
१ कात्तिक, काठमाडौं । निर्वाचनको मिति घोषणा भइसकेपछि समेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा समेत सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
अनलाइनखबरमा सोमबार प्रकाशित ‘कामचलाउ भूमिका भुलेर दूरगामी निर्णय गर्दै चुनावी सरकार’ भन्ने समाचारका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचनको मिति घोषणा गरिसकेको सरकारले दीर्घकालीन प्रकृतिका निर्णयहरु गरिरहेको छ ।
त्यसैगरी कुनै क्षेत्र वा भेगका मतदातालाई प्रभावित पार्नेगरी अरु निर्णय समेत भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पठाउने जवाफका आधारमा आयोगले थप निर्णय गर्नेछ ।
निर्वाचन आयोगले यसअघि नै निर्वाचनको मिति र आचारसंहिता जारी भएपछि दीर्घकालीन प्रकृतिका निर्णय र अन्य नीतिगत निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराइसकेको थियो ।