६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका संसदीय निर्वाचन क्षेत्रमा सांसदहरुले पूर्वसहमति नलिई योजना छनोट गरे कार्यान्वयन नगर्ने बताएको छ ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन शाहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्रको योजना छनोट गर्दा महानगरपालिकाको सहमति नलिए कार्यान्वयन नगर्ने बताएका हुन् ।
काठमाडौं जिल्लामा १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० वटा प्रदेशसभाा निर्वाचन क्षेत्र छन् । तीमध्ये प्रतिनिधिसभाका ९ वटा र प्रदेशसभाका १२ वटा निर्वाचन क्षेत्र काठमाडौं महानगरपालिकाभित्र पर्छ । आगामी आर्थिक वर्षका लागि प्रतिनिधिसभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा ५ करोड रुपैयाँको योजना छनोट गर्न पाउनेछन् ।
प्रतिनिधिसभा सदस्यले छनोट गरेका योजना संघीय सरकारले कार्यान्वयन गर्नेछ भने प्रदेशसभा सदस्यले छनोट गरेका योजना प्रदेश सरकारले कार्यान्वयन गर्नेछ ।
काठमाडौं महानगरपालिकाले सांसदले छनोट गरेका योजना महानगरपालिकामार्फत कार्यान्वयन गर्नुपर्ने भए पूर्व सहमति लिनुपर्ने भनेको हो ।

