भदौ ७, एजेन्सी :भारतले चन्द्रमामा सफलता हात पारेको छ । चन्द्रयान–३ ले चन्द्रमाको सतहमा अवतरण गरेर इतिहास रचेको छ । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेको छ।
चन्द्रमामा विक्रम ल्यान्डरको सफ्ट ल्याण्डिङपछि प्रज्ञान रोभर त्यहाँबाट निस्कनेछ र अनुसन्धान र जानकारी सङ्कलन गर्न चन्द्रमाको सतह वरिपरि घुम्नेछ। श्रीहरिकोटाबाट जुलाई १४ मा दिउँसो २ः३५ मा उडेको चन्द्रयान–३ ले ४० दिन लामो यात्रा पूरा गरेको छ ।
यसैअवसरमा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिएका छन् । उनले बुधबार ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिएका हुन् ।

