
२३ साउन, काठमाडौं । सप्तरी-२ को चुनावी भिडन्तको परिदृश्य रोचक बन्ने सम्भावना बढेर गएको छ । तीनवटा मधेस आन्दोलन हाँकेका उपेन्द्र यादवलाई चुनौती दिन जनमत पार्टीका अध्यक्ष सीके राउत अघि सरेका छन् । लोसपाका जयप्रकाश ठाकुर यसअघि नै खडा छन् । अब यी तीनै प्रत्याशीविरुद्ध एमालेले खडा गर्दैछ देवनारायण यादवलाई ।
यादवको नाम धेरैलाई तिलाठी काण्डपछि थाहा भएको हो । भारतीय सीमा सुरक्षाबलका जवानसँग खाँडो नदीको बाँध निर्माण तथा अतिक्रमणविरुद्ध ज्यान बाजी राखेर भिडेपछि यादव चर्चामा आएका हुन् । तिलाठीमा उनको सामान्य घर छ, जहाँ एमालेले आकर्षक सम्मानपत्र झुन्ड्याइदिएको छ ।
यादवले २०७३ सालकाे बर्खायाममा तिलाठीमा भारतीय पुलिसको कुटाई खाएपछि एमालेले काठमाडौं ल्याएर उपचार गरेको थियो । उनलाई राष्ट्रियता रक्षाकाे प्रतीक मान्दै ओेलीले सम्मान पनि गरेका थिए । त्यसयता यादव निरन्तर सीमा रक्षाका पर्याय बनेर संघर्षरत थिए ।
उसोभए यादवको चुनावी एजेन्डा के होला त ?
‘कहाँ अहिले नै एजेन्डा राख्ने ? एजेन्डा त जितेपछि पो हुन्छ,’ यादवले निर्दोषपना देखाउँदै भने, ‘खासमा पार्टीले जुन एजेन्डा अघि सार्छ, मेरो नि एजेन्डा त्यै हुन्छ ।’
अनि उल्टै आफ्नै जवाफलाई रुजु गर्न खोज्दै सोधे, ‘होइन र ?’