनीमा थुप्रै मानिस घाइते भएका छन् । तीमध्ये आधाभन्दा बढी घटनामा घर मालिक बाहिर गएका बेला यस्तो दुर्घटना हुने गरेको पाइएको छ ।
विभागका अधिकारी छङ ग्यो–छल भन्छन्, “बिरालोले सुरु गरेको आगजनी निरन्तर बढिरहेको अवस्था छ । त्यसैले हामी घरपालुवा जीवजन्तु पालेका सबैलाई आफ्नो ‘पेट’प्रति अतिरिक्त ध्यान दिन सुझाव दिन्छौँ । किनकि, घरमा कोही नभएका बेला आगलागी व्यापक रूपमा फैलने खतरा हुन्छ ।”
त्यस्तै, विभागले छिट्टै आगो लाग्ने वस्तुहरू जस्तै स् पेपर टावललगायतलाई स्टोभबाट सधैँ टाढा राख्न पनि भनेको छ । त्यस्तै, विद्युतीय स्टोभको प्रयोग गर्दा अटोमेटिक लक फंसन राख्न भनेको छ ।
विशेषगरी राजधानी सोउलमा आगजनीका घटना एकदमै बढिरहेको बताइएको छ । सन् २०१९ मा मात्र जनवरीदेखि सेप्टेम्बरमा ३१ घरेलु आगजनीमध्ये अधिकांश बिरालोका कारण सुरु भएको पाइएको थियो ।
वास्तवमा यो समस्या दक्षिण कोरियामा मात्र सीमित नभएर अरू मुलुकहरूमा समेत बढ्दै गएको पाइएको छ । अमेरिकन ह्युमेन एसोसिएसनका अनुसार अमेरिकामा मात्र हरेक वर्ष एक हजार बढी घर आगजनीका घटनामा घरपालुवा जीवजन्तु नै जिम्मेवार रहेका छन् ।
६. माओवादी महाधिवेशन : आइतबार १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम स्थगित भएको छ । आइतबार १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको हो ।
शनिबार र आइतबारका लागि निर्वाचन कार्यक्रम तोकिएकामा ती सबै कार्यक्रम स्थगित गरिएको एक नेताले बताए । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शनिबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेका थिए ।
निर्वाचन कार्यक्रम अनुसार आज उम्मेदवारहरूको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने र भोलि मतदान गर्ने कार्यतालिका रहेको थियो ।
७. पोसाक दिवसलाई आधिकारिकता दिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजान्छु : मन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले ‘पोसाक दिवस’ लाई आधिकारिकता दिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताएका छन् ।
पोसाक दिवसको अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले शनिबार काठमाडौंको पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले पोसाक दिवसलाई आधिकारिकता दिन प्रधानमन्त्रीसँग छलफल गर्ने र मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताएका हुन् ।
मन्त्रिपरिषद्बाट पारित गराएर मनाउन पाएको भए अझै भव्य र सभ्य हुने भन्दै उनले अर्को वर्ष राष्ट्रिय दिवस मनाउने तयारी गर्न आग्रह गरे । पोसाक दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन यस वर्ष चुकेको भए पनि अर्को वर्ष यस्तो नहुने उनको भनाइ छ ।
कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको मौलिक तथा ऐतिहासिक संस्कृतिको रक्षा गर्न सबै तत्पर हुनुपर्ने धारणा राखे ।
कार्यक्रमका विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो ।
८. अझै गर्न सकिएन हिउँमा फसेका बाबुछोराको उद्धार
चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको अझै उद्धार हुनसकेको छैन । उद्धारका लागि आज गएको निजी कम्पनीको एक हेलिकोप्टर उनीहरू रहेको स्थान पत्ता नलागेपछि उद्धार नगरी फर्किएको छ ।
हिउँमा फसेको क्षेत्रमा दुई पटकसम्म हेलिकोप्टर गएको थियो । पहिलोपटक पुग्दा ठाउँ पत्ता नलागेको र दोस्रोपटक स्थानीयवासीलाई लिएर जाँदा मौसममा खराबी आएकाले उद्धार गर्न नसकिएको पापुङका वडाध्यक्ष डण्डु शेर्पाले बताए ।
उद्धारका लागि भोलि पुनः हेलिकोप्टर लैजाने तयारी भएको शेर्पाको भनाइ छ । “हामी दुई पटकसम्म सो क्षेत्रमा पुग्यौँ, पहिलोपटक ठाउँ पत्ता लागेन, दोस्रोपटक जाँदा कुहिरो लाग्यो, अब भोलि पुनः जान्छौँ”, शेर्पाले भने । हिउँमा फसेकाहरू बेलाबेलामा फोन सम्पर्कमै रहने गरेकाले ज्यान जोखिममा नहोला भन्ने अनुमान रहेको शेर्पाको भनाइ छ ।
मिक्वाखोला घर भएका अन्दाजी ५५ वर्षका लाक्पाटासी शेर्पा र उहाँका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका हुन् । चौँरीगोठ सार्ने क्रममा उनीहरू हिमपहिरामा परेका थिए । फोन सम्पर्कका क्रममा उनीहरूले आफूहरू एउटा ओढारमा आड लिएर बसेको बताउने गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ ।
९. देशमा भएका सबै उद्योगधन्दा कांग्रेस सरकारले बेचेको होः दुर्गा प्रसाईँ
नेकपा (एमाले) का उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईँले देशमा भएका सबै उद्योगधन्दा, कलकारखाना सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको सरकारले बेचेको आरोप लगाएका छन्।
मेडिकल कलेज सञ्चालकसमेत रहेका उपप्रमुख प्रसाईँले नेपाली कांग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको बताएका हुन्। शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुलुकका उद्योगधन्दा सबै बेचिएपछि नेपाली युवाहरु रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था आएको तर्कसमेत गरे ।
उपप्रमुख प्रसाईले भने, ‘२०४६ सालपछि २०६० सालसम्म नेपाली कांग्रेसको अधिकांश समय सत्तारोहण भयो। त्यो सत्तारोहणको पालामा देशमा भएका उद्योगधन्दा, कलकारखाना सबै बेचिए । तपाईंहरुलाई म यो स्मरण गराउन चाहन्छु । जव नेपाली कांग्रेसको हातमा राजनीतिक सत्ता गइसकेपछि उद्योगधन्दा, कलकारखाना बेचिएपछि युवाहरुको यो देशमा रोजगारी बन्द भयो । र हाम्रा युवाहरु विदेश पलायन हुन बाध्य भए । हरियो पार्सपोर्टको खेती मौलायो । डाटाले भन्छ – अहिले दैनिक ३ हजार युवाहरु विदेश जाँदैछन् बैदेशिक रोजगारीका लागि।’
उपप्रमुख प्रसाईँले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको कार्यकारी अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको दावीसमेत गरे। ओलीले संविधानसम्मत ढंगले प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ थियो।

