८ वैशाख, काठमाडौं । यही वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसार गएराति १२ बजेदेखि निषेध गरिएको छ । उपनिर्वाचन सकिएर मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचार प्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।
वैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिनसम्म मौन अवधि मानिन्छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि लागू गरिएको निर्वाचन आयोगले जनाएको छ ।
साथै निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न/नगराउन आयोगले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

