क्यालिफोर्निया डिपार्टमेन्ट अफ पब्लिक हेल्थका अनुसार मंकीपक्स नयाँ रोग होइन र यो कोभिड-१९ भन्दा धेरै कम संक्रामक छ । मंकीपक्सको लक्षण बिफर (स्मलपक्स)सँग मिल्दोजुल्दो छ, जुन सन् १९८० मा विश्वव्यापी रूपमा उन्मूलन घोषणा गरिएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार मंकीपक्स बिफरको तुलनामा पनि कम संक्रामक छ र यसले तुलनात्मक रूपमा कम गम्भीर रोग निम्त्याउँछ ।
मंकीपक्स के हो ?
मंकीपक्स भाइरसको प्राकृतिक होस्ट के हो ?
मंकीपक्स भाइरस प्रकोपको इतिहास
- सन् १९५८ मा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा पक्सजस्तो रोगको दुईवटा प्रकोप देखा पर्दा मंकीपक्स पत्ता लागेको थियो। यसलाई ‘मंकीपक्स’ नाम दिइए पनि रोगको स्रोत भने अज्ञात छ।
- सन् १९७० मा बिफर उन्मूलनपछि प्रजातान्त्रिक गणतन्त्र कंगोको ९ महिनाको बच्चामा यो रोग पहिचान गरिएको थियो । यो नै पहिचान भएको पहिलो मंकीपक्सको मानव संक्रमण थियो । सन् १९७० देखि अफ्रिकाका ११ देशमा मंकीपक्सका मानव संक्रमण रिपोर्ट गरिएका छन् ।
- सन् १९९६-१९९७ मा प्रजातान्त्रिक गणतन्त्र कंगोमा यसको प्रकोप रिपोर्ट गरिएको थियो ।
- सन् २०१७ देखि नाइजेरियामा ५०० जना भन्दा बढीमा संक्रमणको आशंका गरिएको र २०० भन्दा बढीमा संक्रमण पुष्टि भएका छन् र आजसम्म संक्रमणका घटनाहरूको रिपोर्टिङ जारी छ ।
- सन् २००३ मा अफ्रिका बाहिर पहिलो मंकीपक्स प्रकोप संयुक्त राज्य अमेरिकामा रिपोर्ट गरिएको थियो । उक्त प्रकोप घानाबाट आयातित जनावरको ढुवानीसँग जोडिएको थियो । सो प्रकोपले संयुक्त राज्य अमेरिकामा मंकीपक्सको ७० भन्दा बढी संक्रमणका घटना निम्त्यायो ।
- मे २०२२ मा धेरै गैरस्थानीय (नन इनडेमिक) देशमा मंकीपक्स संक्रमणको पहिचान गरिएको छ ।
यो रोग कसरी फैलिन्छ ?
१. जनावर-मानव (जुनोटिक) प्रसारण
यो रगत, शारीरिक तरल पदार्थ वा संक्रमित जनावरहरूको छाला वा म्यूकोसल घाउको प्रत्यक्ष सम्पर्कबाट सर्न सक्छ । संक्रमित जनावरहरूको राम्ररी नपकाएको मासु र अन्य पशुजन्य उत्पादन सम्भावित जोखिमका कारक हुन् ।
२. मानव-मानव प्रसारण
यो श्वासप्रश्वासको स्राव, संक्रमित व्यक्तिको छालाको घाउ वा दूषित वस्तुसँगको सम्पर्कबाट प्रसारण हुन सक्छ । श्वासप्रश्वासका कणमार्फत भाइरस प्रसारण हुन सामान्यतया लामो समयसम्म नजिकै हुनुपर्ने हुन्छ । आमाबाट प्लासेन्टा मार्फत भ्रूणमा (जसले जन्मजात मंकीपक्स निम्त्याउन सक्छ) वा जन्मको समयमा र पछि नजिकको सम्पर्कबाट पनि रोग सर्न सक्छ।
भाइरस प्रसारणका लागि शारीरिक सम्पर्क एक जोखिम कारक भए पनि हालसम्म यो रोग विशेषगरी यौन प्रसारण मार्गहरू मार्फत प्रसारित हुने नहुने स्पष्ट भएको छैन ।
मंकीपक्सका लक्षण के के हुन् ?
