२८ जेठ, काठमाडौं । अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् ।
मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ ।
शनिबार रातिदेखि नै कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ । कोशी प्रदेशको विराटनगरमा शुक्रबारदेखि नै तापक्रम घटेको थियो । बिहीबार विराटनगरको अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस पुगेकोमा शनिबार ३५.३ मापन भएको थियो ।
सोमबार र मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा उल्लेख छ ।

