काठमाडौं । भारत भ्रमणमा क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले दुईवटा नदी सित्तैमा सुम्पिएको एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन ।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले भारत भ्रमण क्रममा देशहितको पक्षमा एक शब्द पनि बोल्न नसकेको समेत अरोप लगाएका हुन । प्रधानमन्त्री दाहालले फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको ओलीको टिप्पणी छ ।
भारतसँग आफ्नो देशको पिरमर्कासमेत प्रधानमन्त्री दाहालले राख्न नसकेको ओलीको आरोप छ । शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा ओलीले सरकारलाई नालायकको संज्ञा दिँदै देशकै लागि दूर्भाग्य भएको टिप्पणी गरेका हुन । उन्ले आम नागरिकको पक्षमा कुनै काम गर्न नसकेको भन्दै सरकारको आलोचनासमेत गरे ।
वर्तमान सरकारसँग विकासको कुनै पनि योजना नभएको जिकीर गर्दै अध्यक्ष ओलीले यस्तो सरकार बनेपछि मुलुकमा ग्रहण लाग्नु स्वभाविक भएको बताए । उन्ले वर्तमान सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई विरोध गरेपनि कमजोर बनाउन नसक्ने दाबी गरे।
ओलीले कर्मचारीलाई मुस्कानसहितको जनसेवाका काममा जुट्न आग्रह गरे । उन्ले जनसेवाको काममा लागेर मात्रै देशलाई अघि बढाउन सकिने स्मरण गराए ।