८ मंसिर, रौतहट । रौतहटको गौरमा गएराति विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ ।
गौर नगरपालिका-१ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति साढे १ बजे आगलागी हुँदा घरमा सुतिरहेका तीन जना बालबालिकाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मध्यरातमा कपास गोदाममा विद्युत सर्ट भएपछि आगलागी सुरु भएको थियो । सिरक डसना बनाएर बिक्री गर्ने सो पसलको गोदाममा रहेका कपासमा आगो सल्किए पछि नजिकै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगो फैलिएको थियो । जसका कारण अवस्था थप भयावह बनेको थियो ।