यस रोगको इन्कुवेसन अवधि (संक्रमणदेखि लक्षण देखिनेसम्मको अन्तराल) सामान्यतया ६ देखि १३ दिनसम्म हुन्छ । यद्यपि ५ देखि २१ दिनसम्म पनि रहन सक्छ ।
संक्रमणलाई दुई अवधिमा विभाजन गर्न सकिन्छ
- आक्रमण अवधि ०-५ दिनको बीचमा रहन्छ । यस अवधिमा ज्वरो, तीव्र टाउको दुखाइ, लिम्फडेनोप्याथी (लसीका नोड्स सुन्निने), ढाड दुख्ने, मायल्जिया (मांसपेशी दुखाइ) र तीव्र एस्थेनिया (ऊर्जाको कमी) जस्ता लक्षण देखा पर्दछन् । यो रोग सुरुमा चिकनपक्स, दादुरा र बिफर जस्तै देखिए पनि लिम्फ्याडेनोप्याथीले यस रोगलाई अन्यबाट छुट्याउँछ ।
- छाला फुट्नु
यो सामान्यतया ज्वरो देखा परेको १-३ दिन भित्र सुरु हुन्छ। दाना र दाग जीउमा भन्दा अनुहार र हातगोडामा बढी केन्द्रित हुन्छन् । दानाहरूले अनुहारलाई ९५ प्रतिशत, हत्केला र पैतालालाई ७५ प्रतिशत, मौखिक श्लेष्म झिल्ली ७० प्रतिशत, प्रजननाङ्गलाई ३० प्रतिशत र आँखाको कन्जन्क्टिभालाई २० प्रतिशत साथै कोर्नियालाई पनि असर गर्छन् । दानाहरू क्रमशः म्याकुलस (एक समतल आधार भएको घाउ) देखि प्यापुलस (थोरै उठेको बलियो घाउ), भेसिकलस (स्पष्ट तरल पदार्थले भरिएको घाउ), पुस्टुल्स (पहेँलो तरलले भरिएको घाउ), र क्रस्टहरू (जुन सुकेर क्रमिक रूपमा झर्छ) मा विकसित हुन्छन् । घाउको संख्या केहीदेखि हजारौंसम्म पनि हुनसक्छ ।
कति गम्भीर ?
मंकीपक्सका लक्षण सामान्यतया २ देखि ४ हप्तामा आफैं हराएर जान्छन् । बच्चाहरूमा भने गम्भीर समस्या देखा पर्न सक्छ । रोगको गम्भीरता भाइरस संक्रमणको मात्रा, बिरामीको स्वास्थ्य स्थिति र जटिलताहरूको प्रकृतिसँग सम्बन्धित हुन्छ । यसले कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा गम्भीर समस्या निम्त्याउन सक्छ ।
मंकीपक्सका गम्भीर बिरामीमा सेकेन्डरी इन्फेक्सन, ब्रोन्कोनिमोनिया, सेप्सिस, इन्सेफलाइटिस र कर्नियाको संक्रमणले दृष्टि गुम्ने समेत हुन सक्छ ।
मृत्युदर
डब्लुएचओका अनुसार ऐतिहासिक रूपमा यो रोगको मृत्युदर ११ प्रतिशतसम्म पनि पुग्छ । साना बालबालिकाहरूमा मृत्युदर उच्च रहेको छ । हालको समयमा मृत्युदर लगभग ३.६ प्रतिशत छ ।
कसरी निदान गरिन्छ ?
चिकनपक्स, दादुरा, ब्याक्टेरियाका कारण हुने छालाको संक्रमण, लुतो, सिफिलिस र औषधिजन्य एलर्जीहरू जस्ता अन्य रोगबाट यसलाई क्लिनिकल रूपमा छुट्याएर निदान गरिनुपर्दछ । बिरामीको प्रोड्रोमल चरणमा (सुरुमा रोगको लक्षण देखा परेको अवधिदेखि लक्षण पूर्ण रूपमा देखापर्ने अवधि) लिम्फ्याडेनोप्याथी मंकीपक्सलाई चिकनपक्स वा बिफरलाई छुट्याउन क्लिनिकल विशेषता हुन सक्छ ।
शंकास्पद अवस्थामा उपयुक्त नमुना संकलन गरी सुरक्षित रूपमा प्रयोगशालामा पठाइन्छ । पोलिमरेज चेन रियाक्सन (पीसीआर) यो रोगको निदानका लागि गरिने प्रयोगशाला परीक्षण हो ।
अर्थोपक्स भाइरसहरू सेरोलोजिकल रूपमा क्रस-प्रतिक्रियाशील हुने हुनाले, एन्टिजेन र एन्टिबडी पत्ता लगाउने विधिले मंकीपक्स-विशिष्ट पुष्टीकरण प्रदान नगर्ने भएकाले निदानको लागि यी विधि प्रयोग गरिंदैन ।
उपचार कसरी गरिन्छ ?
