२५ फागुन, काठमाडौं । बैंकहरुले चैतमा बचतको ब्याजदर घटाएर मुद्दती निक्षेपको ब्याजदर भने यथावत राख्ने भएका छन् ।
बिहीबार बिहान बसेको बैंकर्स संघको पूर्ण बैठकले मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर भने ०.४ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले बताए ।
यस्तै कर्जामा पनि बेस रेटमा ५ प्रतिशत भन्दा बढी ब्याज नलिने निर्णय भएको उनले बताए । ‘मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर ०.४ प्रतिशत विन्दुले घटाउने निर्णय भएको छ,’ माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका बैंकर्स संघका उपाध्यक्ष कोइरालाले भने, ‘कर्जामा पनि बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियमा रहेकोमा अब बढीमा ५ प्रतिशत प्रिमियम कायम गर्ने सहमति भएको छ ।’
बिहीबार संघको पूर्ण बैठकमा मुद्दती निक्षेपमा निक्षेपको अवधि अनुसार ब्याजदर फरक गर्ने विषयमा पनि छलफल भए पनि कुनै निर्णय भने हुन नसकेको अर्को एक बैंकरले बताए । मुद्दती निक्षेपकै ब्याजदर थोरै भए पनि घटाउनुपर्ने प्रस्ताव केही बैंकरले गरे पनि अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढ्दो ट्रेन्डमा नै रहेकोले अहिले हतारमा ब्याजदर घटाउन नहुने भन्दै यथावत राख्ने निर्णय भएको बैंकरहरु बताउँछन् ।

