चौधरी फाउन्डेसनले आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

कोभिड–१९का कारण उत्पन्न स्वास्थ्य संकटमा योगदान पुर्याउन चौधरी फाउन्डेसनले आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ। 

नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनामा फाउन्डेसनले काम गर्ने निर्णय गरेको हो। फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ।

वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आइसियू वार्ड र वीरकै नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिने उसले जनाएको छ। एक–दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउन्डेसनबीच सहयोग सम्वन्धमा हस्ताक्षर हुनेछ। 

त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ।

यस सम्बन्धमा दुवै नगरपालिकासँग आवश्यक सहमति भइसकेको छ। वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर÷प्रतिघण्टा रहनेछ।

 यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ। अक्सिजन प्लान्ट स्थापनाका लागि चौधरी फाउन्डेसनले आफ्ना साझेदार एवं स्थानीय नगरपालिकाहरूसँग सहकार्य गर्नेछ।

‘अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने सामग्री आयात गर्न हाम्रो टिम अहोरात्र खटिएको छ’ एक विज्ञप्ति जारी गरी फाउन्डेसनले भनेको छ ‘हामीलाई विश्वास छ कि हामी केही दिनभित्रै सामग्री आयात गरी प्लान्ट निर्माण गर्न र वीर अस्पतालका साथै कर्णाली र सुदूरपश्चिममा हाल विद्यमान अक्सिजन अभावको समस्या समाधान गर्न सफल हुनेछौं।’

धनगढी र सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टले दुवै प्रदेशको अक्सिजन माग पूरा गर्नेछन्। यसका साथै चौधरी फाउन्डेसनले तत्काल अक्सिजन कन्टन्ट्रेसन आयात गरी चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यी कन्सन्ट्रेसनहरू काठमाडौं र बाहिरका अस्पतालहरूमा वितरण हुनेछ।

 

आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजना अगाडि सारेको बताए। 

‘अहिलेको मुख्य समस्या चिन्ताजनक अवस्थामा पुगेका बिरामीको जीवन रक्षा गर्नु हो। यसका लागि आइसियू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा महत्वपूर्ण स्वास्थ्य उपकरण हुन्’ उनले भने ‘अहिलेको सम्पूर्ण ध्यान कोरोनाका बिरामीको उपचारमा लगाउनुपर्छ, हामी यही उद्देश्यका साथ कोरोनाविरुद्धको अभियानमा अगाडि बढेका छौं।’

चौधरी फाउन्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला आपतकालीन सहयोग कार्यक्रम अन्तर्गत देशभरका २ सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पिपिई, स्यानिटाइजर, मास्क उपलब्ध गराएको थियो।
 
साथै, देशका अस्पतालहरूलाई भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराइएको थियो। फाउन्डेसनले केन्द्रीय प्रयोगशाला टेकु र धुलिखेल अस्पतालका लागि १ हजार थान पिसिआर रिएजेन्टसमेत उपलब्ध गराएको थियो। 
यसअघि २०७२ सालको भूकम्पपश्चात् चौधरी फाउन्डेसन भूकम्पबाट घरबारविहीन बनेका २,५०० भन्दा बढी परिवारका लागि आवास र ५० भन्दा बढी विद्यालय निर्माणमा सहभागी बनेको थियो।

समाचार श्रोतः सेतोपाटी https://www.setopati.com/kinmel/business/237726?fbclid=IwAR1fWOJhskGT06tB317mFKvrJ4gMBFY8ve3dYE-GYm5Wlq7ioplWUxzeKsY

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 27 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    • २०८१ माघ २६, शनिबार १५:३८
    • 26 views
    खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।

    काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप,…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *