८ मंसिर, काठमाडौं । पञ्चायतकालदेखिका राजनीतिक खेलाडी कमल थापाले एमालेबाट चुनाव लड्दा उनकै पूर्वपार्टी राप्रपाका दीपकबहादुर सिंहसँग पराजित हुन पुगे । यो हारसँगै नेपाली राजनीतिबाट थापा ‘आउट डेटेड’ हुने सम्भावना बढेको छ ।
‘कुर्सी केन्द्रित’ राजनीतिका हिमायती थापाले एक वर्षअघि महाधिवेशनमा पराजित भएपछि निर्मल निवासलाई आफ्नो पराजयको कारण घोषणा गरे र त्यसको केही समयपछि फेरि राप्रपा नेपाल पार्टी ब्युँताए ।
मकवानपुर-१ बाट राप्रपाका दीपक सिंहले २७ हजार ८१६ मत ल्याएर चुनाव जित्दा दोस्रोमा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले २५ हजार ४३४ मत पाइन् भने तेस्रो स्थानमा रहेका कमल थापाले २५ हजार ४३४ मत पाए । आफूलाई बारम्बार चुनाव हराउने पार्टीको भरोसामा चुनाव लड्न गएका थापाको यो जुक्तिले पनि काम गरेन । र, थापाको पराजयको कारण एमाले नभई उनकै पूर्वपार्टी राप्रपा बन्यो ।
‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’को अध्यक्ष बनेर राजनीतिमा होमिएका थापालाई पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले लगाएको ‘मुसा प्रवृत्ति’को आरोप नेपालको राजनीतिक क्षेत्रमा धेरै चर्चा हुने विषयमध्येमै पर्छ ।
२०५३÷०५४ मा थापा लोकन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री थिए । सूर्यबहादुर थापाले चन्द नेतृत्वको सरकार ढलाउन खोजेको थाहा पाएपछि बहालवालामन्त्री कमल थापाले सूर्यबहादुरलाई साथ दिएका थिए ।
कुर्सी जोगाउन हदैसम्म गर्ने थापाको यही बानीलाई मुसा प्रवृत्ति भन्दै चन्दले टिप्पणी गरेका थिए । पदप्रति उनको यो मोहले यसपटक भने उनलाई यसपटक पदविहिन बनायो ।
अध्यक्ष पदका लागि राप्रपा छाडेर राप्रपा नेपाल गठन गरेका थापाको पुरानो पार्टीले यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभामा चार सिट जितिसकेको छ । तीन ठाउँमा अग्रता लिइरहेको छ । तर थापा भने आफ्नै पूर्वकार्यकर्तासँग पराजित भएर सूर्य चिह्न दिएकोमा एमाले अध्यक्ष ओलीलाई धन्यवाद दिइरहेका छन् ।
राजनीतिमा शक्ति र सत्ता स्वार्थका लागि दल बदली गर्नेहरुलाई ‘आया राम गया राम’ भन्ने गर्छन् । एमालेसँग सधैं चुनाव हारिरहेका थापा एमालेका लागि यस्तै ‘आया राम गया राम’ मध्ये एक हुन् ।
पदका लागि अनेक गर्ने थापाले यो हारको समीक्षाका लागि आफ्नै विगत केलाउन । र, २०४२ सालमा प्रकाशित किशोर कुँवरको किताब ‘२१ औं शताब्दीको नेपाल र नेपाली’मा प्रकाशित आफ्नो अन्तर्वार्ता पढुन् ।
त्यो अन्तर्वार्तामा थापाले भनेका छन्, ‘प्रत्येक निर्वाचनमा युवाहरुलाई जनप्रतिनिधिको रुपमा छान्ने उद्यत उदाहरण नै जनआकांक्षाको प्रमाण हो । त्यसैले वर्तमान अवस्थामा सम्पूर्ण समस्या समाधानको एक मात्र विकल्प छ- नयाँ पिंढीको नेतृत्व ।’