सामान्यतया यो आफैं ठीक भएर जाने भाइरल रोग भएकाले यसको कुनै विशेष उपचार छैन । बिरामीहरूलाई पर्याप्त पोषण स्थिति कायम राख्न तरल पदार्थ र पौष्टिक खाना खुवाउने तथा माध्यमिक ब्याक्टेरिया संक्रमण (सेकेन्डरी ब्याक्टेरिया संक्रमण) संकेत अनुसार उपचार गरिन्छ । यो रोग र बिफरका भाइरसहरू आनुवंशिक रूपमा समान भएकाले बिफरबाट जोगाउन विकास गरिएको भाइरस विरुद्धको औषधि र खोप यसको संक्रमणलाई रोक्न र उपचार गर्न प्रयोग गर्न सकिन्छ
कमजोर प्रतिरक्षा प्रणाली भएका बिरामीहरू जस्तै गम्भीर रूपमा बिरामी हुने सम्भावना भएका मानिसहरूका लागि टेकोभिरिमेट (टीपीओएक्सएक्स) जस्ता एन्टिभाइरल दिन सकिन्छ ।
मंकीपक्सबाट कसरी बच्ने ?
यो रोगको जोखिमका कारकबारे सचेतना जगाई मानिसहरूलाई यस भाइरसको जोखिम कम गर्नका लागि कस्ता उपाय अपनाउने भनेर सचेत गराउनु नै यसको मुख्य रोकथामको रणनीति हो ।
मंकीपक्सबाट बच्न निम्न उपाय अपनाउनुपर्छ-
- मंकीपक्स जस्तो देखिने दाग भएका व्यक्तिसँग नजिकको (छाला-छालाको) सम्पर्कबाट टाढा रहनुपर्दछ ।
- संक्रमितको दाग वा घाउलाई नछुने ।
- संक्रमित व्यक्तिसँग चुम्बन, अंगालो र यौनसम्पर्क नगर्ने ।
- मंकीपक्स भएका व्यक्तिले प्रयोग गरेको वस्तु र सामग्री नछुने ।
- संक्रमित व्यक्तिसँग खाने र भाँडाकुँडा साझा नगर्ने ।
- संक्रमित व्यक्तिको ओछ्यान, तौलिया वा लुगा प्रयोग नगर्ने वा नछुने ।
- साबुनपानीले हात धुने वा अल्कोहलमा आधारित ह्यान्ड सेनिटाइजर प्रयोग गर्ने (विशेष गरी खाना खानु अघि वा आफ्नो अनुहार छोएपछि वा शौचालय प्रयोग गरेपछि) ।
- मंकीपक्स भाइरस फैलाउन सक्ने जनावर जस्तै मुसा र प्राइमेटहरूको सम्पर्कबाट टाढा रहने । साथै, बिरामी वा मरेका जनावर, ओछ्यान वा तिनीहरूले छोएका अन्य सामग्रीबाट जोगिने।
सीडीसीले मंकीपक्सको सम्पर्कमा आएका र मंकीपक्स लाग्ने सम्भावना भएका व्यक्तिलाई खोप लगाउन सिफारिस गरेको छ । बिफर विरुद्धको खोप मंकीपक्स रोकथाममा लगभग ८५ प्रतिशत प्रभावकारी हुने पुष्टि भएको छ ।
मंकीपक्स बिफरसँग कसरी सम्बन्धित छ ?
मंकीपक्स र भेरिओला भाइरस (बिफरको भाइरस) एउटै परिवार (पोक्सभिरिडे) भित्र पर्दछन्। रोगको लक्षण बिफरसँग मिल्दोजुल्दो छ । बिफर रोग भने उन्मूलन भइसकेको छ । बिफर धेरै सजिलै सर्ने र प्रायः घातक हुने गरेको कारण मृत्यु दर लगभग ३० प्रतिशत भएकोमा मंकीपक्सको मृत्युदर ३.६ देखि ११ प्रतिशतसम्म छ ।
के नेपाल यसको जोखिममा छ ?
मंकीपक्स स्थानीय (इन्डेमिक) नभएका ७२ देशमा यो भाइरल रोगको प्रकोप रिपोर्ट गरिएको छ । जुलाईको अन्त्यसम्ममा जम्मा २२ हजार ४८५ संक्रमणका घटना रिपोर्ट गरिएको र भारतमा समेत ४ जनामा संक्रमण पुष्टि भइसकेको (सीडीसी) तथा अफ्रिकामा ५ जनासहित ब्राजिल, स्पेन र भारतमा पनि १/१ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, विश्व स्वास्थ्य संगठनले मंकीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा समेत गरेको छ । तसर्थ, यस्तो परिप्रेक्ष्यमा विश्वको एक भागबाट अर्को भागमा मानव, गैरमानव प्राणी र वनस्पतिको विश्वव्यापी गतिशीलता पनि भइरहेकाले नेपाल पनि मंकीपक्सको जोखिममा छ । नेपालमा हालसम्म यसको संक्रमण पुष्टि नभए पनि यसको प्रवेशको सम्भावनाप्रति भने बेलैमा सचेत रहनु अत्यन्त जरुरी छ ।
(कुँवर त्रिभुवन विश्वविद्यालय, केन्द्रीय विभागमा मेडिकल माइक्रोबायोलोजीमा स्नातकोत्तर हुन् ।)