साउन २३, काठमाण्डौ : सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यो नीति अनुसार अब साइवर सुरक्षा विधेयक अघि बढाउने बाटो खुलेको छ । मुलुकमा भरपर्दो, सुरक्षित एवम् उत्थानशील साइवर स्पे निर्माणका लागि सरकारले यस्तो नीति बनाएको बताएको छ ।
यस नीतिमा आधारित रहेर अब कानुनी र संस्थागत संरचना निर्माण, जनचेतना अभिवृद्धि र क्षमता विकास गर्दै विधि र जनशक्तिको संयोजनबाट सूचना तथा प्रविधिको प्रणालीलाई सुरक्षित बनाउन यो नीति महत्वपूर्ण हुने मन्त्रालयको विश्वास छ । मन्त्रालयले नीतिको मस्यौदा राय–सुझावका लागि यस अघि नै सरोकारवाला समक्ष सार्वजनिक गरेको थियो । सरकारले विश्वव्यापी साइबर सुरक्षा सूचकांक स्कोर ४४।९९ बाट आगामी ५ वर्ष भित्र ६०, १० वर्ष भित्र ७० र १५ वर्ष भित्र ८० प्रतिशत पुर्याउने लक्ष्यसहित यो नीति ल्याएको हो ।
सुरक्षित साइबर स्पेस निर्माणका लागि कानुनी र संस्थागत व्यवस्था गर्नु, साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण गर्नु समेत यस नीतिको उद्देश्य रहेको मस्यौदामा उल्लेख छ । साइबर स्पेसलाई सशक्त र सुदृढ बनाउन साइबर क्षेत्रमा जनशक्ति उत्पादन एवम् जनशक्तिको क्षमता बढाउने उद्देश्य समेत रहेको छ ।
साइबर सुरक्षा सम्बन्धी जोखिम न्यूनीकरणका लागि द्धिपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समन्वय अनुभव र सहयोग आदान प्रदान गर्ने समेत यस नीतिको उद्देश्य छ । यो नीति स्वीकृति भएसँगै अब आवश्यक कानुन तथा मापदण्ड बनाउने बाटो खुलेको छ । अन्तर्राष्ट्रिय प्रचलनको आधारमा संस्थागत संरचना बनाउने बाटो समेत यस नीतिले खुलेको छ ।

