काठमाडौं । बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका अखिल क्रान्तिकारीका महासचिव तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन जेल चलान भएका छन् ।
जिल्ला अदालत रुपन्देहीमा आज शुक्रवार भएको थुनछेक बहसपछि पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो तर पुनले उक्त रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार चलान भएका हुन् ।
न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनको छोरा दीपेश कुमार पुनसँग ४ लाख, नविन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग पनि २ लाख धरौटी माग गरेको थियो ।
सुप्रिम सहकारीमा रकम वचत गर्ने १ हजार ८ सय ३१ जना बचतकर्ताहरुले आफूहरुको रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए । साथै उक्त सहकारीले करिब एक अर्ब रुपैयाँ अपचलन गरेको वचतकर्ताको दाबी छ।

