१ साउन, जुम्ला । जुम्लाका १४३ जना किसानले गोठालो भत्ता पाएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा २६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका किसानको अनुगमन गरेर कार्यालयले १४३ किसानलाई भत्ता दिइएको हो ।
स्थलगत रिपोर्ट र मूल्यांकनपछि मात्र १४३ जनाले गोठालो भत्ता पाएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिए । ‘एक वर्षभरि भेडा हेर्ने जाँदा आवश्यक सामान किन्न केही सहज होस् भनेर प्रोत्साहन स्वरूप गोठालो भत्ता दिने गरिएको छ’ उनले भने ।
चट्याङले भेडा मरेका किसानलाई राहत वितरण
मरेका १३० वटा भेडाका धनी पाँच किसानलाई पाँच लाख २० हजार रुपैयाँ राहत वितरण गरिएको हो । कर्णाली प्रदेशको भूमि तथा कृषि सहकारी मन्त्रालय सचिव डा. लेखराज दाहाल जुम्ला पुगेर किसानलाई चेकमार्फत रकम हस्तान्तरण गरे ।
पीडित किसानमध्ये धर्मसिंह रिउले एक लाख ४४ हजार, सुक रिउले एक लाख ७६ हजार, मानबहादुर रोकायाले ८० हजार, शंकर नेपालीले ४० हजार र जोरा रोकायाले ८० हजार रुपैयाँ पाएका छन् ।
पशु अस्पताल तथा पशुुसेवा कार्यालयका अनुसार पातारासी गाउँपालिका–४ स्थित बागजाले पाटनमा असार १७ गते चट्याङ पर्दा १३० भेडा मर्नुका साथै ३०० वटा वेपत्ता भएका थिए ।

