२ साउन, वीरगञ्ज । गाउँ सभा स्थगित भइसकेपछि पर्साको कालिकामाई गाउँपालिकामा असार ३१ गते शुक्रबार झडप भयो । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झडप हुँदा जसपा तर्फका कालिकामाई वडा नं ३ का वडा अध्यक्ष सञ्जय कुमार पटेलसहित ५ जना घाइते भए ।
नेपाली कांग्रेस पक्षले पनि आफ्नो तर्फका कृष्ण ठाकुर, अमरदेव चौरसिया, लाल किशोर साह, अजय साह लगायत घाइते भएको दावी गरेको छ । तर जिल्ला प्रहरी कार्यालय पर्साले भने झडपमा वडा नं ४ का वडा अध्यक्ष सञ्जय सहित ५ जना सामान्य घाइते भएको जनाएको छ । जसमध्ये ३ जना उपचार पछि घर फर्किसकेका छन् भने जसपाका मोहम्मद एकबाल मियाँ र कांग्रेसका ओम प्रकाश चौरसिया नारायणी अस्पतालमा उपचाररत रहेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल बताउँछन् ।
टोल टोलमा झडप हुँदा केही बाइक घर र पसलहरुमा समेत तोडफोड गरिएको स्थानीय बताउँछन् । कालिकामाई गाउँपालिका-५ बलुवाटोलमा किराना पसलमा तोडफोड गर्दै गर्दा प्रहरी टोली पुगेपछि कांग्रेस कार्यकर्ता भागेका थिए । ठाउँ ठाउँमा पानी तान्ने मोटर झिकेर फालिएको र कुनै दलमा आवद्ध नभएका सर्वसाधारणको घरमा समेत क्षति पुर्याइएको स्थानीयको भनाइ छ ।

