एन सन्चार, स्याङ्जा २० असार । स्याङ्जाको अर्जुनचौपारि गाउँपालिकाले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन सुरु गरेको छ ।
पालिकाको रोजगार शाखाबाट श्रम स्वीकृति दिने तथा सहजिकरण गरिने भएको छ।
यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाट पनि प्रदान गर्न सकिने भएपछि स्याङ्जामा पनि केही स्थानीय तहले स्वीकृति दिन थालेका हुन् ।
सरकारको गत चैत १६ गतेको निर्णय अनुसार वैशाख १ गतेदेखि लागू हुने गरी स्थानीय तहले नै रोजगार शाखामार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा अर्जुनचौपारि गाउँपालिकाले श्रम स्वीकृति दिन थालेको अर्जुनचौपारि गाउँपालिका प्रमुख सेवक प्रकाश तिवारीले जानकारी दिए। वैदेशिक रोजगारीलाई व्यवस्थित र मार्यादित बनाउन स्थानीय तहबाट श्रम स्वीकृति दिने कार्य महत्वपूर्ण रहेको उनको भनाइ छ ।
अर्जुनचौपारि गाउँपालिकाबाट श्रम स्वीकृति लिने पहिलो व्यक्ति वडा नं १ का ख्याम बहादुर दमै रहेका छन् । पालिकामै श्रम स्वीकृति पाएपछि निकै सहजता भएको उनले बताए । बिना कुनै झण्झट कम खर्चमा घरदैलोबाटै काम भएपछि खुसी लागेको उनको भनाइ छ।

