१८ फागुन, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १० कालिका चोकमा एक युवती मृत फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भारतका आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा भेटिएकी हुन् ।
तीन जना युवतीले बस्नका लागि एक घरको फ्ल्याट भाडामा लिएका थिए । सो फ्ल्याटमा २ जना युवती र २ युवक बुधबार राति सँगसँगै बसेको र उनीहरुका बीचमा झैझगडा हुँदा एक युवती झुण्डिएको प्रहरीले जनाएको छ ।
‘उनीहरुको अवस्था र बसाइँ हेर्दा राम्रो नियत र उद्देश्य जस्तो देखिंदैन, कोठाको अवस्था र प्रकृतिले पनि उनीहरुका गतिविधि शंकास्पद जस्तो देखिन्छ,’ प्रहरी प्रवक्ता डीएसपी पण्डितले भने, ‘युवकले चक्कुले आफैलाई हान्न खोजेजस्तो पनि छ, रगत पनि बगेको देखिन्छ, तर मर्ने युवतीको भने कहि कतैं घाउचोट लागेको छैन ।’
प्रहरीका अनुसार झुण्डिएर मर्छु भनेर धम्काउने र स्टण्ट देखाउन खोज्दा घटना घटेको हो कि भन्ने आशंका गरिएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । मृतकका परिवारलाई बोलाउने काम भएको प्रवक्ता पण्डितले जानकारी दिए ।

